Odapalika - The Fourth Estate - चौथो अंग
विराटनगर महानगरमा मेयर नागेशको टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा के–के गर्‍याे ?

काठमाडौँ । विराटनगर महानगरपालिकाको नयाँ नेतृत्व आएको २ वर्ष पुगेको छ । मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नागेश कोइराला विजयी भएका थिए ।

यहाँ हामीले मेयरमा नागेश कोइराला नेतृत्वको टिम निर्वाचित भएर आएपछि विराटनगर महानगर पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रका के कस्ता काम गरेको छ भनेर जानकारी प्रस्तुत गरेका छौं । 

शिक्षा

विराटनगर महानगरपालिकाले भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यको विकासमा पनि उल्खनीय प्रगति गरेको महानगरपालिकाले जानकारी दिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा विभिन्न नीति तथा योजना अघि सारी कार्यान्वयनमा समेत ल्याएको छ । 

शैक्षिक गुणस्तर वृद्धि नभएसम्म भौतिक विकासको अर्थ नहुने महानगरका मेयर नागेश कोइरालाको भनाइ छ । कोइराला नेतृत्वको जनप्रतिनिधि निर्वाचित भई आएपछिको दुई वर्षमा १० विद्यालय भवन, ८ वटा विद्यालयमा शौचालय, ८ विद्यालयमा स्वच्छ खानेपानीका लागि फिल्टर प्लान्ट जडान, ९ वटा बालविकास केन्द्रको सवलीकरण र स्तरोन्नति गरिएको महानगरले जानकारी दिएको छ ।

त्यस्तै, विभिन्न विद्यालयमा ३ सय ७० जोर फर्निचर निर्माण, ८ वटा विद्यालयमा पुस्तकालय स्थापना, ६ वटा विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण, ५ वटा विद्यालयमा कप्युटर प्रयोगशाला स्थापना गरिनुका साथै विभिन्न १० भन्दा बढी विद्यालयको मर्मतसम्हारका साथै रंगरोगन, कम्पाउण्डवाललगायतका भौतिक तथा शैक्षिक संरचनाको निर्माण र व्यवस्थापन गरिएको छ । 

सबै सामुदायिक विद्यालयमा पंखा र इन्भटरसमेत वितरण गरिएको छ । शिक्षाको मूलधारमा समाहित गर्नका लागि प्रत्येक वर्ष धार्मिक विद्यालयलाई शिक्षक शिक्षण अनुदान उपलब्ध गराइँदै आएको मेयर कोइरालाले जानकारी दिए ।

महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक र भौतिक तथा व्यवस्थापकीय पक्षको सुधारका लागि महानगरपालिकाले काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए । यसका लागि विद्यालयमा आवश्यक न्यूनतम भौतिक पूर्वाधारको विकास तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ ।

शैक्षिक गुणस्तर वृद्धिका लागि महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक जिम्मेवार बनाउनका लागि ४२ बुँदे कार्यसम्पादन करार सम्झौतासमेत गरिएको छ ।

महानगरका अनुसार कक्षा १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रम  स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ । बुक फ्रि डेका रुपमा ‘खेल्दै सिक्दै कार्यक्रम’ सञ्चालनमा ल्याइएको छ । हरेक वर्ष विज्ञान प्रदर्शनी, तहगत हाजिरीजवाफ प्रतियोगिता, लोकनृत्य, वादविवाद, वक्तृत्वकलालगायतका अतिरिक्त तथा सहकार्यकलापहरुसमेत सञ्चालन गरिरहेको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।

महानगरले शैक्षिण गुणस्तर वृद्धिका लागि शिक्षकहरुलाई दक्ष बनाउने कार्यक्रम पनि अघि सारेको छ । कार्यक्रमअन्तर्गत करिब ३ सय ५० जनाभन्दा बढी शिक्षकलाई क्षमता विकास तालिम दिएको छ । संस्थागत विद्यालयबाट प्रदान हुने छात्रवृत्तिका लागि मापदण्ड बनाई ५ हजार ३ सय ३६ जना विद्यार्थीलाई छात्रवृत्तिसमेत दिइएको छ । 

शिक्षा मन्त्रालयबाट सामुदायिकतर्फ विराटनगरको पोखरिया मावि देशभरिकै सर्वोत्कृष्ट र आदर्श मावि उत्कृष्ट १२ भित्र परेको छ । यसले पनि  विराटनगरको शैक्षिक गुणस्तर बढ्दै गएको अभिभावक भनाइ छ । 

महानगरले संस्थागत विद्यालयको नियमित अनुगमन र सुपरीवेक्षण गरी भौतिक, शैक्षिक र व्यवस्थापकीय सुधार गरिएको छ । महानगरले नियमित अनुगमन गर्नुका साथै विद्यालयलाई आवश्यक सामग्री तत्कालै उपलब्ध गराउने र सहजीकरणलगायतका कारणले काम गर्न सहज भइरहेको विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भनाइ छ । 

प्राविधिक तथा व्यावसायिक शिक्षामा लक्षित वर्गको पहुँच वृद्धिका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिएको महानगरको भनाइ छ । महानगर बहुप्राविधिक शिक्षालयबाट चार वटा इन्जिनियरिङ विषयमा अत्यन्तै न्यून शुल्कमा २ सय ५८ जना विद्यार्थी अध्यापन गर्दै आएका छन् भने २ सय जनाभन्दा बढीका लागि कम्प्युटर हार्डवेयर,  कुक, इलेक्ट्रिकल मेसन, प्लम्बिङसहितका विषयमा १६ सय ९६ घन्टे तालिम सञ्चालन गरिएको विराटनगर महानगरपालिकाले जानकारी दिएको छ ।

स्वास्थ्य

विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको जनाएको छ । महानगरमा नयाँ नेतृत्व आएसँगै विगत दुई वर्षमा स्वास्थ्य क्षेत्रमा महानगरवासीले महसुस गर्ने गरी थुप्रै कार्यहरु भएका दाबी महानगरको छ ।

महानगरले दक्षिणी क्षेत्रमा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरी क्षेत्रमा रहेको बैजनाथपुर हेल्थ पोष्टलाई अस्पतालमा स्तरोन्नति गरेको छ । दुवै अस्पतालमा जनशक्ति र उपकरणको समेत राम्रो व्यवस्था गरिएको छ । रानी अस्पतालमा फिजियो थेरापी, भिडियो एक्स–रेलगायतका सुविधा थप गरिएको छ । यसबाहेक दुवै अस्पतालमा बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको महानगरको भनाइ छ । यस्तै, रानी अस्पतालमा एक्स–रे र स्वास्थ्य बीमा फार्मेसी सेवा पनि सञ्चालन गर्ने तयारी गरिएको छ । बैजनाथपुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने प्रक्रियामा रहेको छ । रानी अस्पतालमा भने स्वास्थ्य बीमा कार्यक्रम लागू भइसकेको छ । भौतिक विकाससँगै नागरिकको स्वास्थ्य र शिक्षामा पहुँच वृद्धि गर्न योजनाबद्ध रुपमा कार्य भइरहेको महानगरको भनाइ छ ।

महानगरले विगत दुई वर्षदेखि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर र आँखा शिविर सञ्चालन गर्दै आएको छ । गत वर्ष स्वास्थ्य शिविरबाट ४ हजारभन्दा बढीले सेवा लिएकामा यस वर्षको शिविरबाट ५ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । 

यस वर्ष १९ वटै वडामा गरेको निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजार २२ जनाले स्वास्थ्य परीक्षण गरेका छन् । विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको छ । 

वडा नम्बर ५ को स्वास्थ्य केन्द्रमा प्रत्येक हप्ता आइतबार, ८ मा सोमबार, ११ मा मंगलबार, १४ मा बुधबार, १७ मा बिहीबार र १९ नम्बर वडामा शुक्रबार क्लिनिक सञ्चालन भइरहेको छ । क्लिनिकमा जाँच गरेपछि मोतियाबिन्दु पहिचान भएकाहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था महानगरले मिलाएको छ । तोकिएको क्लिनिकबाट आँखाको जाँच हुनुका साथै मोतियाबिन्दु पहिचान भएकालाई तत्कालै शल्यक्रिया गरिँदै आएको छ । 

क्लिनिकमा जाँचपछि सेवाग्राहीले चस्मा र औषधिसमेत निःशुल्क प्राप्त गरिरहेका छन् । यसबाहेक १९ वटै वडामा विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन गरिएको छ । 

यस्तै, महानगरले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएका छ । महानगरले निःशुल्क एम्बुलेन्स सेवा, नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा विराटनगरवासीलाई निःशुल्क रगतसमेत उपलब्ध गराउँदै आएको छ ।

महानगरपालिकाको प्रशासनिक भवनमा हेल्थ डेस्क, बसपार्कमा स्तनपान कक्ष पनि सञ्चालनमा रहेको छ । बाल स्वास्थ्यलाई विशेष ध्यानमा राखी १९ वटै वडामा बाल स्वास्थ्य विशेष शिविर, कुपोषित बालबालिकाहरुलाई पोषण प्याकेज वितरण, नवजात शिशुलाई न्यानो कपडासहितको प्याकेज,  ५ वर्षभन्दा मुनिका बालबालिकाका लागि मोरङ सहकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।  महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल बेड संख्याको १० प्रतिशत बेड अनिवार्य छुट्याउन परिपत्रसमेत गरिसकेको मेयर कोइरालालो जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update