Odapalika - The Fourth Estate - चौथो अंग
सीपसँगै संस्कार सिक्दैछन् मनरा शिसवा नगरपालिकाका विद्यार्थी

काठमाडौँ । महोत्तरीको मनरा शिसवा नगरपालिकाले  नगरभित्रका विद्यार्थीलाई पाँच दिने संस्कार शिविर प्रदान गरेको छ । 

मनरा शिसवा नगरपालिका वडा नम्बर ९ बथनाहास्थित भैयादाई गुलाबदाई लोचनदाई जनता माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत ९० जना छात्रछात्रालाई पाँच दिने संस्कार शिविर प्रदान गरेको हो ।    

गत जेठ २५ देखि सुरु शिविर बुधवार समापन गरिएको छ । विद्यार्थीलाई विद्यालय भवनमै राखेर योग गुरु र वैद्यहरुको साथमा व्यवहार परिवर्तन, संस्कार प्रवद्र्धन तालिम तथा योगाभ्यास गराइएको नगरपालिकाले जनाएको छ । 

संस्कार शिविरमा सहभागी  छात्रछात्राले शिविर समापनपछिअरु सामान्य बालबालिकाभन्दा फरक ढङ्गले बोल्ने, पढ्ने, उठबस गर्ने, आदर, सम्मान र उचित शब्दको प्रयोग गर्नेलगायतका शिक्षाबाट शिक्षित भएको नगर प्रमुख मोहन पाण्डेले बताए ।    

संस्कार शिविरको समापन कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख पाण्डेले पालिकाले अब प्रत्येक वर्ष विभिन्न विद्यालयमा यस्तो शिविर सञ्चालन गर्ने र पालिकालाई कुलत र दुव्र्यसनबाट मुक्त गर्ने लक्ष्य रहेको जानकारी दिए ।    

यसअघि गत वर्ष पालिकाले वडा नम्बर १ स्थित दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत १५० जनाका छात्रछात्राका लागि संस्कार शिविर सञ्चालन गरेको थियो । उक्त शिविरबाट उनीहरुको जीवन तथा समाजमासमेत सकारात्मक प्रभाव परेको नगर प्रमुख पाण्डेको भनाइ छ  । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update