Odapalika - The Fourth Estate - चौथो अंग
बिहीबारदेखि बन्दीपुर केबलकार सञ्चालनमा, ५० रुपैयाँ देखि २५ हजारसम्म टिकट

काठमाडौँ । बन्दीपुर केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । यसअघि परीक्षण उडान सम्पन्न भएको उक्त केबलकार  बिहीबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउन लागेको हो । 

वैशाख १ गतेबाट आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार बिहीबारदेखि व्यावसायिक रूपमा सञ्चालन ल्याइने कम्पनीले जनाएको छ । 

कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले व्यावसायिक सुरूवात गरेको अवसरमा सीमित समयका लागि ६० प्रतिशत छुटको अफर सार्वजनिक गरिएको बताए । 

उनले कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको बताए । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको उनको भनाई छ । 

तीन चरणमा परिक्षणकाल सकिए पछि कम्पनीले कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त गरेको शर्माले बताए । कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी पुरा गरी पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालन गर्न लागेको उनले बताए ।

केबलकारबाटै मन्दिर दर्शन गर्न सकिने

केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । उक्त मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गर्ने तयारी भइरहेको छ । 

यसअघि वर्षको एक दिन महाअष्टमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । भुईँ छोडेर मात्र उक्त मन्दिर दर्शन गर्न पर्छ भन्ने मान्यता बन्दीपुर केबलकार मार्फत पुरा हुने भएको छ ।

केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिनेछ ।

केबलकारसँगै बन्दीपुर–४ स्थित केबलकारको माथिल्लो स्टेशनमा निर्माणधीन सत्र तलाको ‘क्वीन टावर’ को काम पनि अन्तिम चरणमा पुगेको छ । 

bandipur cable car1700639639.jpg

केबलकार सञ्चालनसँगै पाँचतारे होटल छिट्टै सञ्चालनमा ल्याईने कम्पनीले जनाएको छ । 

एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलकोन गर्दै केबलकारबाट पर्यटकले आनन्दका साथ यात्रा गर्न सक्नेछन्  ।  

उनका अनुसार केबलकारको २१ डिब्बा यात्रु बोक्न, ६ वटा रेष्ट्रो क्याबिन र २ वटा एड्भेन्चर गरी २९ डिब्बा छन् । एक डिब्बामा ८ जनासम्म बोक्नसक्ने क्षमता छ ।

केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । न्यूनतम ५० देखि  २५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।

पृथ्वीराजमार्गमा रहेको तल्लो स्टेशनबाट माथि स्टेशनको बन्दीपुर बजारस्थित कलेजमा पढ्न जाने र आउने विद्यार्थीलाई ५० रुपैयाँ, पत्रकारलाई ३५० र अन्य यात्रुका लागि  ५०० देखि २५ हजार रुपैयाँ सम्म शुल्क लाग्ने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update