Odapalika - The Fourth Estate - चौथो अंग
७ वटै प्रदेश सरकारको बजेट आज, कस्तो आउला ? 

काठमाडौँ । सबै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दैछन् ।  सम्वन्धित प्रदेशसभामा बजेट पेश गर्ने तयारी पुरा भइसकेको ७ वटे प्रदेशका आर्थिक मामिला मन्त्रालयले बताएका छन् । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्छ ।

चालु आवका लागि ७ वटै प्रदेशले ३ खर्ब बराबरको बजेट ल्याएका थिए । चालु आवमा सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशले ६२ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मधेस प्रदेशले  ४४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, लुम्बिनी प्रदेशले रु ४० अर्ब ४७ करोड ९७ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख र सुदूरपश्चिम प्रदेशले २० अर्ब २६ करोड ५० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।

संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदान प्रदेशका लागि  ६० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । 

सशर्त अनुदानबापत २५ अर्ब ८४ करोड रुपैयाँ र समपूरक अनुदान ६ अर्ब २० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । यो अनुदान पूर्वाधारका आयोजना कार्यान्वयनका लागि हो ।

संघीय सरकारले हरेक वर्ष जेठ १५ गते प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । 

बागमती प्रदेश सरकारले आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले रु ६० अर्ब बराबरको बजेट प्रस्तुत गर्दैछन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण गरिएको छ । आर्थिक तरलता, न्यून आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी भएको मन्त्री थपलियाले बताए । बागमतीले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता दिने भनेको छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update