Odapalika - The Fourth Estate - चौथो अंग
विराटनगरका १९ वडामा १ अर्ब १५ करोडका पूर्वाधार, कुन वडामा के हुँदैछ काम ?

काठमाडौँ । विराटनगर महानगरपालिकाले सबै वडामा गरी १ अर्ब १५ करोड रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । 

नयाँ नेतृत्व निर्वाचित भएर आएपछि भाषा, साहित्य, कला, संस्कृतिसँगै भौतिक विकासलाई प्राथमकितामा राखेर काम गरेको हो । महानगरले १९ वटै वडामा गरी १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन गरिरहेको महानगरपालिकाले जानकारी दिएको छ ।

वडास्तरमा पनि १ करोडभन्दा माथिका थुप्रै योजनाहरु निर्माणको चरणमा रहेका महानगरको भनाइ छ 

‘सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रुपमा अगाडि बढाएका छौं,’ मेयर नागेश कोइरालाले भने ।

महानगरका अनुसार वडा नम्बर १ मा २ करोड ११ लाखको लागतमा बाल उद्यान र १ करोडको लागतमा वडा कार्यालय भवन निर्माण भइरहेको छ । यस्तै, वडा नम्बर २ मा ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल तथा ४ करोडको लागतमा त्रिभुवनमार्गमा कालोपत्रे निर्माणाधीन चरणमा रहेका छन् । वडा नम्बर ५ मा १२ करोडको लागतमा महानगर बहुप्राविधिक शिक्षालयको भवन पनि निर्माण भइरहेको छ । १ करोडको लागतमा डिपीएस दक्षिणमा नाला र सडक पनि बनिरहेको छ । 

महानगरका अनुसार वडा नम्बर ६ मा ५ करोड ३८ लाखको लागतमा विएफएम अगाडिको सडक अब कालोपत्रे हुन मात्रै बाँकी रहेको छ । वडा नम्बर ७ मा १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन, वडा नम्बर ७ मै २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ । वडा नम्बर ७ स्थित श्मसान घाट जाने सडकको निर्माणले पनि गति लिएको छ । विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक पनि धमाधम निर्माण भइरहेको छ । 

वषौंदेखि जीर्ण रहेको विराटनगर बसपार्कदेखि पश्चिम पिचरा जाने सडक करिब १ करोडको लागतमा नालासहित कालोपत्रे हालै सम्पन्न भएको छ । विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलको सडक निर्माणका लागि ६ करोडमा ठेक्का लागिसकेको छ । 

विराटनगर–१२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम १ करोडको लागतमा नाला, विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक ३ करोडको लागतमा निर्माण भइरहेको छ भने १४ नम्बर वडास्थित भगवती मार्गको सडक पनि १ करोडको लागतमा धमाधम निर्माण भइरहेको छ । महानगरको बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर १४ मा ५ करोडको लागतमा रानीपोखरी, ६ करोड बढीको लागतमा मण्ठापोखरी पनि धमाधम निर्माण भइरहेको छ । करिब १ करोड लागतमा १५ नम्बर वडाको सुँडी टोलस्थित नाला र सडक निर्माण, १ करोडकै लागतमा १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्व तथा परागमान श्रेष्ठको घर अगाडिको सडक निर्माणले पनि गति लिएको छ ।

यस्तै, १७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तर निर्माण भइरहेको सडकको लागत पनि १ करोड रहेको छ । विराटनगर १८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरीलाई करिब ८० लाख रुपैयाँको लागतमा आकर्षक बनाइएको छ । सिंढीसहितको पोखरीलाई आकर्षक तरिकाले घेराबारासमेत गरिएको छ । त्यस्तै विराट राजाको दरबार क्षेत्रको सरसफाईसँगै पर्खालमा रंग लगाएर चिटिक्क पारिएको छ । 

वडा नम्बर १९ मा पर्ने पञ्चकन्या मार्गको सडक पनि १ करोडको लागतमा निर्माण भइरहेको छ । यी बाहेक चालु आर्थिक वर्षको बजेटबाट वडास्तरका १ करोडभन्दा मुनि लागतका दर्जनौं योजनाहरु सम्पन्न हुने क्रममा रहेका महानगरले जानकारी दिएको छ ।

विराटनगर महानगर क्षेत्रमा नयाँ नेतृत्व आएपछि हालसम्म २० किलोमिटर कालोपत्रे भएको र ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको मेयर कोइरालाले जानकारी दिए । यस्तै, विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update