Odapalika - The Fourth Estate - चौथो अंग
व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नैपर्छः प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गरे ।

‘राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपील गर्छु– राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ । हाम्रा गतिविधिहरू व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ ।’

उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि र सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्व दिएको स्पष्ट पारे । 

नेपालजस्तो देशका निम्ति अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै प्रधामन्त्रीले यस वर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवर्द्धन गर्ने कार्यक्रम र सूचना–प्रविधिमा स्टार्टअप कार्यक्रमका निम्ति पर्याप्त बजेटको बिनियोजन गरिएको जानकारी दिए ।

‘आगामी दशकलाई ‘कृषिमा लगानी दशक’ र ‘सूचना–प्रविधि दशक’ घोषणा गरी यस क्षेत्रमा लगानी केन्द्रित गर्ने, लगानी आकर्षित गर्ने, कृषि र प्रविधिमा पुँजी, प्रविधि र जनशक्तिलाई केन्द्रित गरी रोजगारी सिर्जना एवं सूचना प्रविधिमा वस्तु तथा सेवाको निर्यात गर्ने लक्ष्य राखिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबाट हाम्रो अर्थतन्त्रमा महत्त्वपूर्ण फड्को हान्नेछ ।’

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update