Odapalika - The Fourth Estate - चौथो अंग
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत आयोजनाकाे ८२ प्रतिशत काम सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी एक सय नौ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको नीलगिरि आयोजनाले जनाएको हो । 

नारच्याङमा रु १६ अर्ब रुपैयाँको लागतमा १०९ मेगावाटका २ जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको आयोजनाका आवासीय इन्जिनियर रत्नबमजन तामाङले जानकारी दिए । उनका अनुसार असार तेस्रो सातासम्म दुवै जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

नीलगिरि खोला हाइड्रोपावरले चार वर्षअघि एकैसाथ निजी क्षेत्रको लगानीबाट दुवै आयोजना निर्माण सुरु गरेको थियो । यो जिल्लामै ठूलो आयोजना हो । कठिन भूगोलका अक्करे पहाडलाई छिचोलेर आयोजनाका संरचनाहरु निर्माण गरिएका  छन् ।

आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युत्गृह निर्माण काम सकिएको छ । नीलगिरि पहिलोको २ हजार मिटर र दोस्रोको ४ हजार २०० मिटर सुरुङ खन्ने काम सकिएर ढलानको काम थालिएको इन्जिनियर तामाङले जानकारी दिए ।

तामाङका अनुसार नीलगिरि पहिलोको विद्युत् गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण गरिएको छ । 

करिब १६ अर्ब रुपैयाँको लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । नीलगिरिखोलाबाट उत्पादन भएको बिजुली २२० केभिए क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । 

छोटेपा–दोबिल्ला हँुदै दाना सबस्टेसन जोड्ने आठ दशमलव पाँच किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटा मध्ये २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update