Odapalika - The Fourth Estate - चौथो अंग
तराईमा अचाक्ली गर्मी, वीरगञ्ज महानगरका विद्यालय थप ३ दिन बन्द 

काठमाडौँ । अत्यधिक गर्मीले पर्सा जिल्लाको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले  थप ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्न सक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताए ।

महानगरका विद्यालयलाई बिहान १०ः३० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिएको थियो तर उक्त समयमा कक्षा सञ्चालन गर्दा पनि कक्षामा विद्यार्थी मुर्छित भएपछि  गर्मी बिदा दिने निर्णय भएको उनको भनाइ छ ।

महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गतेको बैठकले जेठ १६ गतेदेखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो ।  बुधबार वीरगञ्जको अधिकतम तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको थियो भने आजे यहाँको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागले मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले गत मङ्गलबार विशेष बुलेटिन निकालेर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको जनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update