Odapalika - The Fourth Estate - चौथो अंग
छात्रबृत्ति दिनको लागि एमबिबिएस पढ्ने विद्यार्थी खोज्दै हेटौडा उपमहानगर

काठमाडौँ । हेटौडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र एमबिबिएस पढ्ने विद्यार्थी खोज्न लागेको छ । एमबिबिएस पढ्नको लागि छात्रबृत्ति दिने कार्यक्रम ल्याएको हेटौडाले गत वर्ष पनि विद्यार्थी नपाएर बजेट फ्रिज भएको थियो ।

उपमहानगरपालिका भित्र योग्यता पुगेका विद्यार्थीलाई एमबिबिएस अध्ययनको लागि छात्रबृत्ति दिने कार्यक्रम ल्याइएको उपमहानगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत रामचन्द्र खड्काले जानकारी दिए ।

‘गत वर्ष नगरपालिकाले ४ जना विद्यार्थीलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँको दरले छात्रबृत्ति दिनको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, हाम्रो कार्यविधिमा उल्लेख भएको व्यवस्था अनुसार २ जना मात्रै योग्य हुनुभयो । उहाँहरुले अहिले अध्ययन गरिरहनु भएको छ,’ शाखा अधिकृत खड्काले वडापालिकासँग भने ।

उपमहानगरका अनुसार गतवर्ष ६ जना विद्यार्थीले एमविविएस  अध्ययनको लागि छात्रबृत्तिमा आवेदन दिएका थिए । यसरी आवेदन दिएकामध्ये निसा कार्की र एन्जल ढकालले मात्रै छात्रबृत्ति पाए । उनीहरुले जनही ५ लाख रुपैयाँ पाएका हुन् ।

उपमहानगरबाट छात्रबृत्ति पाएकामध्ये निसा कार्की काठमाडौँ विश्वविद्यालयमा एमविविएस अध्ययन गरिरहेकी छिन् भने एन्जल ढकाल नोबेल मेडिकल कलेजमा अध्ययनरत छन् । अध्ययनरत विद्यार्थी ढकालले उपमहानगरबाट प्राप्त भएको छात्रबृत्तिले आफूलाई अध्ययनको लागि थप प्रोत्साहन प्राप्त भएको प्रतिक्रिया दिए ।

‘एमविविएस पढ्न जति रकम लाग्छ, त्यसको हिसावले हेर्दा उपमहानगरले दिएको रकम खासै धेरै होइन । तर, ५ लाख रुपैयाँ पनि कम पैसा होइन, त्योभन्दा पनि ठूलो कुरा त हामीले उपमहानगरबाट रकमसहित हौसला पनि पाएका छौं, सरकारले हामीलाई पढ्न प्रेरित गरेको छ भन्ने जस्तो लाग्दो रहेछ,’ ढकालले वडापालिकासँग भने ।

उपमहानगरले एमविविएस अध्ययनको लागि गत आर्थिक वर्षमा कार्यविधि नै बनाएको छ । सो कार्यविधि अनुसार चालु आर्थिक वर्षमा पनि छात्रबृत्ति दिने मेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।

‘हामीले पोहोर पनि २० लाख रुपैयाँ छात्रबृत्ति दिने भनेर बजेट विनियोजन गरेका थियौं । तर, २ जना मात्रै योग्य हुनुभयो । यसपालि पनि ४ जनालाई नै छात्रबृत्ति दिने भनेर २० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं । अब चाढै नै आवेदन खुल्ला गर्ने गृहकार्य भइरहेको छ,’ मेयर लामाले वडापालिकासँग भनिन् ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update