Odapalika - The Fourth Estate - चौथो अंग
कोशीमा बिहानैबाट वर्षा, तराईमा ३ दिन तातो हावाको चेतावनी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म तराई क्षेत्रमा तातो हावा चल्ने भन्दै सर्तक रहन भनेको छ । 

महाशाखाले देशको मध्य तथा पश्चिम तराईका भू–भागमा आगामी तीन दिन (जेठ ३२ गतेदेखि असार २ गते)सम्म अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सर्तक हुन भनेको हो ।

महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ । महाशाखाले तातो लहरको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने महाशाखाले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन आग्रह गरेको छ ।

विभागका अनुसार कोशी प्रदेशका अधिकांश भेगमा अहिले भारी वर्षा भइरहेको छ । कोशीसहित, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भइ एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर थप सल्लाह लिनसमेत आग्रह गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update