
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा यतिवेला ज्येष्ठ नागरिक भत्ता वितरण अभियान चलिरहेको छ ।
नगरपालिकाले ज्येष्ठ नागरिकलाई सहज होस भनेर लक्ष्मी सनराइज बैंकसँगको सहकार्यमा वडावडामै पुगेर भत्ता वितरण गरिरहेको छ ।
मंगलवार वडा नम्बर ११ मा भत्ता वितरण कार्यक्रममा जान हिडेका जनप्रतिनिधि र बैंकका कर्मचारीलाई अविरल झरीका कारण आएको पहिरोले बाटो छेक्यो ।
जसरी पनि भत्ता वितरण गर्ने लक्ष्यका साथ वडा कार्यालय हिडेको टोलीमा सहभागी जनप्रतिनिधिले तत्काल डोजर मगाए । ‘डोजरले पहिरो पन्छाएर बाटो खोल्यो । त्यसपछि हाम्रा साथीहरुले भत्ता बाँढेर फर्कनुभयो,’ नगर प्रमुख कर्णबहादुर वुढाथोकीले वडापालिकासँग भने ।
नगरपालिकाका १२ वटै वडामा ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति, अशक्त र एकल महिलालाई वडा वडामै पुगेर जनप्रतिनिधिको रोहवरमा बैँकका कर्मचारीले भत्ता वितरण गरिरहेको उनले बताए ।
२३ साउनबाट सुरु भएको यो अभियान १० भदौसम्म चल्ने भन्दै उनले भत्ता पाउने उमेर र क्षेत्र तथा समूहका सबैलाई वडा कार्यालय या पायक पर्ने स्थानमा भेला हुन आग्रह गरे ।
‘हाम्रा कर्मचारीहरु र जनप्रतिनिधि साथीहरु वाढी र पहिरोको अवरोध झेल्दै काममा हुनुहुन्छ । लाभग्राहीलाई यो काममा उत्साहपूर्ण रुपमा सहयोग गर्न र उपस्थित हुन भनेका छौं,’ उनले भने । आज वडा नम्बर ८ मा भत्ता बितरण भइरहेको उनको भनाइ छ ।