Odapalika - The Fourth Estate - चौथो अंग
ग्रामथान गाउँपालिकाको नीतिः भक्का बेचेर पैसा, क्यामेरा जोडेर सुरक्षा

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाले स्थानीय कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । 

पालिकाले स्थानीय उत्पादनलाई वढवा दिन भक्का मेला आयोजना गर्नेदेखि लिएर पालिकाभित्रका पर्यटकीय स्थल र थान (स्थल)लाई बचाउने र त्यसबाट आम्दानी गर्नेगरी नीति तथा कार्यक्रम तय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद भटट्टराईले बडापालिकालाई बताए । 

कार्यवाहक अध्यक्ष गुणवती देवी थारुले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा  पालिकाभित्रका महिलाहरुले तयार पारेर बेचबिखन गर्ने भक्कालाई बजारीकरण गरेर आम्दानीको श्रोत वढाउन विभिन्न कार्यक्रम गर्ने उल्लेख छ । 

यसका लागि पालिकाले आगामी पुस र माघमा ग्रमथान भक्का मेला आयोजना गर्ने नीति तथा कार्यक्रममै उल्लेख गरेको छ । ग्रामथानको पर्यटन प्रर्वद्धन गर्न पालिकाले ‘ग्रामथानको सान, बचाउँ हाम्रो थान’ नारा तय गर्दै ऐतिहासिक र सांस्कृतिक  सम्पदाहरु प्रचारप्रसार गर्ने नीति लिएको छ । प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार पालिकाभित्र यस्ता ऐतिहासिक र संस्कृतिक थानहरु ३० वटा भन्दा वढी छन् । जसको प्रचार गरेर पालिकाले प्रसस्त पर्यटक भित्र्याउने लक्ष्य राखेको उनको भनाइ छ । 

पालिकाले कृषिलाई प्राथमिकतामा राखेर ल्याएको कार्यक्रममा कृषि विकासका लागि हेल्लो कृषि कार्यक्रम गर्ने, महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमसँगै रोजगार बन्न बिउँ पुँजी उपलव्ध गराउने लगायतको नीति लिएको छ । 

पालिकाले स्थानीय जनताको सुरक्षा, दुर्घटना न्यूनिकरण र आपराधिक गतिविधि नियमनका लागि पालिकाका संवेदनशील स्थलमा सिसि क्यामेरा जडान गर्नेदेखि लिएर आन्तरिक आय वृद्धिका लागि विभिन्न गतिविधि गर्नेसम्मको नीति समेत लिउको छ ।  

यस्ता छन् पालिकाले ल्याएको नीति तथा कार्यक्रमका मुख्य १५ बुँदा 

  • ग्रामथानको भक्का आम्दानी पक्का 
  • ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचारका लागि ‘ग्रामथानको सान, बचाउँ हाम्रो थान’ अभियान
  • कृषि समस्या समाधान गर्न हेल्लो कृषि कार्यक्रम 
  • माटो जाँच गर्न प्रयोशाला निर्माण र संचालन गर्ने 
  • बर्थिङ सेन्टरबाट सुत्केरी गराउँदा थप सुत्केरी स्याहार खर्च दिने 
  • पोषणमैत्री स्थानीय तह कायम राख्ने 
  • स्वास्थ्य पहुँच वढाउन नियमित घरभेट कार्यक्रम 
  • सामुदायिक विद्यालयको गुणस्तर वढाउन प्रधानअध्यापकसँग कार्यसम्पादन सम्झौता गर्ने 
  • १ देखि ५ कक्षासम्म स्थानीय पाठ्यक्रम लागु गर्ने 
  • बेटी बचाउ अभियानलाई निरन्तरता दिने 
  • कला, भाषा र संस्कृतिको संरक्षणका लागि माध्यमिक विद्यालयमा संग्राहलय स्थापना गर्ने 
  • दलित, पछाडिपरेका, विपन्नलगायतका लागि बिउँ पुँजी सहितको सीपमूलक तालिम 
  • पालिकाबासीलाई निःशुल्क रगत दिने 
  • उज्यालो ग्रामथान अभियान
  • पालिकाका विभिन्न स्थलमा सिसि क्यामेरा जडान
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update