Odapalika - The Fourth Estate - चौथो अंग
चिचिला र मकालु गाउँपालिकामा पहिरो, १ जनाको मृत्यु, २ जना घाइते

काठमाडौँ । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

मंगलबार राति परेका  अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पहिरोमा परेर मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका छन् । उनीहरू निदाएका बेला पहिरो खसेका कारण मानवीय क्षति भएको प्हरीको भनाइ छ । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

यसैबीच, कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति गरेको छ ।

कालोपत्रेका लागि तयार पारिएको सडकको सवबेस, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । वर्षाले  पिच गर्न तयार गरिएको सडक बगाउँदा झण्डै १ करोड रुपैयाँको क्षति भएको आयोजनाको दाबी छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update