Odapalika - The Fourth Estate - चौथो अंग
बराहपोखरी बन्यो पूर्ण खोप सुनिश्चित पालिका, खोटाङका ८ पालिकाले पूरा गरे मापदण्ड  

काठमाडौँ । खोटाङको बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाभित्रका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाभित्रका १६ महिनादेखि ५० महिना उमेर समूहका ५५७ जना बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप पाएसँगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । 

जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दासमेत गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उक्त गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरे ।

यसअघि साकेला गाउँपालिका, हलेसी तुवाचुङ तथा दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका, केपिलासगढी, ऐसेलुखर्क, खोटेहाङ र रावाबेँसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत खोटाङ जिल्लालाई आगामी असार १० गतेभित्र पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नियमित खोप लगाउने १२ हजार बालबालिका रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । 

सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जन्मेदेखि दुई वर्षभित्रका ९५ प्रतिशत बालबालिकाले सबै प्रकारका खोप पाएको खण्डमा सरकारले पूर्ण खोप सुनिश्तिता घोषणा गर्ने गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update