Odapalika - The Fourth Estate - चौथो अंग
किसानका बारीदेखि गोठसम्ममा रत्ननगरको रखवारी 

चितवन । रत्ननगर नगरपालिकाभित्र १६ वटा वडा छन् । अब ती सबै वडावासीका गोठ र बारीमा महिनामा एकपटक चिकित्सक र वाली विज्ञ पुगनेगरी नगरपालिकाले अभियान थालेको छ । 

गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक सेवा सुरु गरेको नगरपालिकाले  १६ वटै वडामा महिनाको एकपटक विज्ञसहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्ने छन् ।  

नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार कृषि र पशुपालनको विकासको प्राविधिक सेवा सुरु गरिएको छ । नगर गौरवको योजनाअन्तर्गत यस कार्यक्रमलाई अघि बढाइएको बताउँदै उनले यसका लागि आवश्यक बजेटको वयवस्था नगरपालिकाले गरिसकेको बताए । 

‘यो कार्यक्रमअन्तर्गत १६ वटै वडामा महिनाको एकपटक विज्ञसहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्ने छन् । प्राविधिक सेवाको उपलब्धताका लागि नगरवासीले वडा कार्यालय तथा फोन गरेर प्राविधिकलाई खबर गर्न सकिने गरी व्यवस्था मिलाइएको छ,’ नगर प्रमुखले भने । 

कति छ बजेट ? 

मेयरका अनुसार यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि ८० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । 

नगरले दूध उत्पादन बढाउन घाँसमा प्रतिकट्ठा दुई हजार र दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान रकम वितरण गर्ने कायृक्रम पनि अघि सारेको छ । 

विषादी देखि मलसम्ममा अनुदान

नगरपालिकाले कृषकहरुलाइ लक्षित गदैृ विषदी र मलमा अनुदान दिने कार्यक्रम पनि अघि सारेको छ ।  विषादीमा ७५ प्रतिशत र रासायनिक विषादीमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । 

यसका लागि कृषि हेर्न ३ जना र पशु हेर्न ३ जनाको प्राविधिक टोली परिचालन गरिएको छ । जसले गोठदेखि बारीसम्मका कृषकका समस्यामा सहजीकरण गर्नेछन् । 

पशुशाखा प्रमुख शालिग्राम पौडेलका अनुसार गोठ र खेतमा पुगेका प्राविधिकले उपचारसँगै किसानलाई आवश्यक परामर्श सेवासमेत उपलब्ध गराउने छन् ।

खेतीमा १५ हजार किसान 

नगरपालिकाका अनुसार १५ हजार भन्दा वढी कृषक खेती व्यवसायमा आवद्ध छन् । उनीहरुले वाली उत्पादनका अतिरिक्त पशुपालनलाई समेत प्राथमिकतामा राख्दै आएका छन् । 

रत्ननगरमा ११५ वटा गाईफार्म र २५ वटा व्यावसायिक भैँसी फार्म रहेको नगरपालिकालको तथ्यांकमा उल्लेख छ । जहाँबाट दैनिक ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update