Odapalika - The Fourth Estate - चौथो अंग
कोशीमा वर्षा तर देशभर गर्मी नघट्ने 

काठमाडौँ । आज देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहे पनि तापक्रम भने नघट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार कोशी प्रदेशका थोरै स्थान र वाग्मती प्रदेशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । 

विभागका अनुसार बिहान कोशी प्रदेशमा साधारणतया बदली छ ।  मधेस र वाग्मती प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । 

विभागले दिउँसो कोसी, मधेस र वाग्मती प्रदेश गायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र वाग्मती प्रदेशका केही स्थानमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

राति  कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोशी प्रदेशको केही स्थानमा साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी भू–भागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update