
काभ्रे । पुरानो पुस्ताले जनै बनाउँदै आएपनि यसतर्फ नयाँपुस्तामा आकर्षण नदेखिएपछि सहकारीले जनै बनाउने तालिम दिएको छ । बजारको प्रशस्तै सम्भावना देखेपछि सहकारीका सदस्यलाई आत्मनिर्भर बनाउन सहकारीले तालिम दिएको हो ।
उत्पादनलाई प्रथामिकता, संस्कृतिको संरक्षण एवं धागोलाई बैद्धिक विधिअनुसार जनै बनाउन सहकारीले तालिम दिएको हो ।
विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने र ती जनै विधिपूर्वक समेत नहुने हुँदा सहकारीले सुरु गरेको तालिममा २२ जना सहभागी छन् ।
जनैको आयात रोक्ने र संस्कृतिमा नयाँ पुस्तालाई आर्कषित गर्ने र खाली समयमा अतिरिक्त कमाई गर्न सहयोग पुग्ने उद्धेश्यले तालिम संचालन गरेको पनौती नगरपालिका-६ स्थित ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारीका अध्यक्ष उद्धव सापकोटाले बताए ।
जनै बनाउन सिकाउन पाउँदा प्रशिक्षक भिमप्रसाद तिमल्सिनाले बर्षाैपछिको सपना पुरा भएको बताए । पुर्खाैदेखि जनै बनाउने पेसा गर्दै आएकोमा लोप हुने चिन्ताले सताएको तिमल्सिनाले जनै बनाउन सिकाउन पाउँदा आफूलाई उर्जा मिलेको बताए ।
सहकारीका प्रमुख व्यवस्थापक गोपाल दाहालले सहकारीको काम बचत तथा ऋणको कारोबार मात्रै गर्ने नभएर आर्थिक, सामाजिक र साँस्कृतिक पक्षको संरक्षण र प्रोत्साहन भएकाले ३ दिने जनै बनाउने तालिम संचालन गरेको बताए ।
पहिलो चरणमा परम्परागत जनै बनाउने तालिम दिएको र अर्काे चरणमा आधुनिक प्रविधिबाट जनै बनाउने तरिकासँगै प्रविधि भित्राउने सहकारीको भनाइ छ ।
तालिम लिएपछि आफ्नो घरासयी प्रयोगका लागि आवश्यक जनै आफैले बनाउन सक्ने भएको स्थानीय कृष्णप्रसाद घिमिरेले बताए ।