Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरको नीति र बजेटमा यस्ता छन् सांसदहरुका सुझाव 

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटअघि ललितपर जिल्लाका सांसदहरुसँग छलफल गरेको छ । 

ललितपुरलाई सुन्दर र बस्न योग्य सहर बनाउनका लागि गर्नुपर्ने कामका बारेमा सुझाव लिनका लागि महानगरले छलफल आयोजना गरेको हो । 

महानगर प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि र कर्मचारी विज्ञ नहुने भएकाले विज्ञहरुसँग महानगरको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम बनाउनु अघि सल्लाहकार र सांसदसँग छलफल गरेको बताए । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ललितपुरको बजेट र नीति तथा कार्यक्रम उत्कृष्ट बनाउन सबै क्षेत्रका विज्ञ र सांसदसँग छलफल गरेको बताइन् । बजेट, नीति तथा कार्यक्रमलाई सहभागितामूलक र तथ्यपरक बनाउनका लागि महानगरवासीबाट पनि सुझाव संकलन गरेको उनले जानकारी गराइन् । 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरको बजेट, नीति र कार्यक्रम निर्माणका लागि प्राप्त भएका सुझाव यथार्थपरक हुने बताइन् । प्राप्त सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने बताइन् । 

कार्यक्रममा ललितपुर जिल्लाका सासंदहरुले ललितपुर महानगरले बजेट र नीति निर्माण गर्दा महानगरवासीको दिनचर्या र जीवन सजिलो हुने विषयमा केन्द्रित हुन जोड दिएका छन् । 

ललितपुर–१ का संघीय सांसद उदय शमशेर राणाले मध्यम स्तरका व्यापारीलाई व्यापार व्यवसाय गर्न सहज हुने वातावरण निर्माण गर्ने तर्फ महानगरको आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम केन्द्रित हुनुपर्ने बताए । 

फोहोर व्यवस्थापन कथाजस्तै भएको बताउँदै उनले भने, ‘उपत्यकाभित्रका १८ वटा पालिका र संघीय सरकारसँग सहकार्य गरोस् महानगरले ।’ पार्किङ नहुँदा धेरै समस्या भइरहेको बताउँदै महानगरले बहुतलले पार्किङ निर्माण गर्नुपर्ने बताए । 

ललितपुर–२ का संघीय सांसद प्रेम महर्जनले वातावरण संरक्षणसँगसँगै मानव स्वास्थ्यका लागि साइकल महत्वपूर्ण भएको बताउँदै साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । महानगरले मोबाइल अस्पतालको अवधारणालाई अबको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नसामुदायिक विद्यालय सुधार कार्यक्रमलाई आगामी वर्ष  बजेट र नीति तथा कार्यक्रममा समट्नुपर्ने धारणा राखे । 

ललितपुर– ३ का संघीय सांसद तोसिमा कार्कीले ललितपुर महानगरले खानेपानीको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर आगामी बजेट निर्माण गर्नुपर्ने धारणा राखिन् । चोक चोकमा वाटर एटिएमको व्यवस्था गर्ने कार्यक्रम ल्याउन अनुरोध गरिन् । 

सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दै गएको बताउँदै उनले वडालाई नै वडाभित्र भएको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले निर्देशन पर्ने धारणा राखिन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका संघीय सांसद रोशन कार्कीले  सार्वजनिक जग्गा संरक्षणको कार्यक्रमलाई प्राथमिकताका साथ लागू गर्नुपर्ने धारणा राखिन् । खानेपानीको व्यवस्थापन, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महानगरले विशेष योजना अघि सार्नुपर्ने बताइन् । विषादीयुक्त तरकारीले मानव स्वास्थ्य जोखिममा पार्दै गएको बताउँदै विषादीरहित तरकारीकालागि हाट बजारको व्यवस्था गर्नुपर्ने उनको धारणा थियो । 

बागमती प्रदेशका पूर्व मन्त्री तथा ललितपुर–२ क का प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले पूर्वाधार निर्माणमा महानगरको लगानी पर्याप्त भएको बताउँदै ती संरचना प्रयोग गर्ने जनशक्ति निर्माणका लागि पनि महानगरले लगानी गर्नुपर्ने धारणा राखे । 

ललितपुर–३ क का सासंद रघुनाथ महर्जनले महानगर नागरिकको नजिकको सरकार भएको बताउँदै महानगरबासीको दिनचर्या सजिलो बनाउने विषयमा केन्द्रित भएर बजेट तथा नीति कार्यक्रम ल्याउनुपर्ने बताए । 

ललितपुर–३ ख का सांसद प्रेम भक्त महर्जन महानगरवासीको दिनचार्या र जनजीवन सजिलो हुने विषयमा केन्द्रित भएर बजेट, नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update