Odapalika - The Fourth Estate - चौथो अंग
हेटौडा उपमहानगरको बजेट घट्यो, यी हुन् प्राथमिकताका क्षेत्र (पूर्णपाठ)

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड ८० लाख ७१ हजारको बजेट सार्वजनिक गरेको छ  ।

नगरसभा बैठकमा हेटौँडाका उपप्रमुख राजेश बानियाँले चालु आवको तुलनामा ४६ करोड ७२ लाख २० हजार रुपैयाँ अर्थात १६ दशमलव ०७ प्रतिशत कम बजेट प्रस्ताव गरेका छन् । 

उपप्रमुख बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूलता, सङ्घ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आवमा बजेटको आकार घटाइएको बताए ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट  ११ करोड १७ लाख रुपैयाँ छ । 

उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकासतर्फ ७ करोड ५६ लाख, सामाजिक विकासतर्फ ९३ करोड १० लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड १२ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि रु ४० करोड ६२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ५१ लाख विनियोजन गरिएको उनले जानकारी दिए ।

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड, खानेपानीको महसुल भुक्तानीका लागि २ करोड ८ लाख, नागस्वती फुटबल रङ्गशाला निर्माणका लागि १ करोड ७२ लाख, हेटौँडा चक्रपथअन्तर्गत १५, १६ र १७ नम्बर वडाका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभाले नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आव २०८१/०८२ को नीति तथा कार्यक्रमसमेत सर्वसम्मतरूपमा पारित गरेको छ । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update