Odapalika - The Fourth Estate - चौथो अंग
नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी शुरु

काठमाडौं । उद्योग गरौं, उद्यमी बनौं, नेपाली उत्पादन प्रयोग गरौं भन्ने नाराका साथ बिहीबारदेखि नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी शुरु भएको छ ।

घरेलु तथा साना उद्योग संघ, काठमाडौं र उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको रहकार्य रहेको तीन दिने जिल्लास्तरीय प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रवद्र्धन तथा बिक्री वितरणका लागि राखिएको छ ।

नागार्जुन नगरपालिका वडा नं. ४ सीतापाइलास्थित ताम्राकार हाउस परिसरमा शुरु भएको प्रर्दशनीको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिंदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरुको मनोबल बढाउनुपर्ने आवश्यकता औंल्याए ।

नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन र विकासका लागि नगरपालिका निरन्तर लागिरहेको बताइन् ।

प्रदर्शनीमा स्थानीय मौलिकता झल्काउने ४९ वटा स्टल राखिएको घरेलु तथा साना उद्योग संघ, काठमाडौंका अध्यक्ष सीता कार्कीले जानकारी दिइन् । पालिकास्तरमा पहिलोपटक आयोजना गरिएको प्रदर्शनीमा व्यवसायी तथा उपभोक्ताहरुको उत्साहजनक सहभागिताले उत्साहित बनाएको भन्दै आगामी दिनमा पनि स्थानीय निकायको सहकार्यमा यस्ता प्रदर्शनीहरुलाई निरन्तरता दिइने उनको भनाइ छ ।

उद्घाटन समारोहमा नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, मोहन कटुवाल, उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंका प्रमुख मेघनाथ रिजाल, महासंघअन्तरगत नागार्जुन नगर कमिटी प्रमुख उमा आचार्य, संघका उपाध्यक्ष इश्वर बहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।

प्रदर्शनीको सह–आयोजकमा काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका तथा घरेलु नगर संघ,  चन्द्रागिरी नगरपालिका तथा घरेलु नगर संघ, टोखा नगरपालिका तथा घरेलु नगर संघ, कागेश्वरी मनोहरा घरेलु नगर संघ रहेका छन् ।

प्रदर्शनीमा काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाबाट उद्योगीहरुले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update