Odapalika - The Fourth Estate - चौथो अंग
४ वटा प्रदेशमा २४ घन्टा नै वर्षाको सम्भावना, ३ प्रदेशमा गर्मी कायमै

काठमाडौँ । जेठभर गर्मीले सताएका नेपालीलाई असार लागेलगत्तै केही राहत महसुस हुन थालेको छ । 

जल तथा मौसम विज्ञान विभागले असारयता दैनिकजसो देशका धेरै भागको तापक्रम घट्नुका साथै पानी पर्ने क्रमसमेत सुरु जनाएको छ । 

विभागका अनुसार आजपनि देशका ४ वटा प्रदेशमा वर्षा भइरहेको छ भने यो क्रम आज दिनभर र राति पनि जारी रहनेछ । 

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी छ भने कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको  विभागको भनाइ छ ।

विभागका अनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि विभागले सम्भावना औँल्याएको छ । 

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी प्रदेशका केही तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको भनाइ छ ।


 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update