Odapalika - The Fourth Estate - चौथो अंग
तयार भयो काठमाडौँ महानगरको बहुवर्षे शिक्षा नीति, सरोकारवालासँग सुझाव आह्वान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘वहुबर्षे शिक्षा नीति’ को मस्यौदा तयार पार्दै सर्वसाधारण र सोकारवालालाई सुझाव दिन आहवान गरेको छ । 

महानगरले नीतिका बारे छलफल गर्न र सुझाव दिन ७ असारमा  सुझाव संकलन कार्यक्रम नै आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नु पर्नेछ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार समावेशिता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुने गरी आवेदकहरुलाई एसएमएसमार्फत सहभागी हुन निमन्त्रणा गरिनेछ । 

नीति मस्यौदामाथि महानगरपालिकाका कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, विद्यालय निरीक्षकहरु, विद्यालयका प्रधानाध्यापकहरु, स्रोत शिक्षकहरु, विद्यार्थी, शिक्षक (तहगत रुपमा) शिक्षा क्षेत्रका अगुवा, अभिभावकहरुसँग सुझाव लिइसकिएको छ । सानासाना समूहमा गरिएका छलफल तथा कार्यशाला आयोजना गरेर पृष्ठपोषण लिइएको हो । 

५ बर्षका लागि तर्जुमा हुने भएकोले नीति कार्यान्वयनमा सबै पक्ष सहभागी हुन सक्ने र नतिजामा सबैले स्वामित्व ग्रहण गर्न सक्ने बनाउन शिक्षा क्षेत्रको उत्थानका लागि काम गरिरहनुभएका सबैलाई समेट्न नीतिलाई समावेशी तथा सहभागितामूलक बनाउन दोस्रो चरणको कार्यक्रम आयोजना गर्न लागिएको झाको भनाइ छ ।  

यसरी प्राप्त भएका सुझावलाई समेटेर मस्यौदालाई शिक्षा समिति, कार्यपालिका बैठक तथा नगर सभा बैठक लगेर छलफल गराइनेछ । त्यहाँ प्राप्त सुझावसहित नीति पारित हुनेछ । यसले महानगरपालिकाको २० बर्षको रणनीतिक योजना दीर्घकालीन लक्ष्य २१०० का योजना तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न मद्दत गर्ने महानगरको भनाइ छ ।   

यही नीतिका आधारमा कार्यक्रम तर्जुमा हुनेछन् । कार्यक्रम सञ्चालन गर्न बजेटको आकार र स्रोत सुनिश्चित हुनेछ । सहरी योजना आयोगका सहायक विज्ञ विवेक बास्तोलाका अनुसार २ मिनेटमा अनलाइन फाराम भर्न सकिन्छ । सम्बन्धित व्यक्तित्वबाट उपयुक्त सुझाव लिने तयारी स्वरुप कार्यक्रममा सहभागी हुन अनलाइन आवेदन माग गरिएको हो । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update