लतिलपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम नगरसभामा पेश गरेको छ ।
मेयर चिरिबाुब महर्जनले आज नगरसभामा महानगरको ३३६ वटा नीति र कार्यक्रम प्रस्तुत गर्दै यसको कार्यान्वयनको ढाँचा पेश गरेका छन् ।
महानगरले वर्षैदेखि उपत्यकाबासीको प्यासको सपना बन्दै आएको मेलम्ची खानेपानी आयोजनाको भर नगर्ने नीति लिएको छ ।
मेलम्चीको पानीको भर नपर्ने र मकवानपुरको सिस्नेरी खानेपानी आयोजनालाई अघि वढाउन पहलकदमी लिने नीति मेयरले सभामा पेश गरेका छन् ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सो केश आयोजनाका रुपमा सिस्नेरीको खानेपानी ल्याउने परियोजना अघि वढाइएको भन्दै यसलाई मूर्त रुप दिन लाग्ने नीति महानगरले तय गरेको छ । सिस्नेरी खोलाको पानीलाई ललितपुरमा ल्याउने सम्बन्धमा सम्बद्ध निकायहरुको समन्वयमा आवश्यक गृहकार्य गरी कार्यान्वयन गरिने नीतिमा उल्लेख छ ।
महानगरले धुलो रहित सडक व्यवस्थापनका लागि नख्खु खोला र अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाउने भएको छ । ठैब, हरिसिद्धि, धापाखेल लगायतका आवासीय क्षेत्रहरुबाट टिपर चलाउन नपाउने गरी समन्वय गरिने नीतिमा उल्लेख छ ।
सबै वडाहरुमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिएको महानगरले निर्मित शौचालयहरुको सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै प्रवन्ध मिलाइने घोषणा गरेको छ ।
महानगरपालिकाबाट निर्माण हुने सबै संरचना अपाङ्गतामैत्री हुने, फोहरमैला वर्गीकरण प्लान्ट र कम्पोष्ट प्लान्टको सम्बन्धमा अध्ययन गरिने महानगरको नीतिमा उल्लेख छ ।
फोहरमैला श्रोतमा नै व्यवस्थापन, वर्गीकरण, कम्पोष्टिङ्ग तथा पुनःप्रयोगमा ल्याउन सकिने विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने मेयर महर्जनले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । यस सम्बन्धी विषयलाई विद्यालयस्तर अध्ययन तथा अध्यापन गराउने व्यवस्था मिलाइने भनिएको छ ।
युवाहरुलाई स्वदेशमा नै बस्ने वातावरण सिर्जनाका लागि माग र आवश्यक्ताका आधारमा स्वरोजगार तथा व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग गरिने महानगरको निित छ । महानगरले सिक्दै कमाउदै तथा पार्ट टाइम जबसम्बन्धी कार्यक्रम सञ्चालनको लागि छुट्टै कार्यविधि जारी गरी कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
नवप्रवर्तनका लागि तालिम प्राप्त प्रशिक्षार्थी र व्यवसायीहरुलाई वित्तीय संस्थासँग सम्झौता गरी ब्याज अनुदान मार्फत सरल बिउपुँजी र कर्जा प्रवाहको व्यवस्था गरिने नीतिमा उल्लेख छ ।
ललितपुर महानगरलाई हस्तकलाको राजधानीको रुपमा घोषणा गर्न आवश्यक पहल र प्रयासहरु गर्ने भनेको महानगरले स्थानीय हस्तकला प्रवद्र्धनका लागि प्रमुख पर्यटकीय स्थल एवम् विश्व सम्पदा क्षेत्र वरिपरी हस्तकला सामाग्री प्रदर्शनी कक्ष र कोसेली घरको स्थापना गर्ने नीति बनाएको छ ।
चक्रपथ भित्रका वडाहरुमा कौसीखेती सहयोग कार्यक्रमलाई निरन्तरता दिदै चक्रपथ बाहिरका वडाहरुलाई व्यावसायिक तरकारी खेतीको पकेट क्षेत्रको रुपमा विस्तार गरिने उसको नीति छ । निजी खाली जग्गामा जग्गाधनीसँग सम्झौता गरी नर्सरी तरकारी फलफूल खेती गर्ने कृषकलाई महानगरपालिकाबाट लिइने बहाल करमा छुट दिने नीति महानगरले तय गरेको छ ।
यस्तो छ नीति तथा कार्यक्रम
नगर सभा सदस्यहरु,
अन्य उपस्थित महानुभावहरु,
नमस्कार ! ज्वजलपा !
स्थानीय तहको दोश्रो निर्वाचन पश्चातको पाँचौ नगरसभाको यस गरिमामय सभामा उपस्थित नगर सभा सदस्यहरु, कर्मचारीवर्ग, पत्रकारमित्रहरु, सुरक्षाकर्मीहरु लगायत सम्पूर्ण महानुभावहरुमा यस सभाको अध्यक्षको हैसियतले स्वागत गर्दै सभा सञ्चालनमा यहाँहरुको अमूल्य र रचनात्मक योगदान रहनेछ भन्ने अपेक्षा लिएको छु।
यस अवसरमा नेपालमा राष्ट्रियता, नागरिक सर्वोच्चता, लोकतन्त्र तथा गणतन्त्र स्थापनाको लागि आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्बासुमन अर्पण गर्दछु।
यस गरिमामय सभामा नगर प्रमुखको हैसियतले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा आफूलाई गौरवान्वित भएको महशुस गरेको छु।आगामी आ.व.को नीति तथा कार्यक्रम तर्जुमा गर्दा सार्वजनिक सुनुवाईमा व्यक्त सुझाव तथा गुनासाहरु, ललितपुर जिल्लाबाट प्रतिनिधि सभा र बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्नु हुने माननीय सदस्यज्यूहरुबाट प्राप्त सुझाव एवम Feedback, सूचनाको माध्यमबाट सङ्कलित सुझावहरु, सरोकारवालाहरुको सुझाव तथा Feedback समेतलाई दृष्टिगत गरिएको र ति सवै विषयहरुलाई स्मरण गर्दा म सवै नगरवासीहरुलाई भावनात्मक रुपले सम्झिरहेको छु र यो नीति कार्यक्रम पनि सवै नगरवासीको सर्वोपरी हितलाई केन्द्रविन्दुमा राखी तर्जुमा गरिएको व्यहोरा उल्लेख गर्न चाहान्छु।
गत आ.व. देखि नीति तथा कार्यक्रम र बजेट छुट्टा छुट्टै रुपमा प्रस्तुत हुने परम्परालाई निरन्तरता दिदैं यस नगर सभा समक्ष आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छु र सो उपर छलफल भई पारित भए पश्चात मात्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको समय सीमा (असार १०) भित्र बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था मिलाएको छु। यसबाट यहाँहरुको समग्र ध्यान महानगरपालिकाले लिने नीति तथा कार्यक्रममा मात्र केन्द्रित हुने र त्यसबाट महानगरलाई विकास निर्माण, कला संस्कृति तथा सम्पदा संरक्षण, विपद व्यवस्थापन, सेवा प्रवाह र सुशासन कायम गर्न मार्गनिर्देश गर्ने नीति तथा कार्यक्रम तर्जुमा हुनेछ भन्ने अपेक्षा लिएको छु।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि विगतमा यस महानगरपालिकाले अवलम्बन गरेका नीति तथा सञ्चालन गरेका कार्यक्रमले विकास निर्माण, कला संस्कृति तथा सम्पदा संरक्षण, विपद व्यवस्थापन, नागरिकमैत्री सेवा प्रवाह र सुशासनका क्षेत्रहरुमा गरेका असल अभ्यास, प्रयास र उपलब्धिहरुको संक्षिप्त चर्चा गर्नु सान्दर्भिक ठान्दछु। यि सवै उपलब्धिहरु हासिल गर्नमा यहाँहरुले गरेको योगदान सह्रानीय छ।
विगत लामो समयदेखि अलमलमा रहेको स्वास्थ्य विमा कार्यक्रम यसै वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा व्यवस्थित रुपमा शुरुवात गरिएको छ। यसबाट नगरवासीहरुलाई हुने स्वास्थ्य उपचारको आर्थिक भार धेरै हदसम्म न्यूनिकरण हुनेछ भन्ने विश्वास लिएकोछु।
यसै गरी २१ वटा सुविधा सहितको LMC Alert Apps सञ्चालनका साथै
"सुन्दर ललितपुर नगरीः घर घरमा नगर प्रहरी" परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गरिएको छ यसबाट हाल गुनासोको मात्रा धेरैहदसम्म घट्नुका साथ यसरी गरिएको परिचालनबाट राजस्व सङ्कलनमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
ललितपुरको कुसुन्तीमा अपाङ्गतामैत्री हुने गरी Lift सहितको आकाशे पुल निर्माण कार्य शुरु गरिएकोछ।सम्भवत नेपालमा नै यो स्तरको आकाशे पुल पहिलो हो भन्ने मेरो ठम्याई छ।
सप्तपाताल पोखरी र पलेस्वा पोखरीमा कमलको फूल फूलाउने योजनाका साथ यसको निर्माण कार्य तिव्र गतिमा अघि बढेकोछ।
काठमाण्डौका सवै स्थानीय तहको मुख्य समस्याको रुपमा रहेको फोहर विसर्जनलाई उपत्यका मेयर्स फोरमको अध्यक्षको हैसियतले सङ्घीय सरकार र प्रदेश सरकारसँग निरन्तर सम्वादमा रही समस्याको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन निराकरणका लागि भगिरथ प्रयत्न गरिरहेको छु।
त्यस्तै नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन मेलम्चीमा मात्र भर नपरी स्थानीय स्रोतहरुको पहिचान तथा सर्भेक्षण आदिको काम निरन्तर भैरहेको व्यहोरा उल्लेख गर्न चाहान्छु। यस महानगरपालिकाको पहलमा मकवानपुरको सिस्नेरी खानेपानी योजना हालै सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सो-केश योजनाको रुपमा प्रस्तुत भएको छ।
शहरको मुख्य क्षेत्रमा विकराल समस्याको रुपमा रहेको ट्राफिक जामलाई अल्पकालीन र दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरुसँग निरन्तर सम्वादमा रहेको, जसको फलस्वरुप World Bank को आयोजनामा ललितपुर महानगर क्षेत्रमा दुइपाङ्ग्रे मोटरसाइकलको प्रयोगको बिगबिग अवस्थालाई सुधार गर्न एकदिने अन्तर्राष्ट्रिय Strategic Workshop समेत गरी समस्याको पहिचान र समाधानका विषय व्यापक छलफल समेत भएकोले आगामी दिनमा यस समस्याको समाधान हुने कुरामा विश्वस्त रहेको व्यहोरा उल्लेख गर्न चाहान्छु।
यि उपलब्धीहरुको प्राप्तिमा हामीले लिएका सही नीति, असल अभ्यास र नगरवासीहरुको भावना प्रतिविम्वित भएको मैले महसुश गरेको छु।
छिमेकी तथा अन्य स्थानीय तहहरुले समेत हामीले लिएका नीतिहरु, सञ्चालन गरेका विकास निर्माण, कला संस्कृति र सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा गरेका असल अभ्यासहरुको अनुसरण र अनुकरण गरेको देख्न, सुन्न पाउँदा अत्यन्त खुसी लागेको छ।
त्यस्तै यस अवधिमा हामीले लिएका नीतिहरु, सञ्चालन गरेका विकास निर्माण, कला संस्कृति र सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा गरेका प्रयास तथा उपलब्धिहरु मध्ये मुख्य मुख्य विषय र क्षेत्रहरुको वारेमा संक्षेपमा प्रकाश पार्न चाहान्छु:-
१. “ललितपुर नगर, स्वस्थ्य र सम्मुन्नत साँस्कृतिक शहर” को दीर्घकालीन सोचका साथ नगरवासीहरुको हितलाई केन्द्रविन्दुमा राखी महानगरपालिकाले सेवा प्रवाह र विकास निर्माण कला संस्कृतिको संरक्षण सम्वन्धी कार्य सम्पादन गर्दै आएको छ।
२. स्थापना दिवसको अवसरमा महानगरपालिकाले आफुले गर्ने सेवा प्रवाह र विकास निर्माणको दीर्घकालीन सोंच, लक्ष्य र रणनीति झल्कने गरी नारा तय गर्ने परम्पराको थालनी भएको र सोही अनुरुप गत वर्ष तय गरिएको नारा "ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार" लाई यस वर्षपनि निरन्तरता दिएको सन्दर्भ समेत जोड्न चाहान्छु।
३. चालु आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पारित र वार्षिक नगर विकास योजना (Red Book) प्रकाशनमा यहाँहरु सवैले गर्नु भएको सहयोगले श्रावणको १५ गते भित्र नै वार्षिक नगर विकास योजना (Red Book) प्रकाशन भएको र यसको सकरात्मक प्रभावको रुपमा यस वर्षको पुँजीगत खर्चमा गत वर्षहरुको तुलनामा उलेख्य भएको वृद्धि (हालसम्म ६१ प्रतिशत खर्च) भएको छ।हामी सवैले बजेट कार्यान्वयनमा अलिबढि जोड दियौं भने आगामी आ.व. पुँजीगत खर्च प्रतिशत अझै वढ्न जाने कुरामा स्पष्ट नै छ।
४. योग्य, सक्षम, इमान्दार र लगनशील भई महानगरको सेवामा समर्पित हुने जुनसुकै तहको कर्मचारी भए पनि सही मूल्याङ्कन गरी पुरस्कृत गर्ने परिपाटीलाई निरन्तरता दिदैं तहविहिन पदमा रही विपदको क्षेत्रमा सह्रानीय कार्य गर्ने कर्मचारीलाई यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ।आगामी दिनमा यसलाई अझ व्यवस्थित र फराकिलो गर्दै लगिनेछ।
५. राजस्व असुलीमा समय र प्रक्रियाका हिसावले विगतमा रहेको झन्झटिलो परम्पराले हामी सवैलाई प्रविधिले गिज्याइरहेको अनुभूति भएकोमा गत वर्षदेखि विद्युतीय राजस्व असुली प्रणाली शुरु गरिएको र यस वर्षदेखि वडास्तरबाट नै राजस्व सङ्कलनको शुरुवात गरिएकोछ। यसलाई अझ व्यवस्थित गर्दै लगिनेछ।
६. आन्तरिक लेखा परीक्षणलाई पारदर्शी, उतरदायी र व्यवस्थित बनाईएको र अन्तिम लेखा परीक्षणमा समेत समयमा नै आवश्यक कागजात तथा पुष्टाईका साथ प्रस्तुत भएकोले गत आ.व. २०७९/८० को लेखा परीक्षणबाट एकप्रतिशत भन्दा कम वेरुजु कायम भएको तथ्य पनि यहाँहरु समक्ष राख्न चाहान्छु।
७. प्रचलित कानूनको अधिनमा रही महानगरपालिकाले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माण तथा कर्मचारीहरुको वृतिविकास समेतलाई मध्यनजर गरी महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O & M) गर्ने कार्य सम्पन्न भई स्वीकृतिको चरणमा रहेको कुरा यहाँ उल्लेख गर्न चाहान्छु।
८. सुशासन र पारदर्शिता, जवाफदेहिताको मर्मलाई ह्रदयङ्गम गरी सार्वजनिक सुनुवाई गरिएको, नगरवासीमा महानगरपालिकाबाट प्रदान गरिएको सेवा र विकास निर्माणका सम्बन्धमा नागरिक सन्तुष्टि सर्वेक्षण गराइएको र यसको नतिजा उल्लेखनिय रहेको पाइएकोले हामीले लिएको गन्तब्य सही नै छ भन्ने लागेको छ। यसको मूल्याङ्कन माथि उल्लेख गरिएका प्राप्तिहरु, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा हामीले प्राप्त गरेको अङ्क (८८.७५) ले समेत दर्शाउँछ। त्यस्तै विभिन्न निकायबाट गरिने मूल्याङ्कनमा समेत हामी अब्बल छौं।
९. श्री रातो मच्छिन्द्रनाथ ऐतिहासिक रथ जात्रालाई विश्वसामु परिचित गराउन विभिन्न प्रयासहरु गरिदैं आएको परिप्रेक्ष्यमा यस वर्षको रथ यात्राको शुरुवातको अवसरमा नेपाल स्थित विभिन्न देशका राजदुत तथा कुटनीतिक नियोगका प्रमुखहरुलाई महानरपालिकाको पहलमा रथ यात्राको अवलोकन गर्ने व्यवस्था मिलाईएको यहाँहरु सवैलाई जानकारी गराउन चाहान्छु।
१०. यस आर्थिक वर्षको जेष्ठ मसान्तसम्म राजस्व असुली ८७.२ प्रतिशत रहेको छ।
नगरसभा सदस्यहरु,
अव म यस अवधिमा भएका विकास निर्माण तथा सेवा प्रवाह र सुशासनमा गरिएका प्रयास र उपलब्धिहरुलाई संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु।
क. पूर्वाधार निर्माण र शहरी विकासः
• महानगरपालिका भित्रका सडक निर्माण तथा मर्मत कार्यलाई प्राथमिकतामा राखिएको र कालोपत्र गर्दा कम्तीमा डेड इन्च मोटाइको मात्र गर्ने गरी हाल 63 वटा विभिन्न सडक खण्ड अन्तर्गत कुल लम्बाई 23.103 कि.मी. बराबरको सडक विभिन्न चरणमा निर्माणाधीन अवस्थामा रहेको । यस मध्ये करीब ७०% चक्रपथ बाहिर रहेका छन्।
• सडक सौन्दर्यलाई ध्यानमा राखी महानगरपालिका भित्रका सडकहरु हरियाली प्रवर्द्धन गर्ने गरिएको।
• छयासीकोट पार्क, हरिसिद्बि पार्क र चोभार गल्छी पार्क निर्माणका लागि प्रक्रिया अघि वढेको छ भने अन्य विभिन्न स्थानहरुमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरिएको ।
• Transparent Green Fence अन्तर्गत पुल्चोक क्याम्पस र श्रीमहल परिसरको काम अन्तिम चरणमा रहेको छ भने पाटन क्याम्पस, महालक्ष्मी मन्दिर परिसर, वडा नं. ४ कार्यालय अगाडिको बगैचा, महेन्द्र भृकुटी मा.वि.परिसर र धोविघाट परिसरमा निर्माण कार्य शुरु गरिएका छन् । यस आ.व. मा पनि थप 850 मि. लम्बाई रहेका Transparent Green Fence निर्माण कार्य भइरहेको ।
• Asian Development Bank/PID को आर्थिक एवं प्राविधिक सहयोगमा लगनखेलदेखि पाटन दरवार क्षेत्र हुदै शंखमुलसम्मको २.८ KM ट्रंकलाइन प्रोजेक्ट सम्पन्न भएको छ। महापालसम्मको कनेक्सनको कार्य हालै मात्र सम्पन्न भएको छ।
• महानगरपालिकाभित्र रहेका पोखरीहरु पुननिर्माण गर्ने नीति अनुरुप हाल सप्तपाताल र पलेश्वाँ पुखुको पुननिर्माण कार्य शुरु गरिएको छ। बुगमती स्थित ढोकापीनि अवस्थित पोखरीहरु पुनःनिर्माण कार्य भैरहेको छ।
• हालसम्म सडक वत्तितर्फ २०६९ वटा Smart Street Lights र ९१ वटा CCTV जडान गरिएको।
• चक्रपथभित्र तथा बाहिरका भित्री सडकहरुमा ८१९ वटा सडकबत्ती, १०-११ मि. को २० वटा Mini Mast Lights खरिद प्रक्रियामा रहेको ।
• बालकुमारी- बल्खु चक्रपथ खण्डको लागि सडकबत्ती १२६२ वटा, १०-११ मि. को Mini Mast Light १४ वटा र १६ मि.को High Mast Lights २ वटा खरिद प्रक्रियामा रहेको।
• १3.9 कि.मी. अपाङ्गतामैत्री सहितको गुणस्तरयुक्त फुटपाथ निर्माण कार्य सम्पन्न भइ सकेकोमा यसै आ.व. मा पनि थप 5.6 कि.मी. फुटपाथ निर्माणको लागि ठेक्का सम्झौता भइ निर्माण कार्य भइरहेको।
• ६.१८ कि. मी. साइकल लेनको निर्माण गरिएको।
• अव्यवस्थित तार व्यवस्थापनको कार्यलाई तिब्रता दिइदै आएको। हालसम्म मुख्य सडक, मच्छिन्द्र नाथको रथ यात्रा हुने स्थानमा तारहरु व्यवस्थापन भइसकेका छन भने बाँकी स्थानमा समेत तार व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको।
• घर नम्वर वितरण कार्य अन्तिम चरणमा पुगेको छ।
• महानगरपालिकाले Electric Vehicle मात्र खरिद गर्ने गरेको र Zero वातावरण प्रदुषण हुने Electric Vehicle लाई प्राथमिकता दिदैं महानगरपालिका भित्र Electric Bus सञ्चालनका लागि साझा यातायातसँग सम्झौता गरिएको र सो अनुसार साझा यातायातबाट ४० वटा Electric Bus को सञ्चालन भईरहेको। भित्री सहरमा सञ्चालनको लागि १० वटा Shuttle bus को tender प्रक्रियामा रहेको।
• नक्सापासका लागि EBPS प्रणाली लागु गरी यसलाई राजश्व असुली प्रणालीसंग आवद्ध गराउने कार्य भई रहेको।
• महानगर भित्रका विभिन्न १० वटा स्थानमा अपाङ्गतामैत्री Smart सार्वजनिक शौचालय निर्माण कार्य भइरहेको।
• Intelligent Traffic Light जडान कार्य अन्तिम चरणमा पुगेको।
• सम्पदा मैत्री भवन निर्माणमा झिंगटी (आवा) लगाउने सम्बन्धमा विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन गरिएको।
• आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने गरी महानगरपालिकाको कार्यालय छेउमा नै B-Block र लगनखेलमा वडा नं. १२ को वडा कार्यालय सहितको C-Block निर्माणाधिन रहेको।हालसम्म B-Block को भौतिक प्रगति ५५% र C-Block को भौतिक प्रगति २५% रहेको।
• यस महानगर भित्र रहेको नेपालको सवैभन्दा जेष्ठ इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकको हाता भित्र अवस्थित राणालकालीन संरचनाहरुको मर्मत/पुननिर्माण तथा जीर्णोद्धारका लागि विस्तृत अध्ययन प्रतिवेदन (DPR) तयार भैरहेको।
• २०७२ सालको भूकम्पबाट पूर्णतया क्षति भएको पुल्चोक स्थित जुद्ध वारुणयन्त्र रहेको भवनको यथास्थितिमा नै पुननिर्माण गरी उक्त परिसरमा रहेको दमकल, एम्बुलेन्स, शववाहन र नगर प्रहरी परिचालनका लागि प्रयोग हुने गरी सवारी साधनहरुको भूमिगत पार्किङ्ग सहितको भवन निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (DPR) तयार भैरहेको।
• विश्वसम्पदा सूचीमा सूचिकृत भएका काष्ठकला, मुर्तिकला, चित्रकलाको अनुपम नगरीको रुपमा परिचित यस प्राचीन शहर भित्र रहेका पुराना मठ मन्दिर, देवालय, शिवालय, आवासीय भवनहरुको संरक्षण र सम्वर्द्धन गर्न Research for Conversation of Traditional Buildings सम्बन्धी कार्यकालागि विस्तृत अध्ययन प्रतिवेदन (DPR) तयार भैरहेको।
ख. विपद व्यवस्थापनः
• महानगरीय विपद् व्यवस्थापन कोषलाई प्रभावकारी रुपमा व्यवस्थापन गरी विपदमा राहत, उद्दार तथा पुनर्स्थापनाका लागि वित्तीय तथा कानूनी व्ववस्थालाई सुदृढ गरिएको।
• वडा नं. ६, ९ र १४ मा भूमिगत पानी ट्याङ्की निर्माणका लागि आवश्यक प्रक्रिया पूरा गरी सम्झौता गर्न पत्राचार गरिएको ।
• ललितपुर महानगरपालिकावाट विपद् खोज उद्धार तालिम प्राप्त स्वयंसेवकहरुको सहभागितामा श्री राजदल गण लगनखेल, सशस्त्र प्रहरीवल दक्षिणकाली ललितपुर जिल्ला प्रहरी परिसर ललितपुर र राष्ट्रिय भूकम्प प्रविधि समाज नेपाल( NSET) सँगको सहकार्यमा वडा नं २२ बुङमती, वसपार्कमा संयुक्त विपद् प्रतिकार्य अभ्यास-२०८१ सम्पन्न भएको ।
• फिलिपिन्सको माकाटी शहरका विपद् व्यवस्थापनका प्राविधिकबाट यस महानगरपालिकाका दमकलका प्राविधिकहरुलाई प्रशिक्षण दिइएको।
• महानगरपालिकाका २९ वटै वडाहरुमा विपद् खोज तथा उद्धारका सामाग्रीहरुको अवस्था र भविष्यमा आवश्यक पर्ने थप उद्धार सामाग्रीहरुको वारेमा विपद् व्यवस्थापन समितिवाट अनुगमन कार्य सम्पन्न भएको ।
• युनिसेफ नेपालद्वारा विपद्को समयमा आवश्यक पर्ने उद्धारका सामाग्रीहरु उपलब्ध गराएको र निकट भविष्यमा सो सामाग्रीहरु वडा कार्यालयहरुमा वितरण गरिने व्यवस्था मिलाइएको।
• महानगरपालिका भित्रका युवाहरुलाई सामुदायिक खोज तथा उद्धार तालिम सम्पन्न गरिएको ।
• महानगरपालिका भित्र आगलागीको जोखिम न्यूनिकरण सम्वन्धमा सचेतना सम्बन्धी कार्यक्रम नियमित रुपमा सञ्चालन गरिएको।
• विपद व्यवस्थापनमा एकीकृत सेवा (Ambulance, Fire Brigade, LMC Police) परिचालन गर्ने गरी DRRM under One Roof System सञ्चालन गरिएको।
• गुइतदोमार, बुंगमती र धापाखेलमा विपद सम्बन्धी DRR Sub Station सञ्चालनको प्रक्रिया अगाडि बढाइएको।
• अत्याधुनिक उपकरण : दमकल, Sky Lift, Close Compactor जस्ता साधन खरिद गरिएको छ।
• विपद सामाग्रीहरुको भण्डारण तथा व्यवस्थापनको लागि Municipal Emergency Operation Center (MEOC) को स्थापना गरिएको।
• १०६ वर्ष पुरानो Dennis दमकल मर्मत गरी पुन प्रयोगमा ल्याउन सफल भएको साथै अत्याधुनिक दमकल थान २ खरिद गरिएको।
• अत्याधुनिक Water Sprinkler थान २ खरिद गरी सडक, सडक पेटी तथा सडक पेटीमा रहेका वोटविरुवामा रहेको धुलो सफा गर्ने गरी सञ्चालनमा ल्याइएको।
ग. सम्पदा-मूर्त
• महानगरपालिकाभित्र रहेका अमूर्त सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयोजनका लागि अध्ययन भइरहेको।
• सम्पदा क्षेत्रका दरवार, मन्दिर, बिहार, सत्तल, पाटिहरु लगायतका संरचनाहरुको पुननिर्माण सम्बन्धी ६१ वटा योजनाहरु कार्यान्वयनको चरणमा रहेको।
• ऐतिहासिक भीमसेन मन्दिर, समय फल्चा लगायतका संरचनाहरुको कलात्मक ढंगले निर्माण सम्पन्न गरिएको।देगु तलेजु, रुद्रायणी, मच्छिन्द्रनाथ लगायतका ६ वटा मन्दिरहरुको पुनः निर्माण कार्य अगाडि बढिरहेको।यसै बर्ष वडा नं. ८ स्थित वालकुमारी मन्दिरको पुननिर्माण कार्य सम्पन्न गरिएको।
घ. सम्पदा-अमूर्त
• यस महानगरपालिकाको पहलमा श्री रातो मछिन्द्र नाथसँग आवद्धता रहेको किर्तिपुर स्थित याकः मिसालाई नेपाल सरकारबाट दक्षिणा दरवन्दीको व्यवस्था मिलाइएको।
• महानगरपालिकामा सञ्चालन हुदैं आएका परम्परागत जात्रा, पर्व, मेलाको लागि अक्षयकोषको व्यवस्था गरिएको।
• महानगरपालिकाको निधिको रुपमा रहेका अमूर्त सम्पदा, जात्रा पर्वहरुको दरवन्दीलाई निरन्तरता दिइँदै आएको।
• श्री हरिसिद्धि र श्री रुद्रायणीको १२ वर्षे जात्रा सञ्चालन गरिएको, श्री नरदेवी र श्री पचली भैरवको जात्रालाई महानरमा स्वागत गरिएको।
• परम्परागत सङ्गित सम्वर्द्धन अन्तर्गत कोन्ति देउला वासुरी, थतिदेउला वासुरी, मुवालीबाजा, दमोखी बाजा लगायतका बाद्यवादनको प्रशिक्षणको व्यवस्था गरिएको।
• April-18 मा मनाईने विश्व सम्पदा दिवस भव्य रुपमा मनाइएको।
ङ. स्वास्थ्यः
• ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुलाई निमोनिया विरुद्धको खोपको व्यवस्था गरिएको।
• महिलाहरुमा देखिने पाठेघरको मुखको तथा स्तन क्यान्सरलाई नियन्त्रण र रोकथामका लागि परीक्षण र उपचारको कार्यलाई निरन्तरता दिईदै २९ वटा वडामा नै सेवा विस्तार गरिएको।
• महानगरपालिका भित्र बसोबास गरिरहेका विपन्न दीर्घ रोगीहरुको उपचारमा सहजताका लागि मासिक पाँचहजार उपलब्ध गराउदै आएको।यसबाट हालसम्म ५३३ जनाले सुविधा लिईरहेको।
• लामो समयदेखि व्यवस्थापन हुन नसकेको चिकित्साजन्य फोहरको समूचित व्यवस्थापन गरिएको।
• वर्षाको समयमा देखिने Dengue रोग नियन्त्रणका लागि आवश्यक तयारी गरिएको।
• जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिसँग महानगर सम्बन्धी स्वास्थ्य कार्यक्रम हालसम्म १७ वडाका ३७८० जना लाभान्वित भएका।
च. वालवालिका, महिला, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिक लक्षित कार्यक्रमः
• जेष्ठ नागरिकहरुलाई महानगरपालिकाको तर्फबाट थप सामाजिक सुरक्षा भत्ता रू 10,०००/- प्रदान गर्ने गरिएको।
• लैंगिक हिंसा विरुद्धको कार्यलाई प्रभावकारी बनाउन महानगरको हटलाईन नं. ११३१ प्रयोगमा ल्याइएको।
• ललितपुर महानगरपालिका र सुन्दरढोका साथी संस्थासँगको सहकार्यमा ६ जना अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम गोडा सहितको खुट्टा उपलब्ध गराईएको।
• December 3 मा मनाईने अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पाटन दरबार क्षेत्रमा अस्थायी र्याम्पको सहायताले व्हिलचेयर प्रयोगकर्ता लगायत आपाङ्गता भएका व्यक्तिहरुले समेत पाटन दरबार क्षेत्रको भित्री चोकहरुमा अवलोकन गर्ने अवसर प्रदान गरिएको।
• महिला उद्यमीहरुको तथ्यांक संकलनको शुरुवात गरिएको।
• बालबालिकाको नेतृत्व विकास र महानगरपालिकाका गतिविधिहरु जानकारी गराउने उद्देश्यले नमूना बाल नगर सभा सञ्चालन गर्ने गरिएको।
• महिलाहरुको नेतृत्व विकास तथा समग्र क्षमता विकासका लागि महानगरपालिका भित्र रहेका महिला समूहलाई उनिहरुले सञ्चालन गरेका कार्यक्रम लगायतका विषयहरुमा आधारित रहि मूल्याङ्कन गरी उत्कृष्ट महिला समूह घोषणा गरिएको।
छ. युवा तथा खेलकुदः
• नेपाल सुपरलिग फुटवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने क्लवका खेलाडी तथा पदाधिकारीहरुलाई सम्मान गरिएको।
• ललितपुर निवासी दुईजना अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पदक प्राप्त व्याडमिन्टन खेलाडीहरुलाई आगामी २ वर्षसम्म महानगरपालिकाको लोगो राखि प्रतियोगितामा भाग लिने गरी समझदारी गरिएको।
• A, B, C डिभिजन लिगका ३ वटा फुटबल क्लवहरुलाई क्रमशः ४ लाख, 3 लाख र २ लाखका दरले सहयोग गरिदैं आएको।
• राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता नियमित रुपमा सञ्चालन गरी विद्यालयस्तरका विद्यार्थीहरुको खेलकुद विकासमा जोड दिइएको।यस वर्षदेखि प्रतियोगिता तयारी खर्च स्वरुप केही रकम विद्यालयलाई प्रदान गरिएको।
• ANFA मा A Division मा स्तरोन्नती हुने क्लबहरुलाई दिईदैं आएको सहयोगलाई निरन्तरता दिने गरिएको।
• महानगरपालिकास्तरमा हुने खेलकुद प्रतियोगिता मध्ये माग र औचित्यताका आधारमा सवै प्रकारका खेल तथा खेलाडीहरुलाई प्रोत्साहन हुने गरी गरिने सहयोगलाई निरन्तरता दिईदैं आएको।
• विगतमा झैं Volleyball Tournament सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाइएको।
ज. सहकारी नियमन तथा प्रवर्द्धनः
• सहकारी दर्ता तथा कार्यक्षेत्र विस्तारमा निर्मम रुपमा प्रस्तुत हुने गरेको। बिगत ७ बर्षदेखि यस महानगरपालिकामा दर्ता पूर्णत रोक लगाइएको ।
• सहकारी संस्थाहरुको क्षमता विकासमा सहयोग तथा सहजीकरण गरिएको ।
• जिल्ला सहकारी संघ र विषयगत सहकारी संघहरुसँग समन्वय र सहकार्यमा सहकारी संस्थाहरुको नियमन र प्रवर्द्धन गर्ने गरिएको ।
• बचत फिर्ताका लागि प्राप्त भएका निवेदन उपर संस्थाका पदाधिकारीहरु र निवेदनकर्ताहरुसंग संयुक्त वा छुटछुट्टै बसी छलफल गरी समस्याको समाधान गर्ने प्रयास गरिएको ।
• समस्या देखिएका सहकारी संस्थाहरुको नियमित एवं सघन अनुगमन गरी संस्थामा देखिएको समस्या निराकरणको लागि राय सुझाव निर्देशन दिने गरिएको ।
• वडास्तरमा सहकारी सचेतना सम्बन्धी कार्यक्रहरु सञ्चालन गर्दै आएको ।
• सहकारी संस्थाका सदस्यहरुका लागि आय आर्जन सम्बन्धी साझेदारी कार्यक्रम सञ्चालन गरिएको।
• महानगरमा संचालित सहकारी संस्थाहरु एवं प्रदेश र संघको क्षेत्राधिकार भित्रका सहकारीहरुको तथ्यांक अद्यावधिक गर्ने कार्य शुरु गरिएको ।
• निष्कृय रहेका सहकारी संस्थाहरु क्रमशः प्रक्रिया पुरा गरी खारेज गर्ने गरिएको ।
झ. उद्योग र हस्तकला प्रवर्द्धनः
• विश्वकला परिषदको ३५ औं सदस्य नगरको रुपमा रहेको यस महानगरपालिकाले कोशेली घर सञ्चालन गरेको।
• तालिम आवश्यकता पहिचान प्रतिवेदनले सिफारिस गरेअनुसारको यस आ.व.मा पाँचवटा विषयहरुः वारिष्टा बेसीक तालिम, बेकरी बेसीक तालिम, उद्यमशीलता विकास तालिम, आल्मुनियम फेव्रिकेटर तालिम र हाउस वायरिङ वेसीक तालिमको पाठ्यक्रम निर्माण गरिएको।
• उद्यमशील स्वरोगजार कोष सञ्चालन कार्यविधि कार्यान्वयनमा रहेको ।
• यसै वर्ष औधोगिक व्यवसाय नियमन तथा प्रवर्द्धन ऐन, २०८० सभाले स्वीकृत गरेको ।
• उद्यमीहरुलाई मागका आधारमा उपयुक्त प्रविधि हस्तान्तरण गर्दै आएको
• औद्योगिक तथ्यांक संकलन र अद्यावधिक गर्ने कार्यलाई तिव्रता दिईएको
• ४० माइक्रोन भन्दा कमका प्लाष्टिकका झोलाहरुको प्रयोगलाई क्रमश निरुत्साहित गर्दै जाने महानगरपालिकाको नीति अनुसार कपडा कागज एवं फेब्रिकका झोला बनाउने तालिम सञ्चालन गर्दै आएको ।
ञ. पर्यटन प्रवर्द्वनः
• पर्यटन प्रवर्द्वनको लागि छुटै वेभसाइट www.tourism.lmc.gov.np निर्माण गरिएको।
• यस वर्षको जेष्ठ मसान्तसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट पर्यटन शुल्क वापत रु.११ करोड ६० लाख ६१ हजार राजस्व सङ्कलन भएको।
• ललितपुर महानगरपालिका वडा नं. २१ खोकनाको ऐतिहासिक श्री रुद्रायणी देबीको १२ बर्षे नाच प्रदर्शन, नरदेवी श्री श्वेतकाली (ङ्यतभुल अजिमा) १२ बर्षे देवी नाच र श्री पचली भैरव तथा श्री भद्रकाली (लुँमधि) अजिमाको १२ बर्षे खड्गसिद्धि जात्राका सहभागी देवगण लगायत सहभागी हरुलाई महानगरको तर्फवाट भब्य रुपमा स्वागत र सहयोग गरी सम्पन्न भएको ।
• पर्यटन रुट प्रवर्द्धन गर्न नक्सा तथा ब्रोसर तयार गरी पर्यटकहरुलाई वितरण गर्न शुरु गरियो।
• प्रमुख सम्पदा स्थलहरुको QR Code राख्ने कार्यक्रम सञ्चालन हुदैछ ।
• पर्यटकहरुको वढि आवतजावत हुने अन्य स्थानीय तहको प्रमुख पर्यटकिय स्थानमा ललितपुरका पर्यटकीय स्थानहरुको प्रचार प्रसारका लागि Digital Display Board राख्ने गरी कार्य अघि बढिरहेको।
• होमस्टे व्यवसायको प्रवर्द्धन तथा नियमनका लागि कार्यविधि तयार भएको।साथै होमस्टे सम्बन्धी तालिम समेत सञ्चालन गरिएको।
• पर्यटकिय क्षेत्रहरुको गन्तव्यको सहज पहुँचका लागि सांकेतिक चिन्ह जडान गरिदैं।
• प्रमुख वाहवाहीको डकुमेन्ट्री तयार गरिएको साथै वडा नं. ६ मा हस्तकला मेला र वडा नं. १९ पर्यटन सद्भाव मेला सम्पन्न गरिएको।
• हस्तकला सम्बन्धी विभिन्न तालिम प्रदान गरिएको।
• महानगरपालिका, नेपाल पर्यटन वोर्ड र चाइनिज राजदुतावासको संयुक्त आयोजनामा चाइनिज नयाँ वर्ष मनाइएको।
• उपभोक्ता हित संरक्षणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको।
• September 27 मा मनाईने अन्तर्राष्ट्रिय पर्यटन दिवस भव्य रुपमा मनाईएको।
ट. पशु सेवाः
• पशुहरुको उपचार र व्यवस्थापनका लागि Vet Ambulance Service को सुरुवात गरिएको।
• मासु पसल सुधारको लागि प्रस्ताव आव्हान गरिएको।
• महानगरपालिका क्षेत्र भित्र नियमित खोप सञ्चालन गर्दा पशुपंक्षीमा महामारी जन्य रोगहरु नियन्त्रणमा रहेको।
• कृत्रिम गर्भाधान कार्यक्रमबाट गाईभैसी तथा बाख्रामा नश्ल सुधार भै उत्पादनमा वृद्धि भैरहेको।
• हिउदे तथा बर्षे घासको बिउ वितरण बाट पशु अहारामा सहयोग पुगेको।
• सेवा केन्द्रहरु मार्फत कृषकको घरदैलोमा पशु उपचार सेवा पशु बिमा कार्यक्रम कृत्रिम गर्भाधान सेवा कार्यक्रममा सञ्चालन बाट पशुपालन व्यवसायमा सहयोग पुगेको ।
• सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रमबाट सामुदायिक कुकुर नियन्त्रणमा सहयोग पुगेकोले आगामी बर्ष यसका लागि आवश्यक बजेट व्यवस्थापन गरिने।
ठ. शिक्षाः
• महानगरपालिकाभित्र सामुदायिक विद्यालय (40), संस्थागत विद्यालय (२५२), बालविकास केन्द्र (91), अनौपचारिक प्रौढ (धार्मिक, विशेष, खुला) (4) रहेका छन्।
• महानगरपालिका भित्रका शैक्षिक संस्थाहरुको लागि एकीकृत शैक्षिक क्यालेन्डर तयार गरी विगत बर्षदेखि लागु गरिएको।
• महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शिक्षक दरबन्दी मिलान गरिएको।
• विद्यालयको भर्ना प्रक्रिया लाई वढी पारदर्शी बनाउन हाल विद्यालयले प्रदान गर्दै आएको कोटा प्रणालीलाई पुनरावलोकन गरी संविधानले निर्दिष्ट गरे बमोजिमका Cluster हरुमा सिमित रही कोटा प्रणालीद्वारा भर्ना प्रक्रिया गत वर्ष सेन्ट जेभियर्स स्कुलमा र यस वर्षदेखि सेन्ट मेरिज स्कुलमा समेत अवलम्बन अर्थात गोला प्रथाद्वारा विद्यार्थी छनौंट गर्ने व्यवस्था गरिएको।
• SEE परीक्षामा उत्कृष्ट नतिजा (GPA -4) हासिल गर्ने ६ वटा विद्यालयका १४ जना विद्यार्थीहरु र विद्यालयलाई पुरस्कृत गरिएको।
• सामुदायिक विद्यालयतर्फ SEE परीक्षामा उत्कृष्ट नतिजाको आधारमा प्रथम, द्बितीय र तृतीय हुने विद्यालयलाई छुट्टै पुरस्कृत गरिएको।
• शैक्षिक गुणस्तर र सुधारका लागि STEAM लगायतका प्रभावकारी शैक्षिक प्रयासहरु सुरु गरिएको।
• स्थानीय पाठ्यक्रम लागु गरी नेपाल भाषाको लागि शिक्षक व्यवस्थापन गरिएको छ।
• सडक सुरक्षा शिक्षाको पाठ्यसामाग्री तयार गरी पाठ्यक्रममा समावेश गरिएको छ ।
ड. सरसफाई तथा फोहरमैला व्यवस्थापनः
• फोहरमैला संकलन तथा व्यवस्थापनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न फोहरमैलाका लागि आवश्यक पर्ने जनशक्ति Close Compact Truck, Dumper Placer लगायत साधन तथा उपकरणको व्यवस्था गरिएको।
• फोहरमैला व्यवस्थापनमा प्रयोग हुने आधुनिक प्रविधियुक्त Incinerator Plant, Composing र Gasification Technology अध्ययन भैरहेको।
• फोहरमैला व्यवस्थापनका सम्बन्धमा संकटको वेला Adhoc basis मा Crisis Management गरेर पनि शहरलाई दुर्गन्धित हुनबाट जोगाइएको।
• व्रुमर लगायतका अत्याधुनिक यन्त्र प्रयोग गरी शहर सफा राख्न सफल भएको।
ढ. कृषि विकासः
• हिउँदे तरकारी र बर्षे तरकारी खेती प्रवर्द्धनका लागि कृषकहरुलाई १४०० सेट उन्नत तरकारी विउ वितरण गरिएको।
• कौसी खेती प्रवर्द्धन तथा भान्साको फोहर व्यवस्थापनका लागि १००० कम्पोष्ट विन वितरण गरिएको।
• ७०० जना कृषकलाई कौसी खेती तालिमका साथै कौसी खेती सम्बन्धी सामाग्री वितरण गरिएको।
• प्राङ्गारिक खेती सम्बन्धी तालिम प्रदान गरिएको।
• ६३ जना कृषकलाई मिनिटेलर, थ्रेसर, डिजिटल काँटा, स्प्रेयर, पानी तान्ने पम्प, प्लाष्टिक सिट, गार्डेन पाइप वितरणका साथै २०० जना कृषकलाई IPM Tools वितरण गरिएको।
• कृषक सूचीकरण कार्यक्रम मार्फत १८०० कृषक सूचिकृत गरिएको।
ण. नगर गौरवका आयोजनाः
• महानगरपालिकाको नीति अनुसार Green and Blue Project अन्तर्गत लगनखेलको सप्तपाताल तथा पलेस्वा पोखरी निर्माणको वहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी पहिलो चरणमा पोखरीको सीमाभित्र Transparent Green Fence सम्पन्न गरी दोश्रो चरणमा पोखरी निर्माण प्रक्रिया शुरु गरिएको ।
• सप्तपाताल पोखरी तथा पलेस्वा पोखरीमा ऐतिहासिक राजकुलोबाट पानी ल्याउने योजना अन्तर्गत पहिलो चरणमा सुनाकोठीदेखि सप्तपातालसम्मको कामको लागि बोलपत्र प्रकाशन भैसकेको छ भने दोश्रो चरण अन्तर्गत नल्लुदेखि टिकाभैरव र टिकाभैरव देखि सुनाकोठीसम्मको राजकुलोको विस्तृत अध्ययन प्रतिवेदन (DPR) यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी काम भैरहेको छ ।
• शहरी क्षेत्रहरुमा सवारी साधन पार्किङ व्यवस्थापन गर्नको लागि पाटनढोका, जावलाखेल र झम्सिखेल लामोचौरमा Vertical Parking सहितको पार्किङ व्यवस्था गर्ने गरि पुर्व सम्भाव्यता अध्ययन (Pre-Feasibility Study) सम्पन्न भै कार्यान्वयनको लागि छलफल भैरहेको छ भने लगनखेल स्थित पेट्रोल पम्प अगाडिको जग्गामा Underground Palika बजार र Vertical Parking सहितको पार्किङ व्यवस्था गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन (DPR) गरिएको छ ।
• नगरस्तरीय खेलकुद मैदानको लागि धापाखेल स्थित जाल्पा स्कुल नजिकको खेल मैदानलाई दुवै टिमका ११/११ जना खेलाडि खेल्न मिल्ने गरी फुटवल खेलकुद मैदान तयार गर्न विस्तृत अध्ययन प्रतिवेदन (DPR) सम्पन्न भै स्वीकृतिको प्रक्रियामा रहेको ।
• Recharge Lalitpur, Cycle Sharing र स्कुलहरुमा Robotics कार्यक्रम जस्ता Creative तथा Innovative कार्यहरुको अध्ययन तथा कार्यान्वयन गर्दै आईरहेको ।
• महानगर तथा वडा कार्यालयहरुले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने गरी कार्य भइरहेको र सोही बमोजिम महानगर अन्तर्गत पुल्चोकमा B-Block र लगनखेलमा C-Block निर्माण भैरहेको।वडा कार्यालयहरु मध्ये २४ वटा वडा कार्यालयहरु नयाँ तथा सुरक्षित रहेका छन भने वाँकी वडाहरुमा वार्षिक ३ देखि ४ वटा वडा कार्यालय बनाउने गरी वजेट विनियोजन तथा निर्माण गर्दै आईरहेको छ भने वडा कार्यालयहरु अपाङ्गता मैत्री बनेका छन।
• पैदलयात्रीहरुको सुरक्षाको लागि महानगर अन्तर्गत पैदल यात्रीहरुको चाप अनुसार पाटन अस्पताल तथा धोबिघाट चक्रपथमा आकाशे पुल निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन (DPR) अन्तिम चरणमा रहेका छन ।
• नख्खु खोला सौन्दर्यकरण तथा सुधार योजना तयार गरि कार्यान्वयन प्रक्रियामा रहेको ।
• सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्नको लागि अध्ययनका साथै सम्पदा पुनर्निर्माण लगायतका कार्यहरु समेत गर्दै आईरहेको ।
• ललितपुर महानगरपालिका जावलाखेल स्थित बाघद्वार (Tiger Gate) सडक विस्तारको क्रममा भत्काइएकोले त्यसको पुनर्निर्माण गरिएको ।
• सदर चिडिया घरमा अवलोकनका लागि आउने असक्त, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाको सहजताको लागि Shuttle Bus सञ्चालन गरिएको।
• Adopt an Animal अन्तर्गत सदर चिडिया घरमा रहेको महाराज बाघलाई महानगरपालिकाको तर्फबाट वार्षिक खाना खर्च Sponsor गरिएको।
• पुल सम्पदा, सभाहल, पार्किङ्ग व्यवस्थापन, पार्क निर्माण लगायत अन्य विषयमा केन्द्रीत रही विस्तृत अध्ययन प्रतिवेदन (DPR) सम्पन्न भई स्वीकृतिको प्रक्रियामा रहेको।
त. कानुन न्याय तथा सुशासन
• प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गर्दै जाने नीति अन्तर्गत काम भइरहेको। हाल सम्म १६ वटा वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको वाँकी वडाहरुमा क्रमश: स्थापना गरिदै जाने साथै मेलमिलाप सम्बन्धी तालिम प्रदान गरिएको।
• महानगरपालिकाको विस्तृत कार्य विवरण सहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) तर्जुमा भई स्वीकृतिको चरणमा रहेको।
• चालु आ.व. को नीति तथा कार्यक्रम अनुसार थप ५० जना नगर प्रहरी भर्ना गरी सोही दरवन्दी भित्रबाट वातावरण प्रहरी समेत व्यवस्था गरिएको। साथै नगरवासीको गुनासो सुन्नका लागि LMC Alert Apps सञ्चालनमा ल्याई गुनासो व्यवस्थापन गरिएको र "सुन्दर ललितपुर नगरीः घर घरमा नगर प्रहरी" भन्ने अवधारणा अनुसार सेवा प्रवाहको जानकारी, गुनासो सुनुवाई र कर सङ्कलनमा समेत सहजीकरण गर्न नगर प्रहरी परिचालन गरिएको।
• यस वर्षदेखि महानगरपालिकाका उच्च पदाधिकारी (कर्मचारी) हरु विच कार्यसम्पादन करार सम्झौता गरी पदाधिकारी (कर्मचारी) हरुलाई थप जिम्मेवार र जवाफदेही बनाईएको।
• महानगरपालिकामा र वडास्तरमा Digital नागरिक वडापत्रको व्यवस्था गरिएको।
• महानगरबाट गर्ने खर्चमा मितव्ययिता, पारदर्शिता कायम गर्न अधिकतम प्रयास गरिएको।
• कार्यालयबाट खरिद गरिने सेवा तथा वस्तुहरुको खरिदमा पारदर्शी र मितव्ययी बनाउन सम्भव भएसम्म E-biding गर्ने व्यवस्था मिलाईको।
थ. वित्तीय सुशासन तथा राजश्व असुलीः
• राजश्व असुलीलाई विद्युतीय प्रणाली मार्फत कर निर्धारण र भुक्तानीको व्यवस्था गरिएको।
• कर बुझाउन सरल र सहज बनाइएको।
• भुक्तानी प्रणाली Electronic Fund Transfer को माध्यमबाट भुक्तानी सुरु गरिएको।
• वेरुजु न्युनिकरणका लागि कार्य योजना बनाइ सो अनुसार कार्य गर्ने गरिएको
• लेखा समितिबाट नियमित अनुगमन भएको।
• सामुदायिक विद्यालयका लेखापालहरुलाई विद्यालयको लेखा सम्बन्धी २ दिने तालिम प्रदान।
• वडाका पदाधिकारी तथा महिला समूहलाई लेखा तथा बेरुजु फर्छ्यौट सम्बन्धी तालिम प्रदान।
• राजस्व असुलीमा यही असार १ गतेदेखि Sutra Revenue Module मा क्रमशःआवद्ध गरिएको।
द. भगिनी सम्बन्धः
• हालसम्म मकवानपुरको हेटौडा उप-महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, दोलखाको भिमेश्वर नगरपलिका, गुल्मीको मालिका गाउँपालिका र सल्यानको सारदा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरिएको।
• छिमेकी तथा भगिनी सम्बन्ध कायम भएका स्थानीय तहलाई वातावरण तथा सम्पदा सम्बन्धी परियोजना सहयोग गर्ने गरिएको।
• रसियाको उलान उदे नगर तथा अमेरिकाको Broomfield शहरसँग भगिनी सम्बन्ध कायम गर्ने सैद्बान्तिक स्वीकृती भई प्रक्रिया अगाडि बढिरहेको छ।
• यस विचमा महानगरपालिकाको विकास निर्माणमा सहयोग गर्न रुचि राखी भएको कोरियन, रसियन, जापानिज, चाईनिज Delegates ले गरेको महानगपालिकाको भ्रमणले दुवै देशका असल अभ्यासको आदान प्रदान र सहयोगको प्रतिवद्धता समेत प्राप्त भएकोछ।
• यस अवधिमा मेरो कोरिया, अमेरिका, भारत र बंगलादेश भ्रमणले पनि ललितपुर महानगरपालिकालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ भने तहाँको विकास निर्माण र सेवा प्रवाहमा भएका असल अभ्यासलाई यहाँ कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुगेको छ। यसै गरी उपप्रमुखबाट यस अवधिमा भएको जापान, कोरिया, चिन लगायतका वैदेशिक भ्रमणले समेत उतिकै सहयोग पु-याएको छ।प्रमुख तथा उपप्रमुखको वैदेशिक भ्रमणमा महानगरपालिकाबाट कुनै पनि सुविधा उपलब्ध नगराइएको।
• नेपालस्थित विश्व बैंकले हालै ललितपुर महानगर क्षेत्रमा दुइपाङ्ग्रे मोटरसाइकल प्रयोगको विग्रदो अवस्थालाई सुधार गर्न एकदिने अन्तर्राष्ट्रिय Strategic Workshop को आयोजना गरिएको।
यि सवै उपलब्धी हासिल गर्न यहाँहरुको सुझबुझपुर्ण व्यवहार, नगरवासीहरुको सहयोगबाट नै हो भन्ने मलाई लाग्छ।राजनितिक रुपमा हामी जहाँ भए तापनि ललितपुर महानगरको विकास र समृद्धि, सेवा प्रवाह र सुशासनका लागि हामी एकै छौं भन्ने भावनाले गर्दा पनि ललितपुर महानगरको Name & Fame राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर ज्यादै गरिमामय तथा ओजपूर्ण रहेको कुरा तपाई हामी सवैले महशुस गर्दै आएक छौं । आगामी दिनमा समेत हामी सवैको प्रयास र प्रयत्न यसैमा समर्पित हुनेछ भन्ने विशवास लिएको छु।
क. योजना तथा अनुगमन:
१. चालु आ.व. २०८०/८१ मा महानगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धी कार्य भईरहेकोले सो सम्पन्न भए पश्चात आवधिक योजना (Periodic Plan) बमोजिम मध्यमकालिन खर्च संरचना (MTEF) तयार गरी सोही अनुसार वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्ने व्यवस्था मिलाइनेछ।
२. महानगरपालिकाको "आयोजना बैंक" को कार्य भईरहेकोले आगामी आ. व. देखि सो बैंङ्कबाट आयोजना छनौट गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने परिपाटीको विकास गरिनेछ।
३. बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न "कार्यक्रम कार्यान्वयन कार्ययोजना" तथा "खरिद योजना" अनिवार्य तवरले तर्जुमा गरिनेछ।
४. स्वीकृत योजनाको कार्यान्वयन तथा प्रगति सम्बन्धमा त्रैमासिक समीक्षा गर्ने व्यवस्था अनिवार्य तवरले गरिनेछ।
५. कार्यविधि तर्जुमा गरी आयोजना/कार्यक्रमको नियमित अनुगमन गरिनेछ।आयोजना सम्पन्न भएपश्चात स्थानीय उपभोक्ता भेलाले अनुमोदन गर्ने व्यवस्था अनिवार्य तवरले गरिनेछ।
६. विगतमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भएका आयोजनाहरुको कार्यान्वयनलाई मध्यनजर गरी प्राथमिकताका साथ बजेट विनियोजन गर्ने व्यवस्था मिलाइनेछ।
७. आयोजनामा छुट्याइएको Contingency वापतको रकमको छुट्टै लेखा राख्ने र कार्यविधि तर्जुमा गरी परिचालन गर्ने व्यवस्था मिलाइनेछ।
८. महानगरपालिका भित्र विगत लामो समयदेखि अधुरा रहेका प्राविधिक, सामाजिक तथा आर्थिक हिसावले सम्भाव्य नरहेका योजनाहरुको लगत कट्टा गरिनेछ। यसका लागि पेश्की/आयोजना फछर्यौट कार्यदल गठन गरिनेछ।
९. महानगर क्षेत्र भित्र विगत आ.व. २०७४/७५ देखि २०७९/८० सम्म सम्झौता भई सञ्चालन भएका तर विविध कारणले सम्पन्न हुन नसकेका र प्रचलित कार्यविधि बमोजिम म्याद थप हुन नसक्ने आयोजनाहरुको हकमा सम्बन्धित उपभोक्ता समितिबाट मूल्याङ्कन गरी फर्छ्यौटका लागि निवेदन पेश हुन आएमा उक्त आयोजना जे जस्तो अवस्थामा छ सोही अवस्थामा मूल्याङ्कन गरी फर्छ्यौट गरिनेछ।
१०. महानगरपालिकाबाट चालु आ.व. २०८०/८१ मा सम्झौता भई सञ्चालन भएका तर विविध कारणले यस आ.व. मा सम्पन्न हुन नसकेका उपभोक्ता समिति मार्फत सञ्चालन भएका योजनाहरुको हकमा म्याद समाप्त भएको मितिले वढिमा एक बर्षसम्म म्याद थप गरिनेछ।
११. योजना सञ्चालनका लागि उपभोक्ता समितिले लागत सहभागिता बराबरको रकम महानगरपालिकामा दाखिला गरे पश्चात मात्र योजनाको सम्झौता गरिनेछ। पाटी-पौवा, मठ-मन्दिर, गुठी भवन, चोक, वही, विहार, महाविहार, चपा, गुम्बा, पोखरी, ढुङ्गेधारा, क्रियापुत्री भवन, पार्क, मसानघाट एवम् विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा, अपाङ्गतामैत्री फुटपाथ निर्माण सम्बन्धी योजनामा जनसहभागिताको अंश समावेश गर्नु नपर्ने नीतिलाई निरन्तरता दिईनेछ।
१२. निश्चित सूचक र प्राथमिकता बमोजिम ४०/६० प्रतिशत जनसहभागिताका आधारमा आयोजना निर्माण/सञ्चालन गरिने नीतिलाई निरन्तरता दिइनेछ।
१३. पूर्वाधार निर्माण सम्बन्धी आयोजनाको लागि महानगरपालिकाबाट दररेट निर्धारण गरी लागु गरिनेछ। सो बमोजिमको दररेट निर्धारण नभएसम्म सम्पदा सम्बन्धी आयोजनाको हकमा पुरातत्व विभागले निर्धारण गरेको दररेट र अन्य आयोजनाको हकमा जिल्ला दररेटलाई कार्यान्वयन गरिनेछ।
ख. सडक तथा यातायात:
१४. महानगर भित्रका सम्पूर्ण सडकहरुको जिम्मेवारी महानगरपालिकालाई स्रोत साधन सहित हस्तान्तरणका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग पहल गरिनेछ।
१५. कालोपत्र गरिने सडकहरुको गुणस्तर सुनिश्चितताको लागि प्रचलित कानून बमोजिम छनौट भएका परामर्शदाता परिचालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ। आगामी दिनमा Knowledge/Technology Transfer को माध्यमबाट आन्तरिक सक्षमता अभिवृद्धि गर्दै लगिनेछ।
१६. कालोपत्रे भएका नयाँ सडकहरु कम्तीमा २ वर्षसम्म खन्न स्वीकृती दिइने छैन। सडक विस्तार सहित Demarcation Wall विद्युत पोल सार्ने, ढल र खानेपानी लाइनको काम सम्पन्न भएपछि मात्र सडक कालोपत्रे (Asphalt Pavement) गर्ने योजना छनौट गरी ठेक्का लगाईनेछ। सडक आयोजनाहरु कार्यान्वयन गर्दा अन्तरनिकाय समन्वयलाई जोड दिइनेछ।
१७. सडकमा ढलान (Rigid Pavement Design) तथा इटा, ढुङ्गा र ब्लक छाप्ने कार्य गराउदा Ground Water Recharge को व्यवस्था मिलाइनेछ।
१८. सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य सम्भाव्यता पहिचान गरिएका स्थानहरुमा Vertical Parking सञ्चालन तथा व्यवस्थापन गरिनेछ । व्यक्ति विशेषले Vertical Parking व्यवस्थापन गरेको खण्डमा पहिलो ५ बर्ष सहुलियत दिने नीति लिइनेछ।
१९. प्राथमिकताका आधारमा महानगरभित्रका ८ मि. भन्दा कम चौडाइ भएका सडकहरुको मर्मत तथा Overlay सम्बन्धी कार्य क्रमशः कार्यान्वयन गर्दै लगिनेछ।
२०. सडकहरुमा अपाङ्गतामैत्री पैदलयात्री मार्ग (Disable Friendly Footpath) सहितको संरचना निर्माणलाई निरन्तरता दिइनेछ ।
२१. बढ्दो सवारी चापको व्यवस्थापन तथा पैदल यात्रीको सहजताका लागि ललितपुर चक्रपथ खण्ड र अन्य उपयुक्त स्थानहरुमा आकाशे पुल निर्माणको लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरिनेछ।
२२. धुलो रहित सडक व्यवस्थापनका लागि नख्खु खोला र अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइनेछ।
२३. टिपर लगायतका मालवाहक सवारी साधनहरुको आवागमन करिडोर (नख्खु, बागमती) हरुबाट मात्र सञ्चालन गर्न सम्बन्धित निकायमा समन्वय गरिनेछ।ठैब, हरिशिद्धि, धापाखेल लगायतका आवासीय क्षेत्रहरुबाट टिपर चलाउन नपाउने गरी समन्वय गरिनेछ।
२४. Cycle Lane निर्माणलाई निरन्तरता दिइनेछ।सडक सुरक्षा कार्यक्रम लागु गरिनेछ।
२५. कालोपत्रे भएका सडकहरुको नियमित मर्मत सम्भार (Pot-holes Repair, Patching works and overlay) को व्यवस्था मिलाइनेछ।
२६. सम्पदा प्रवेश क्षेत्र अन्तर्गतका सडक छेउमा रहेका भवनहरुलाई असर (पिचमाथि पिच थप्दा घरको कम्पाउण्ड भन्दा सडक अग्लो हुने समस्या) लाई मध्यनजर गरी सडकमा पिच गरिनेछ।
ग. भवन तथा पुलः
२७. सार्वजनिक ऐलानी पर्ति जग्गामा पूर्ववत सार्वजनिक प्रयोजनको भोगचलन गरेको संरचना वाहेक अन्य संरचना निर्माण गर्न नदिने नीति लिइनेछ।
२८. महानगरपालिकाले कार्यालय सञ्चालन तथा विस्तार गर्ने क्रममा आफ्नो स्वामित्व तथा लगानीमा निर्मित भवनहरु नै प्रयोग गर्ने नीतिलाई प्राथमिकता दिइनेछ। अत्यावश्यक बाहेक कार्यालय सञ्चालनका लागि भवन भाडामा लिईने छैन।
२९. महानगरपालिकाद्वारा निर्माण हुने पूर्वाधार निर्माण सम्बन्धी कार्यको गुणस्तर परीक्षणको लागि आफ्नै इन्जिनियरिङ्ग प्रयोगशाला (Engineering Laboratory) सञ्चालन तथा व्यवस्थापन अथवा इन्जिनियरिङ्ग अध्ययन संस्थानसँग सहकार्य गरी गुणस्तरको सुनिश्चिताको प्रवन्ध मिलाइनेछ।
३०. सबै वडाहरुमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिइनेछ। निर्मित शौचालयहरुको सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै प्रवन्ध मिलाइनेछ।
३१. सैंबु, भैसेपाटी, बुङ्गमती, खोकना, सुनाकोठी, धापाखेल र हरिसिद्धि लगायत क्षेत्रका खोलाहरुमा पुल निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
३२. महानगरपालिका क्षेत्रभित्र सार्वजनिक निजी साझेदारी कार्यक्रम मार्फत सञ्चालन गर्न सकिने पूर्वाधार सम्वन्धी आयोजनाहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।
३३. भूकम्प पश्चात जीर्ण भएका ऐतिहासिक दरबार तथा भवनहरुको पहिचान गरी प्रवलीकरण सम्बन्धी विस्तृत अध्ययन गर्नको लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग समन्वय गरिनेछ।
३४. वडा भवन निर्माण हुन बाँकी रहेका वडाहरुको हकमा आवश्यक प्रवन्ध गरी भवन निर्माण र अन्य संरचना निर्माण तथा पुननिर्माण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ।
३५. महानगरपालिकाबाट निर्माण हुने सबै संरचना अपाङ्गतामैत्री हुने व्यवस्था मिलाइनेछ।
३६. महानगरपालिका भित्र निजी, सामुदायिक तथा सरकारी संरचना निर्माण गर्दा सडकपेटी (Footpath), वोटविरुवा नासिन गएमा त्यस्तो नासिएको संरचना पूर्ववत रुपमै कायम गर्न लगाएर मात्र निर्माण सम्पन्नताको प्रमाणपत्र दिने नीति कार्यान्वयनमा ल्याइनेछ । कुनै पनि निर्माण कार्य गर्दा तहाँ रहेका रुख विरुवाहरुलाई कुनै क्षति हुन नदिने व्यवस्था गरिनेछ।
३७. महानगरपालिकाको आफ्नै सभाहल निर्माणका लागि आवश्यक व्यवस्था मिलाइनेछ।
घ. खानेपानी तथा ढल व्यवस्थापन:
३८. खानेपानीका मुहानहरुको संरक्षण, विकास र समुचित प्रयोगका लागि अन्तरपालिका तथा सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा स्रोतको पहिचान, संरक्षण र प्रवर्द्धनको व्यवस्था मिलाइनेछ।
३९. परम्परागत पानीका मुहानहरु ढुङ्गेधारा, कुवा, इनार, पोखरी जस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिइनेछ।Groundwater Recharge लाई अभियानको रुपमा अगाडि बढाइनेछ।निजी जग्गामा रहेका पानीका मुहानहरु संरक्षणका लागि त्यस्ता जग्गाहरु महानगरपालिकाले आवश्यक प्रक्रिया पुरा गरी अधिग्रहण गरी मुहान संरक्षण गरिनेछ।
४०. सिस्नेरी खोलाको पानीलाई ललितपुरमा ल्याउने सम्बन्धमा सम्बद्ध निकायहरुको समन्वयमा आवश्यक गृहकार्य गरी कार्यान्वयन गरिनेछ।
४१. प्रत्येक घरमा स्वच्छ खानेपानीको पहुँच पुर्याउने तथा पानीको वितरण प्रणालीलाई व्यवस्थित गर्ने नीतिलाई निरन्तरता दिइनेछ। खेर जाने पानीको उचित व्यवस्थापनका लागि Underground Tank बनाउन अध्ययन गरिनेछ।
४२. पैदल यात्रुहरुलाई शुद्ध पिउने पानीको व्यवस्थाका लागि आवश्यकता अनुसार उपयुक्त स्थानमा विश्रामस्थल र Water ATM को व्यवस्थापन गरिनेछ।
४३. परम्परागत राजकुलो, जलमार्गलाई पुनर्जीवित गर्नको लागि अध्ययन गरिनेछ। परम्परागत राजकुलोलाई टिकाभैरवदेखि लगनखेलसम्म ल्याउनको लागि मुहानको पानी स्रोत विस्तार लगायतका थप कार्यहरु गरिनेछ।
४४. महानगरपालिकामा रहेका ढल तथा मंगालको सर्वेक्षण तथा लगत तयार गरी Digitization गर्ने तथा Sewerage Network Inventory तयार गर्ने कार्यलाई निरन्तरता दिइनेछ।ढल निर्माण तथा मर्मत कार्यलाई प्राथमिकता दिइनेछ। ढल निकासको सम्बन्धमा अन्तरपालिका समन्वय गरिनेछ।
४५. ढल विस्तार गर्दा पानीका स्रोतमा असर नपर्ने गरी निर्माण गर्ने नीतिलाई कडाईका साथ लागु गरिनेछ।
ङ. संपदा संरक्षणः
४६. पुरातात्विक संरचना, देवालय, शिवालय, मठ, मन्दिर, विहारमा प्रयोग हुने काठ, ढुङ्गा, माटो एवम् धातुबाट तयार गर्नुपर्ने विभिन्न कलात्मक वस्तुको प्रदर्शनी कक्ष स्थापना गरिनेछ ।
४७. महानगर क्षेत्र भित्र रहेका सिल्पकला, काष्ठकला, धातुकला, प्रष्तरकलासँग सम्वन्धित श्रमिकहरुको लगत "श्रम बैंक" को रुपमा तयार गरी सम्पदा संरक्षणका आयोजनाहरुमा परिचालन गर्ने व्यवस्था मिलाइनेछ।
४८. सम्पदा अन्तर्गत दह, ताल, पोखरी पुननिर्माण र ढुङ्गेधाराहरुको स्रोत व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिईनेछ। नागदह संरक्षण गर्न आवश्यक्ता अनुसार जग्गा अधिग्रहण गर्दै जाने नीति लिइनेछ।
४९. सम्पदाहरुको अभिलेख तयार गरी संक्षिप्त विवरण सहित प्रत्येक सम्पदाहरुमा परिचय पाटी राख्ने व्यवस्थालाई निरन्तरता दिइनेछ। महानगरपालिकाद्वारा संरक्षण गरिएका सम्पदा पोखरी, बगैचा लगायतका सम्पदाहरुको विवरण सहितको स्मारिका Journal प्रकाशन गरिनेछ।
५०. विश्व सम्पदा क्षेत्र, संरक्षित स्मारक क्षेत्र, संरक्षित उपक्षेत्र र तोकिएका पर्यटक पदमार्गको दायाँ बायाँ निर्माण वा पुननिर्माण हुने आवासीय भवनहरु पुरातात्विक मापदण्ड पुरा गरी निर्माण गर्न प्रोत्साहित गरिनेछ। विश्व सम्पदा क्षेत्र भित्र भवन संहिता नियम पालना गरी निर्माण भएका घरहरुको सम्पति कर मिनाहा गरिनेछ।
५१. ऐतिहासिक र पुरातात्विक सम्पदाहरुको अभिलेखिकरण गर्ने कार्यलाई विशेष महत्व दिइनेछ। सम्पदा अतिक्रमणलाई निरुत्साहित गर्ने नीतिलाई निरन्तरता दिइनेछ। महानगरमा भएका ढुङ्गेधाराहरुको वडा स्तरबाटै लगत अध्यावधिक गरिनेछ ।
५२. श्री रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने रुटमा बनेका संरचनाहरुमा एकरुपता कायम गरी आवश्यक सुरक्षा सहितको सौन्दर्यीकरणका लागि अध्ययन गराइनेछ।
५३. वि.सं. १९९० सालको महाभुकम्प पश्चात पुननिर्माण नभएका मन्दिरहरु निर्माण गर्न पहल गरिनेछ।
५४. सम्पदाको पुननिर्माण सम्वन्धी योजना सञ्चालन गर्दा स्थानीय समुदाय, स्थानीय श्रम, सिप र प्रविधिलाई प्राथमिकता दिइनेछ।
५५. यस महानगरपालिकाको खोकना, बुङ्गमती, हरिसिद्धि र सुनाकोठी क्षेत्रलाई सांस्कृतिक एवम पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरी उक्त क्षेत्रहरुको ऐतिहासिकता संरक्षण गर्ने नीति लिइनेछ।
५६. महानगरपालिका भित्र रहेका सिप, कला, संस्कृति, सम्पदाको संरक्षणका लागि "महानगरीय संस्कृति, कला संरक्षण तथा अध्ययन केन्द्र" स्थापनाका लागि अध्ययन गरिनेछ।
५७. पुरातात्विक संरचनाको लागि आवश्यक काठ सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालय वा सो अन्तर्गतको नेपाल वन निगम लिमिटेडबाट उपलव्ध गराउन आवश्यक पहल गरिनेछ। उपलब्ध हुन नसकेमा स्थानीयबाट प्रचलित दररेटमा खरिद गर्ने नीति लिइनेछ।
५८. सम्पदा संरक्षण, हस्तकला र पर्यटन प्रवर्द्धन कार्यको लागि भगिनि सम्बन्ध कायम भएका विदेशी स्थानीय तह लगायत नेपालस्थित कुटनीतिक नियोगसँग समन्वय र सहकार्य गरिनेछ।
च. नगर गौरव आयोजनाः
५९. सप्तपाताल र पलेस्वा पोखरी निर्माण तथा पुनर्भरण कार्यलाई निरन्तरता दिईनेछ । साथै पोखरी भर्ने प्रयोजनार्थ निर्माण गरिने राजकुलो निर्माण सम्बन्धमा गोदावरी नगरपालिकासँग समेत समन्वय तथा सहकार्य गरिनेछ ।
६०. नख्खु खोला सौन्दर्यकरण तथा सुधार योजना लगायत अन्य क्षेत्र समेतको व्यवस्थित शहरीकरणका लागि जग्गा एकीकरण कार्यक्रम (Land Pooling) को सम्भाव्यता अध्ययन (Feasibility Study) तथा विस्तृत अध्ययन प्रतिवेदन (Detailed Project Report) गरि कार्यान्वयन गरिनेछ ।
६१. सार्वजनिक पार्क, पोखरी लगायत Transparent Green Fence निर्माण कार्यलाई निरन्तरता दिईनेछ।
छ. शहरी व्यवस्थापन तथा विकासः
६२. भवन निर्माण मापदण्ड, नक्सापास कार्यविधि, भवन अभिलेखिकरण र प्रवलीकरण कार्यविधि तर्जुमा गरिनेछ । नक्सा पासमा समावेश नभएका तर पछि निर्माण भएका पर्खालहरुको वडास्तरबाट अनुगमन गरी प्राप्त प्रतिवेदनका आधारमा आवश्यक कार्वाही गरिनेछ।
६३. भवन निर्माण मापदण्ड र भवन संहिता पालनाका लागि गरिने अनुगमनलाई थप प्रभावकारी बनाइनेछ। साथै मापदण्ड र संहिता पालना सम्वन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
६४. सार्वजनिक जग्गाको लगत सङ्कलन तथा सिमाङ्कन गरी सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरिनेछ। सम्पदा संरक्षणका लागि जग्गा अधिग्रहण गर्ने नीति लिइनेछ ।
६५. पुरानो शहरी क्षेत्रमा सम्भव भए मात्र र सो वाहेकका अन्य क्षेत्रमा Septic tank, Soak pit, Ground Recharge pit, Fire Extinguisher र कम्तीमा २ वटा रुख भएमा मात्र निर्माण सम्पन्न प्रमाणपत्र दिने नीति लागु गरिनेछ ।
६६. नक्सा पासमा प्रयोग हुदैं आएको EBPS प्रणालीमा सुधार गर्दै Less-paper work प्रविधि अवलम्वन गरिनेछ ।
६७. Metric Addressing System आधारित घर नम्वर वितरणलाई निरन्तरता दिइनेछ।सडकको नामाङ्करण सम्बन्धमा सम्बन्धित वडाको समन्वयमा पुनरावलोकन गरिनेछ।
६८. महानगर क्षेत्रभित्र १४ मिटर र सो भन्दा माथिका Right of way (ROW) भएका सडकले छोएका जग्गामा निर्माण हुने मापदण्ड बमोजिमका सार्वजनिक, निजी तथा व्यापारिक भवनहरुले अनिवार्य रुपमा भुमिगत पार्किङ्गको व्यवस्था गर्नु पर्ने नीतिलाई निरन्तरता दिईनेछ।
६९. Double Basement Structure निर्माण गर्दा संधियार तर्फको र अन्य जोखिममा हुनसक्ने संरचनाहरु समेतको बीमा (अस्थाई ईजाजत पत्र पूर्व कागजात पेश गर्नुपर्ने) अनिवार्य गर्नु पर्ने व्यवस्था गरिनेछ र साथै संधियार तर्फको सेट व्याक ३ मीटर हुनुपर्ने र सेट व्याकमा कुनै किसिमको निर्माण कार्य गर्न नपाईने व्यवस्था लागु गरिनेछ।
७०. शहरी सौन्दर्यिकरण, व्यवस्थित सडक, चोक, गल्ली तथा सुरक्षित Community Hub को लागि आवश्यक प्रवन्ध गरिनेछ। अव्यवस्थित तारहरुलाई सरोकारवाला निकायले भूमिगत गर्नु पर्ने र सोको लागि महानगरपालिकाबाट आवश्यक समन्वय गरिने व्यवस्थालाई निरन्तरता दिइनेछ।
७१. विद्यमान GLD तथा Land Use Map लाई Digital प्रविधिमा समेत क्रमशः अध्यावद्यिक गर्दै लगिनेछ। GLD मा परेका गुठीको जग्गाको सम्बन्धमा आवश्यक समन्वय गरिनेछ। साथै GLD मा परेको बाटो खोल्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाइनेछ।
७२. महानगरपालिकामा नयाँ निर्माण, मर्मत वा प्रवलीकरण हुने भवनहरुमा उर्जा खपत कम गरी भवनलाई उर्जा प्रभावकारी बनाउन र जलवायू अनुकुल डिजाइनलाई प्रोत्साहनको लागि भवन मापदण्डमा आवश्यक सुधार वा परिमार्जन गरी नक्शा पास प्रक्रियामा समेत समावेश गर्ने व्यवस्था लागू गरिनेछ। साथै यस सम्बन्धमा क्षमता विकास तथा सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
७३. निजी क्षेत्रबाट सार्वजनिक सुविधाका लागि Parking व्यवस्थापन सम्वन्धमा उपयुक्त प्रस्ताव आएमा नक्शा पासमा सहजीकरण र दस्तुरमा छुट प्रदान गरिनेछ ।
७४. ललितपुर महानगरपालिका भित्र जिर्ण अवस्थामा रहेको टेका लगाएका घरहरुको तथ्याङ्क सङ्कलनका साथै थप अध्ययन गरिनेछ।
७५. संरक्षित उपक्षेत्रहरुको पहिचान र मान्यता विपरित भएका भवन निर्माणलाई नियन्त्रण गर्न प्राविधिक सहितको टोली परिचालन गरिनेछ ।
७६. सम्पदा क्षेत्र घरहरुको ऐतिहासिकता, वास्तुकलाका साथै कलात्मक स्वरुप खण्डित नभएका भवनहरुको सूचीकरण तथा ग्रेडिङ्ग गरी बहुमूल्य सम्पत्तिको रुपमा संरक्षणका लागि अध्ययन गरिनेछ। साथै यस्ता भवनहरुको संरक्षणको लागि महानगरपालिकाले सहयोग गर्ने नीति अवलम्वन गरिनेछ।
७७. खोकनामा रहेको नेपालमा सवैभन्दा पहिलो विजुली बलेको घरको संरक्षण तथा व्यवस्थापन गरी पर्यटन प्रवर्द्धनमा समेत आवद्ध गरिनेछ।
७८. महानगर क्षेत्रभित्रका जग्गा र बाग्मती करिडोर क्षेत्रको पुनः नापी गरी हालसाविक गर्ने प्रक्रियालाई यथाशिघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ। साथै निजी जग्गाबाट खुलेका बाटोहरुको अभिलेखाङ्कन गरी त्यस्ता बाटोले ओगटेका जग्गाहरुको लगत कट्टा गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ।
७९. सडकहरुको सुरक्षार्थ Smart Street Light, High Masts र CCTV जडान गर्ने व्यवस्था क्रमशः कार्यान्वयन गर्दै जाने नीतिलाई निरन्तरता दिइनेछ।
ज. विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनः
८०. विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन नियमावली तथा अन्य कार्यविधिहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ। विपद व्यवस्थापन कोषको व्यवस्थालाई निरन्तरता दिइनेछ।
८१. विपद् व्यवस्थापनसँग सम्वन्धित सेवालाई छिटो छरितो एवम् द्रुत रुपमा सेवा प्रवाह गर्न महानगरपालिका स्थित DRR Center को समन्वयमा रहने गरी विभिन्न स्थानमा DRR Sub Center स्थापना र सञ्चालन गर्दै लगिनेछ ।
८२. स्थानीय आपतकालिन सञ्चालन केन्द्र (MEOC) लाई प्रभावकारी रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाईनेछ। विपद् व्यवस्थापन कार्यमा पुर्व चेतावनी (Early Warning) प्रणालीको थालनी गरिनेछ।
८३. विपद् व्यवस्थापन कार्यमा श्रोत, साधन, जनशक्ति सूचना संयन्त्रलाई समन्वयात्मक रुपमा एउटै छानामुनि (Under One Roof System) २४ घण्टा नै सेवा दिनेगरी आवश्यक व्यवस्था गरिनेछ।
८४. जुद्धवारुण यन्त्रको स्तरोन्नति एवम् शाखा विस्तार गरी यसमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि गरिनेछ। दमकल पुग्न नसक्ने स्थानमा वैकल्पिक उपायहरु (Portable Fire Pump समेत) को व्यवस्था गरिनेछ । घना वस्तीहरुमा आगलागीका घटना तत्काल नियन्त्रण गर्न भूमिगत पानी ट्याँकी Fire Hydrant निर्माणलाई प्राथमिकता दिइनेछ ।
८५. स्थानीय विपद् उत्थानशील कार्यढाँचा (Local Disaster Resilience Framework-LDRF) लाई प्राथमिकताका साथ अगाडी बढाइनेछ ।
८६. विपद् व्यवस्थापनको क्षेत्रमा सरोकारवाला निकायहरु (सेना, प्रहरी, सशस्त्र प्रहरी, सरकारी तथा गैरसरकारी संघ संस्थाहरु तथा अस्पताल) सँग समन्वय र सहकार्य गरिनेछ ।
८७. पर्यटकीय क्षेत्रमा Disaster Evacuation Route सञ्चालन गरिनेछ ।
८८. विपद् व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित वनाउन Information Education Communication (IEC) Strategy अवलम्बन गरिनेछ ।
८९. विपद् व्यवस्थापन कार्यमा संलग्न जनशक्तिलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षणको व्यवस्था मिलाइनेछ। साथै विपद् व्यवस्थापन सम्वन्धी तालिम, गोष्ठी, सचेतनामूलक कार्यक्रम, अध्ययन अवलोकन भ्रमण, कृतिम घटना अभ्यास (Drill) लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
९०. भुकम्प सुरक्षा दिवस, विद्युत सुरक्षा दिवस, वातावरण दिवस, लगायतका दिवसहरु मनाउदा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी मनाइने कार्यलाई निरन्तरता दिइनेछ । साथै सडक दुर्घटना न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
९१. ललितपुर महानगरपालिका कार्यालय भवन, वडा कार्यालय भवन लगायत विपद् सम्वद्ध कार्यालयहरुमा Emergency Evacuation & Response Plan तयार गरी लागु गरिनेछ ।
९२. विपद् व्यवस्थापनमा विमा कार्यक्रमलाई आवद्ध गर्न आवश्यक अध्ययन गरिनेछ ।
९३. विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण सम्बन्धी व्यवस्था, उपलब्धि र चेतनामूलक सामाग्री सहितको विपद् पुस्तिका प्रकाशनलाई निरन्तरता दिइनेछ ।
९४. वडा कार्यालयहरुमा विपद् खोज तथा उद्धारका सामाग्रीहरुको भण्डारणलाई थप गर्दै व्यवस्थित गरिनेछ ।
९५. विपद्को समयमा प्रयोग गर्न सकिने खुला क्षेत्र तथा भवनहरुको पहिचान गरी सहज आश्रयस्थलको रुपमा उपयोग गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ ।
९६. आगलागीको तथ्याङ्क हेर्दा विद्युतीय गडवडी, ग्यास लिकेज लगायतका कारणवाट हुने गरेको पाइएकोले यसको रोकथामका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
९७. पहिरो, भूक्षय, नदि कटान, जमिन भासिने लगायतका विपद् जोखिम क्षेत्रको पहिचान तथा नक्शाङ्कन गर्ने कार्यलाई अगाडी बढाइने ।
९८. विद्यालय स्तरमा विपद् व्यवस्थापन कार्यक्रमहरुलाई महत्वका साथ लागु गरिनेछ। Disaster Learning Center लाई आवश्यक सहयोग गरिनेछ ।
झ. वन तथा वातावरण व्यस्थापन
९९. काठमाण्डौ उपत्यकाको वायु प्रदुषण नियन्त्रण तथा रोकथामको लागि USAID बाट सञ्चालित “स्वच्छ हावा परियोजना” लगायतका सरोकारवालाहरुसँगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गरिनेछ। वायु प्रदुषण काठमाण्डौ उपत्यकाका साझा समस्या भएकोले काठमाण्डौ उपत्यकाका अन्य स्थानीय तह, सङ्घीय सरकार तथा प्रदेश सरकारसँगको सहकार्यमा नियन्त्रण तथा रोकथामका लागि पहल गरिनेछ ।
१००. जलवायु परिवर्तन अनुकुलन, वायु गुणस्तरमा सुधार तथा हरित नीति तर्जुमा गर्न विज्ञ सहितको समिति गठन गरिनेछ। जलवायु परिवर्तन अनुकुलन, वायु गुणस्तरमा सुधार लगायतका वातावरण संरक्षण तथा सुधारका कार्यक्रमहरु सञ्चालन गरिनेछ।
१०१. “हरियाली हाम्रो नगर कार्यक्रम” अन्तर्गत सबै वडासँग समन्वय गरी वडामा वृक्षारोपण गर्न सकिने क्षेत्रफल र विरुवाको प्रकार अध्ययन गरी संरक्षणको ग्यारेन्टी सहितको वृक्षारोपण कार्यक्रम सम्पादन गरिनेछ ।हरेक बर्ष कम्तीमा एक हजार बोट बिरुवा बृक्षारोपण गर्ने नीति अन्तर्गत व्यावसायिक सामाजिक उत्तरदायित्व लागु गरी निजीक्षेत्रको सहकार्यमा महानगरपालिकाले तोकेको स्थान र प्रजातिको विरुवा बृक्षारोपण गर्ने व्यवस्था मिलाइनेछ। सडकको दाँया बाँया, नदी किनारा र भुक्षय हुने स्थानमा बृक्षारोपण विरुवाका सम्बन्धमा विशेष नीति लिइनेछ। बागमती करिडोरमा रहेका पार्कहरुको सत्तरोन्नती र संरक्षण गर्दै लगिनेछ।
१०२. नवीकरणीय उर्जा प्रवर्द्धन तथा प्रोत्साहन गर्ने नीति लिइनेछ। नगर क्षेत्रभित्र विघुतीय सवारी साधन परिचालन तथा साइकल लेन निर्माण, साइकल स्टैण्डको व्यवस्था तथा साइकल साझेदारी सम्बन्धी कार्यक्रम ल्याइनेछ।
१०३. आकाशेपानी पुःनभरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।ढलको फोहर पानी, दिसाजन्य लेदोको प्रशोधनका लागि प्रशोधन केन्द्र स्थापनालाई प्राथमिकता दिइनेछ। अस्पताल र उद्योगहरुबाट उत्सर्जन हुने हानिकारक फोहर सिधै ढलमा मिसाउन नपाउने नीति लिइनेछ।
१०४. ४० माइक्रोनभन्दा कमका प्लाष्टिकका झोला/प्लाष्टिकका फूलहरुको प्रयोगलाई निरुत्साहित गरिनेछ। विकल्पको रुपमा फाइबर/कागज/कपडा लगायतका वातावरण मैत्री सामाग्रीका झोला उत्पादनका लागि आवश्यक व्यवस्था मिलाइनेछ।साथै विस्कुट, चाउचाउ, गुट्काका खोलहरु जथाभावी फ्याँक्न नदिने गरी व्यवस्था मिलाइनेछ।
१०५. वायु प्रदुषण कम गर्न पेट्रोल/डिजेल सवारी साधनलाई विद्युतीय सवारी प्रतिस्थापन गर्ने कार्यलाई प्रोत्साहित गरिनेछ। महानगरपालिकाका सवारी साधनमा समेत यो नीति लागु गर्न आवश्यक व्यवस्था गरिनेछ। विद्युतीय सवारी साधन (Electric Vehicle) प्रयोग गर्ने ललितपुर बासिले सम्पति कर छुट माग गरेमा ५% सम्पति कर छुट दिइनेछ।
१०६. उपयुक्त स्थानहरुमा प्रदुषण मापन यन्त्र जडान र अनुगमनको व्यवस्था मिलाइनेछ।महानगर भित्र खुला आगो (Open Fire) बाल्न निषेध गरिनेछ।
१०७. अपार्टमेण्ट, हाउजिङ्ग, व्यापारिक भवन जस्ता ठुला भवनको निर्माण गर्दा अनिवार्य रुपमा Environmental Impact Assessment (EIA)/Brief Environment Study (BES)/ Initial Environmental Examination (IEE) गर्नु पर्ने नीति लागु गरिनेछ।
१०८. वातावरण प्रहरीलाई वातावरण प्रदुषण नियन्त्रण सम्बन्धी कार्यका लागि परिचालन गरी थप क्षमता विकास र साधन स्रोतयुक्त बनाइनेछ।
ञ. सरसफाई तथा फोहरमैला व्यवस्थापनः
१०९. महानगर क्षेत्रभित्रबाट दैनिक फोहरमैला उत्पादन तथा उत्पादन हुने क्षेत्र वृद्धिको व्यवस्थापनका लागि अस्थायी ट्रान्सफर स्टेशन उपयुक्त स्थानमा स्थानान्तरण सम्बन्धमा अध्ययन गरिनेछ।
११०. फोहरमैला वर्गीकरण प्लान्ट र कम्पोष्ट प्लान्टको सम्बन्धमा अध्ययन गरिनेछ।
१११. फोहरमैला श्रोतमा नै व्यवस्थापन, वर्गीकरण, कम्पोष्टिङ्ग तथा पुनःप्रयोगमा ल्याउन सकिने विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।यस सम्बन्धी विषयलाई विद्यालयस्तर अध्ययन तथा अध्यापन गराउने व्यवस्था मिलाइनेछ।
११२. मृत चौपाया, बेवारिसे लास व्यवस्थापनको लागि क्रियाशिल संघसंस्थाहरुसंगको सहकार्यलाई निरन्तरता दिइनेछ।
११३. Incineration Plant स्थापना गर्न आवश्यक पर्ने जग्गा, जनशक्ति क्षमता तथा पूर्वाधार सम्बन्धी विस्तृत अध्ययन गरी सम्भाव्य स्थानमा Incineration Plant स्थापना गरिनेछ ।
११४. महानगरभित्र विभिन्न स्थानमा फोहरमैला अव्यवस्थित थुपार्ने, रातिको समयमा फोहर फाल्ने कामलाई निरुत्साहित गर्न CCTV जडान गरी अनुगमन गरिने र नगर प्रहरीहरुबाट अनुगमन गर्ने व्यवस्था मिलाइनेछ।साथै महानगरद्वारा सञ्चालित LMC Alert Apps को प्रयोगलाई प्रभावकारी बनाउँदै लगिनेछ।
११५. नगरपालिकाको कार्यालय, शाखा, महाशाखा, इकाई तथा वडा कार्यालयहरुमा फोहरमैला वर्गीकरणका लागि छुट्टा छुट्टै विनहरु राख्ने कार्यको सुरुवात गरिनेछ।
११६. फोहरमैला व्यवस्थापनमा प्रयोग हुदैं आएका पुराना प्रविधिका उपकरण तथा साधनहरुलाई आधुनिक प्रविधिका उपकरण तथा साधनहरुद्वारा विस्थापित गर्दै लगिनेछ ।
११७. फोहरमैला व्यवस्थापनमा प्रयोग हुने सवारी साधन ( ब्रुमर, ट्रिपर, मोबाईल शौचालय, जेटिङ्ग मेशिन तथा कम्प्याक्टर) हरुको लागि यान्त्रिक कार्यशालाको प्रवन्ध गरिनेछ।
११८. वडाहरुबाट नै सरसफाई तथा फोहरमैला संकलन गर्नका लागि आवश्यक जनशक्ति र उपकरण परिचालनको व्यवस्था गरिनेछ । वडा सत्तरबाट नै Dustbin खरिद तथा वितरण गर्ने व्यवस्था मिलाइनेछ।
११९. फोहरमैला न्यूनिकरण गर्न श्रोतमै कुहिने नकुहिने छुट्याउन फोहरमैला वर्गीकरण कार्यक्रम ललितपुर महानगरपालिकामा आवद्ध भएका महिला समूहहरुलाई अधिकतम परिचालन गर्ने व्यवस्था गरिनेछ। सो कार्यको लागि आवश्यक पर्ने प्लाष्टिकका बाल्टिन र कम्पोष्ट बिन सहुलियत दरमा सम्बन्धित वडा कार्यालयहरुबाट नै वितरण गर्ने व्यवस्था मिलाईनेछ ।
१२०. सरसफाई तथा फोहरमैला क्षेत्रमा कार्यरत कर्मचारीहरुको लागि स्वास्थ्य बिमा वापतको रकम महानगरपालिकाले व्यहोर्ने व्यवस्था गरिनेछ ।
ट. शिक्षाः
१२१. ललितपुर महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गरिनेछ।
१२२. महानगर अन्तर्गत सञ्चालित कम्तीमा दुईवटा सामुदायिक विद्यालयलाई “क” श्रेणीको विशेष सुविधायुक्त विद्यालय वा अन्य संस्थागत विद्यालयसँगको सहयोग तथा सहकार्यमा कार्यविधि बमोजिम नमूना विद्यालयको रुपमा सञ्चालन गरिनेछ।
१२३. ललितपुर महानगरपालिका क्षेत्र भित्र सञ्चालित बालविकास केन्द्रहरुको नक्साङ्कन गरी वालविकास केन्द्रलाई एकिकरण तथा सुदृढीकरण गरिनेछ। संस्थागत विद्यालयसँगको सहयोग तथा सहकार्यमा महानगर भित्रका कम्तीमा पाँचवटा बाल विकास केन्द्रहरु (सञ्चालित/नयाँ) लाई कार्यविधि बमोजिम नमूना बाल विकास केन्द्रको रुपमा सञ्चालन गरिनेछ। वालविकास केन्द्रका लागि आवश्यक सामग्री खरिद तथा व्यवस्थापनका लागि अनुदानको व्यवस्था मिलाइनेछ।
१२४. विद्यालय सञ्चालन तथा व्यवस्थापनका लागि अनुदानको व्यवस्था निरन्तरता दिनुका साथै विद्यालय स्तरीय परीक्षाहरुलाई एकिकृत शैक्षिक क्यालेण्डरका आधारमा सञ्चालन गरिनेछ।
१२५. महानगर अन्तर्गत सञ्चालित विद्यालयहरुमा हरित विद्यालय तथा विद्यालय बगैचा कार्यक्रम सञ्चालन गरिनेछ। यसरी सञ्चालित कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयहरुका बीच छुट्टा छुट्टै प्रतिष्पर्धा गराइ पुरस्कृत गरिनेछ।
१२६. विद्यार्थीको सिकाइमा अभिभावकहरूको प्रत्यक्ष संलग्नता रहने हुँदा अभिभावक शिक्षा कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिनेछ। साथै शैक्षिक सत्रको सुरुवातमा भर्ना अभियान कार्यक्रम सञ्चालन गरिनेछ।
१२७. विद्यालयहरुमा प्रत्येक शुक्रवारका दिन सञ्चालन गर्ने अतिरिक्त क्रियाकलाप तथा सहक्रियाकलापलाई योजनावद्धरुपमा सञ्चालन गर्दै महानगरस्तरीय प्रतिष्पर्धा गराउने व्यवस्था गरिनेछ।
१२८. शैक्षिक सत्र २०८० को परीक्षाको नतिजालाई आधारवर्ष मानी लक्ष्यमा आधारित सिकाइ सुधार गर्दै जाने नीति अवलम्वन गरिनेछ।
१२९. महानगरको आवश्यकतालाई मध्यनजर गर्दै प्राविधिक जनशक्तिको उत्पादन, विकास र विस्तार गर्न महानगरपालिकाको लगानीमा एक सामुदायिक विद्यालयलाई प्राविधिक धार कक्षा ९-१२ को विद्यालयका रुपमा विकास गरिनेछ।
१३०. विद्यालय र विद्यार्थीहरुको सम्पदा संरक्षणमा प्रत्यक्ष भूमिका रहने गरी एक विद्यालय एक सम्पदा संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ। सम्पदा संरक्षणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने विद्यालयलाई पुरस्कृत गरिनेछ।
१३१. महानगरपालिका अन्तर्गतका विद्यालयहरुको नियमित अनुगमन तथा निरीक्षण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रविधिमा आधारित डिजिटल अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गरिनेछ।
१३२. सामुदायिक विद्यालयहरुमा भौतिक सुविधा विस्तार कार्यक्रम (कक्षाकोठा, शौचालय, हल तथा घेरावारा आदि) अन्तर्गत नयाँ निर्माण तथा मर्मत सम्भार गरिनेछ।
१३३. सामुदायिक विद्यालय तथा समुदायमा आधारित बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको पारिश्रमिक नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकमा नघट्ने गरी प्रदान गर्दै आएको नीतिलाई निरन्तरता दिइनेछ ।
१३४. सामुदायिक तथा संस्थागत विद्यालयहरु कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयसँगको समन्वयमा योजनावद्ध वृत्ति विकासका लागि विद्यालयहरुमा वृत्ति मार्गनिर्देशन कार्यक्रम सञ्चालन गरिनेछ।
१३५. स्थानीय, ऐतिहासिक, परम्परागत स्थलहरु, सम्पदा, संस्कृति, रहनसहन, खानपान, सिपलाई प्रोत्साहन गर्न आवश्यक पाठ्यक्रम तर्जुमा र व्यवहारिक शिक्षामा जोड दिने नीति अवलम्बन गरिनेछ।
१३६. परम्परागत, ऐतिहासिक, सम्पदा, संस्कृति तथा रहन सहनलाई समावेश गरी अगामी शैक्षिक सत्र देखि कक्षा ४ र ५ मा समेत स्थानीय पाठ्यक्रम (नेपाल भाषा) कार्यान्वयनमा ल्याइनेछ । यसका लागि छनौट भै विद्यालयहरुमा कार्यरत जनशक्तिहरुलाई नै परिचालन गरिनेछ।
१३७. नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा विद्यालयको आवश्यकताका आधारमा विषयगत शिक्षक व्यवस्थापन गरिनेछ।
१३८. नागरिकलाई नैतिकवान, स्वावलम्वी एवम् असल समाज र चरित्र निर्माण गर्न महानगरपालिका क्षेत्र भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा परियति, नैतिक तथा संस्कारयुक्त शिक्षाको पठनपाठन गरी कला, संस्कृति र सम्पदाको संरक्षणमा विशेष जोड दिइनेछ । ललितपुर महानगरपालिकाद्वारा प्रकाशित सडक सुरक्षा शिक्षा पुस्तकलाई सन्दर्भ सामग्रीका रुपमा निरन्तरता दिइनेछ ।
१३९. विद्यालय स्तरमा खेलकुद, स्काउटका साथै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि सञ्चालन हुदै आएका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयलाई दिईदैं आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी खर्चलाई मापदण्डका आधारमा व्यवस्थित गरिनेछ।
१४०. हाल सञ्चालनमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुलाई वडा कार्यालयहरुसँग समन्वय गरी साक्षरताको सर्वेक्षण लगायत अनौपचारिक तथा निरन्तर शिक्षाका कार्यक्रमहरु सञ्चालन गरिनेछ। साथै सामुदायिक अध्ययन केन्द्रहरूको संस्थागत सुदृढीकरण गर्दै लगिनेछ ।
१४१. नेपाल सरकारद्धारा सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि दैनिक उपस्थितिका आधारमा प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रममा महानगरपालिकाद्धारा थप गरिदैं आएको रकमलाई निरन्तरता दिइनेछ।
१४२. महानगरपालिका क्षेत्र भित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिदै अन्य संघसंस्थासँगको सहकार्यमा सत्यमोहन जोशी एकेडेमी स्थापना गरिनेछ। वडास्तरमा समेत पुस्तकालय सञ्चालनका लागि अध्ययन गरिनेछ।
१४३. महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा सम्वन्धित तहका योग्यतम शिक्षकहरु मध्येबाट प्रतिष्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्ति गरिनेछ ।
१४४. ललितपुर महानगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयहरू मध्ये “क” श्रेणीका विशेष सुविधायुक्त विद्यालयहरुले प्रदान गर्ने सामाजिक उत्तरदायित्व सम्वन्धी योगदानलाई कार्यविधि वनाई व्यवस्थित गरिनेछ । साथै संस्थागत विद्यालयहरुको स्तरीकरण गरी शुल्क निर्धारण प्रकृयालाई व्यवस्थित गरिनेछ ।
१४५. महानगर भित्र सञ्चालित सामुदायिक कलेज र कक्षा ११-१२ सञ्चालित दरवन्दी नभएका सामुदायिक विद्यालयहरुमा एकमुष्ट अनुदान दिने व्यवस्था मिलाइनेछ ।
१४६. विद्यार्थी तथा विद्यालयहरुलाई पुरस्कृत तथा सम्मान कार्यक्रमलाई कार्यविधिका आधारमा निरन्तरता दिइनेछ। साथै ३ वटा सामुदायिक विद्यालयहरुलाई SEE परीक्षाको नतिजाका आधारमा पुरस्कृत गरिनेछ ।
१४७. सामुदायिक विद्यालयहरुको शिक्षकहरुको क्षमता अभिवृद्धि गरी शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिइनेछ।
१४८. संस्थागत तथा सामुदायिक विद्यालयहरुको शैक्षिक पद्धति र गुणस्तर समेतलाई एक आपसमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। महानगरपालिकाको स्वीकृतिमा संस्थागत तथा सामुदायिक विद्यालयहरुका प्रयोगशाला, खेलकुद मैदान आदि एक आपसमा प्रयोग गर्न सक्ने व्यवस्था मिलाईनेछ।
१४९. विपद् तथा भूकम्प तथा आगलागीबाट हुने जोखिमलाई न्यूनिकरण गर्न महानगर अन्तर्गतका विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
१५०. सामुदायिक विद्यालयहरुमा व्यवस्थापन हुँदै आएको सेनिटरी प्याडलाई व्यवस्थित रुपमा वितरण गर्ने व्यवस्था मिलाई संस्थागत विद्यालयहरुमा समेत अनिवार्य रुपमा सञ्चालन गर्न लगाइनेछ । साथै सहज उपलव्धताका लागि भेण्डिङ र डिस्पोजल मेसिन समेत राख्ने व्यवस्था मिलाइने छ।
१५१. सिकाइमा कठिनाइ रहेका (अपाङ्गता) विद्यार्थीहरुका लागि सिकाइ सहजीकरण गर्न यस सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।
१५२. यसै शैक्षिक सत्रदेखि सूचकाङ्कका आधारमा प्रमुख प्रशासकीय अधिकृत र सामुदायिक विद्यालयका प्रधानाध्यापक विच र प्रधानाध्यापक र शिक्षक विच कार्यसम्पादन करार सम्झौता गरी त्रैमासिक रुपमा मूल्याङ्कन गर्ने व्यवस्था कडाइका साथ पालना गरिनेछ।
१५३. महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई कार्यविधिका आधारमा अन्तरविद्यालय सरुवा गर्ने व्यवस्था मिलाईनेछ।
१५४. संस्थागत विद्यालयहरुले प्रदान गर्ने छात्रवृतिलाई विश्वसनिय, पारदर्शी एवम अनुमानयोग्य हुने गरी व्यवस्थित गरिनेछ।
१५५. विद्यालयमा रहेका विद्यार्थी र शिक्षकको अनुपातलाई दृष्टिगत गरी आवश्यकता र औचित्यताका आधारमा विद्यालय गाभ्ने नीति अवलम्बन गरिनेछ।
१५६. महिला शिक्षक प्रसुति विदामा वसेका कारणले पठन पाठनमा बाधा नपर्ने गरी विदा अवधि भरका लागि सट्टा शिक्षकको व्यवस्था गरिनेछ।
ठ. स्वास्थ्य:
१५७. महानगरपालिका भित्रका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरुको लागि हाल सञ्चालनमा रहेको स्वास्थ्य उपचार सम्बन्धी जेष्ठ नागरिकसँग महानगर कार्यक्रमलाई निरन्तरता दिदैं आगामी आ.व.मा सवै वडासम्म विस्तार गरिनेछ।
१५८. महानगरपालिकामा स्थायी रुपले बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई निमोनिया रोग विरुद्धको खोप दिने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
१५९. नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यक्रमलार्इ थप प्रभावकारी बनाउँदै लगिनेछ।स्थानीयवासीको हकमा स्वास्थ्य विमा नवीकरण वापतको रकमको ४० प्रतिशत रकम दोहोरो नपर्ने गरी महानगरपालिकाले व्यहोर्नेछ। वडास्तरबाट विनियोजित बजेटको सीमा भित्र रही आवश्यकता र औचित्यताको आधारमा स्वास्थ्य बिमा कार्यक्रममा स्थानीयबासीको प्रिमियमको निश्चित रकम व्यहोर्न सकिनेछ। एकल महिलालाई समेत स्वास्थ्य बिमाको प्रिमियम वापतको रकम दोहोरो नपर्ने गरी व्यहोर्ने व्यवस्था मिलाइनेछ।
१६०. महानगरपालिकाबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको आवश्यकता र औचित्यताका आधारमा पुनरावलोकन गरिनेछ । कायम भएका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्ति, उपकरण तथा सुविधाको उचित प्रवन्ध गरिनेछ ।
१६१. स्वास्थ्यकर्मी तथा आवश्यक औषधी उपकरण सहितको सुविधायुक्त एम्वुलेन्स सेवा नि:शुल्क रुपमा सञ्चालन गरिनेछ ।
१६२. आयुर्वेद तथा वैकल्पिक चिकित्साको माध्यमबाट गरिने उपचारलाई प्रोत्साहित गरी नागरिक आरोग्य कार्यक्रम अन्तर्गत पञ्चकर्म, योग तथा ध्यान केन्द्र स्थापना तथा सञ्चालनमा समन्वय गरिनेछ। महानगरपालिकाको खर्चमा योग अधिस्नातक तह अध्ययन गरेका योग प्रशिक्षकलाई वडास्तरमा सञ्चालन हुने योग प्रशिक्षण कार्यक्रममा स्वयमसेवक रुपमा परिचालन गरिनेछ।
१६३. बहुक्षेत्रिय पोषण कार्यक्रमलार्इ क्रमशः सञ्चालन गर्दै लगिनेछ।
१६४. महिलामा देखिने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने, फिस्टुला जस्ता समस्याको स्क्रिनिङ कार्यक्रमलाई निरन्तरता दिदैं यसको उपचार सम्बन्धमा समेत आवश्यक व्यवस्था गरिनेछ।
१६५. प्रजनन् स्वास्थ्य सुरक्षित मातृत्व परिवार नियोजन कार्यक्रमलार्इ प्रभावकारी गरिदैं लगिनेछ। साथै किशोरकिशोरी सेवा मैत्री स्वास्थ्य संस्था कार्यक्रम विस्तार गरिदै लगिनेछ।
१६६. सामुदायिक विद्यालयमा नि:शुल्क स्वास्थ्य परिक्षण, परामर्श तथा सचेतनामूलक कार्यक्रमलार्इ व्यवस्थित रुपमा सञ्चालन गरिनेछ। वालवालिकामा देखापर्ने अटिज्म सम्बन्धी जनचेतना तथा व्यवस्थापनका लागि सो क्षेत्रमा कार्यरत संघसंस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ। वडा स्तरबाट हाल सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुको व्यवस्थापन वडास्तरको बजेटको सीमा भित्र रही गर्ने गरी निरन्तरता दिइनेछ।
१६७. सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा समुदायस्तरमा मुखको क्यान्सर एवम् सूर्तीजन्य पद्धार्थ, मद्यपान, धुम्रपान र HIV र एड्स तथा लागु पदार्थ नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइनेछ।
१६८. क्षयरोग मुक्त महानगरपालिकाको लागि वडा तहमा सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम सञ्चालन गरिनेछ।
१६९. मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श कार्यक्रमहरुलार्इ समुदायस्तरमा सञ्चालन गरिनेछ।Suicidal Rate न्युनिकरणका लागि सरोकारवाला निकायहरुसँग समन्वय गरिनेछ। सुस्त मनस्थिति, अटिजम तथा Community Based Rehabilitation (CBR) सम्बन्धी हाल सञ्चालित कार्यक्रमलाई निरन्तरता दिइनेछ।
१७०. कानुनी एवम् संरचनागत व्यवस्था गरी निजी तथा गैरसरकारी अस्पताल, पोलिक्लिनिक, फार्मेसी, आयुर्वेद स्वास्थ्य संस्थाहरुको नियमन तथा अनुगमन गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।यस सम्बन्धी अभिलेखलाई व्यवस्थित गरिनेछ।
१७१. वडा स्वास्थ्य कार्यान्वयन समितिलाई दिदै आएको परिचालन सुविधालाई निरन्तरता दिनेछ।
१७२. महानगरपालिकामा सेवारत स्वास्थ्य स्वयंसेवकहरुको सेवा सुविधा, क्षमता विकास तथा सम्मानजनक विदार्इलाई व्यवस्थित गर्न कार्यविधि तर्जुमा गरिनेछ । महानगरपालिका अन्तर्गतका स्वास्थ्य स्वयमसेवकहरुको बिमा वापतको रकम दोहोरो नपर्ने गरी महानगरपालिकाले व्यहोर्नेछ।
१७३. महानगरपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरुलार्इ क्षमता अभिवृद्धि (Skill based on site coaching) सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
१७४. नसर्ने रोगहरु मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धी रोगहरु, क्यान्सर, मोटापना आदि न्यूनिकरणका लागि “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथ ललितपुर महानगरपालिकाबाट स्वास्थ्य सेवा प्रवाह गरिनेछ ।
१७५. महानगरपालिका भित्रका नागरिकलाई सर्वसुलभ गुणस्तरिय र पहुँच योग्य स्वास्थ्य सेवा प्रदान गर्न नगर स्वास्थ्य नीति तर्जुमा गरी लागु गरिनेछ ।
१७६. महानगर अन्तर्गतका स्वास्थ्य संस्थाबाट उत्पन्न हुने चिकित्साजन्य फोहरको समुचित व्यवस्थाको प्रवन्ध गरिनेछ ।
१७७. स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बहुक्षेत्रीय समन्वय तथा सहकार्य गर्दै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने ब्यबस्था मिलाईने छ ।
१७८. महानगरपालिका भित्र आईपर्ने स्वास्थ्य महामारी तथा संक्रामक रोगहरु नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै Rapid Response Team सहितको आवश्यक उपायहरु अवलम्बन गरिनेछ।
१७९. महानगरपालिकाबाट प्रदान गरिदैं आएको विभिन्न रोग विरुद्धको खोपलाई निरन्तरता दिइनेछ।सङ्घीय सरकार, प्रदेश सरकार र अन्य सरोकारवाला निकायको सहकार्यमा डेंगी रोग विरुद्धको खोपको व्यवस्थापन गरिनेछ।
१८०. महानगर भित्र सञ्चालन हुने सवै प्रकारका स्वास्थ्य सिविर सञ्चालन गर्दा महानगरपालिकाबाट सहमति लिनु पर्ने व्यवस्थालाई अनिवार्य गरिनेछ।
ड. लैङ्गिक समानता, महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण:
१८१. संघ संस्था दर्ता, नियमन र अनुगमनलाई व्यवस्थित गरिनेछ।
१८२. महिला तथा विपन्नवर्गको सशक्तीकरणका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ।
१८३. वडास्तरीय/टोल स्तरीय महिला समूह, एकल महिला/पुरुष समूह, जेष्ठ नागरिक समूह, युवा समूह गठन, तथा सञ्चालनका लागि छुट्टै कार्यविधि जारी गरिनेछ।
१८४. दलितहरुको परम्परागत सिप तथा पेशालाई आधुनिकीकरण गर्दै स्वरोजगारमुखी बनाउन जोड दिईनेछ ।
१८५. जनजातिहरुको परम्परागत सिप तथा पेशालाई आधुनिकीकरण गर्दै स्वरोजगारमुखी बनाउन जोड दिईनेछ ।
१८६. वडास्तरमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र÷मिलन केन्द्र स्थापना तथा सञ्चालनमा सहयोग तथा सहजीकरण गरिनेछ।
१८७. किशोरकिशारीहरुको लागि लागुपदार्थ दुर्व्यशनी, अनलाइन सुरक्षा, बालविवाह, हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
१८८. बालमैत्री स्थानीय तह निर्माण गर्न मध्यमकालिन योजना तर्जुमा तथा रणनैतिक योजना तर्जुमा गरी कार्यन्वयनमा ल्याइनेछ ।
१८९. बालअधिकार संरक्षण तथा सम्वर्द्धन सम्बन्धी एकिकृत कार्यविधि कार्यान्वयन गरिनेछ।
१९०. ललितपुर महानगरपालिकालाई सडक मानव रहित शहर बनाउन सरोकारवाला संघसंस्थाको समन्वय र सहकार्यलाई निरन्तरता दिईनेछ।
१९१. जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम सञ्चालन गरिनेछ।
१९२. जोखिममा परेका बालबालिकाको उद्धारका लागि बाल हेल्पलाइन सेवाप्रदान गर्न सम्बन्धित संघसंस्थासँग समन्वय र सहकार्य गरी प्रभावकारी रुपमा सञ्चालन गरिनेछ।
१९३. कार्यस्थलको वातावरण लैङ्गिक मैत्री हुने गरी व्यवस्था गरी कार्यालयमा हुने यौनजन्य हिंसा सम्बन्धी आचार संहिता र लैङ्गिक नीति तथा कार्ययोजनाको वारेमा सरोकारवाला व्यक्तिहरुलाइ सुसूचीत गराईनेछ।
१९४. नेपाल सरकारको लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) दोश्रो संसोधन नियमावली, २०७६ दफा ११ बमोजिम पीडित/प्रभावितलाई तत्काल उद्धार तथा राहत उपलव्ध गराउन लैङ्गिक हिंसा निवारण कोषमा रकम थप गरी सञ्चालन तथा व्यवस्थापनको व्यवस्था मिलाइनेछ।
१९५. लैङ्गिक उत्तरदायी बजेट तर्जुमा गरी सो आधारमा विश्लेषण समेत गरिनेछ।
१९६. सामाजिक समावेशीकरणलाई समेत समेट्ने गरी आवश्यक कानूनी व्यवस्था गरिनेछ।
१९७. लैङ्गिक समानता, महिला सशक्तीकरण तथा लैङ्गिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।
१९८. लैगिंक हिंसामा परेका पीडित तथा प्रभावितहरुको तत्काल उद्धार तथा राहतको लागि टोल फ्री नम्वर ११३१ लाई निरन्तरता दिईनेछ।
१९९. महिला उद्यमीहरुबाट सञ्चालित उद्यमको स्तरोन्नतीका लागि मेन्टरसीप तालिम प्रदान गरिनेछ।
२००. महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको प्रवर्द्धनका लागि बिक्री केन्द्र/ नियमित हाट बजार सञ्चालनमा आवश्यक सहयोग गरिनेछ।
२०१. बालगृहको अनुगमन नियमित गरिनेछ।
ढ. युवा तथा खेलकुद:
२०२. युवाहरुका लागि आय आर्जन तथा रोजगारी सम्वन्धी कार्यक्रमहरूलाई निरन्तरता दिदैं युवाहरुलाई नविनतम, उद्यमशील, सिर्जनशील र रचनात्मक गतिविधिमा लाग्न अभिप्रेरित गर्ने कार्यक्रम समेत सञ्चालन गरिनेछ। युवाहरुलाई लागु पदार्थ तथा दुर्व्यसनको कुलतबाट जोगाउन चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ।
२०३. महानगरपालिकाबाट सञ्चालन हुने सवै प्रकारका सिप विकास तथा क्षमता विकास सम्बन्धी तालिमलाई व्यवस्थित, उपलब्धिपूर्ण र व्यवहारिक बनाउनका लागि सिप विकास तथा क्षमता विकास तालिम सञ्चालन कार्यविधि पहिलो त्रैमासिक भित्र जारी गरी सोही आधारमा मात्र यस प्रकारका तालिम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।सिप विकास तालिम प्राप्त व्यक्तिहरुलाई प्रविधि, पुँजी र बजारसँग आवद्ध गराई व्यवसाय स्थापना र विस्तार गर्ने वातावरण सिर्जना गरिनेछ।उद्यमशील स्वरोजगार कोष सञ्चालन कार्यविधि,२०७६ परिमार्जन गरिनेछ।
२०४. SEE र SLC परीक्षा दिइ वसेका तथा वेरोजगार स्थानीय युवा जनशक्तिलाई लक्षित गरी छोटो अवधिको प्राविधिक तथा व्यावसायिक सिपमूलक तालिम केन्द्रबाट सञ्चालन गरिनेछ ।
२०५. युवाहरुलाई स्वदेशमा नै बस्ने वातावरण सिर्जनाका लागि माग र आवश्यक्ताका आधारमा स्वरोजगार तथा व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग गरिनेछ। सिक्दै कमाउदै तथा Part Time Job सम्बन्धी कार्यक्रम सञ्चालनको लागि छुट्टै कार्यविधि जारी गरी कार्यान्वयन गरिनेछ।
२०६. युवाहरुलाई उत्प्रेरित गर्न र उद्यमशीलतालाई प्रोत्साहित गर्न, उनीहरुलाई लगानीको लागि तयार बनाउन विचार/नवप्रवर्तन पहिचान, छनोट, इन्क्युबेट, गतिशिलता र वृद्धि गर्न स्टार्टअप र इनोभेसन कार्यक्रम आयोजना गरिनेछ। नवप्रवर्तनका लागि तालिम प्राप्त प्रशिक्षार्थी/व्यवसायीहरुलाई वित्तीय संस्थासँग सम्झौता गरी ब्याज अनुदान मार्फत सरल बिउपुँजी/कर्जा प्रवाहको व्यवस्था गरिनेछ।
२०७. सिप युक्त कालिगढहरुको पहिचान र सूचीकरण सो सम्बन्धी परम्परागत कला र सिपको पुस्तान्तरण तथा हस्तान्तरणका लागि युवा उत्प्रेरणा सहितका कार्यक्रमहरु सञ्चालन गरिनेछ।
२०८. युवा समुह तथा खेलकुद क्लवहरु स्थापना र सञ्चालनमा सहयोग र सहजीकरण गरिनेछ।
२०९. महानगरपालिभित्र स्थानीय क्लव तथा खेलकुद सम्बन्धी संघ संस्थाले आयोजना गर्ने खेलकुद कार्यक्रम सञ्चालनमा सहयोग गरिनेछ। खुला व्यायमशाला सञ्चालनमा सहयोग गरिनेछ।
२१०. खेलाडीहरुको प्रोत्साहनका लागि गरिने खेलाडिलाई दिइदैं आएको सहयोगलाई निरन्तरता दिइनेछ।
२११. स्थानीयस्तरमा खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय खेलाडीहरुको प्रोत्साहन र विकासका लागि ललितपुर महानगर स्थित ए, वि र सी डिभिजन फुटबल टिमहरुलाई गरिदैं आएको सहयोगलाई निरन्तरता दिइनेछ। साथै खेल तथा खेलाडीहरुलाई प्रोत्साहित गर्न वडाबाट सञ्चालन हुने खेलकुद कार्यक्रम सञ्चालनका लागि दिइदैं आएको सहयोगलाई निरन्तरता दिइनेछ।
२१२. महानगरस्तरीय खेलकुद विकास समिति गठनका लागि आवश्यक व्यवस्था गरिनेछ। Institute of Engineering Pulchowk Campus को क्रिकेट मैदानको रुपमा स्तरोन्नति गरी सुविधायुक्त क्रिकेट मैदान सहित बनाउन अध्ययन गराइनेछ।
ण. अपाङ्गता:
२१३. अपाङ्गता भएका व्यक्तिको तथ्यांक (खण्डीकृत) संकलन गरी Profile Update गरिनेछ।
२१४. अपाङ्गता भएका व्यक्तिको लागि आवश्यक पर्ने सहायक सामाग्रीहरु महानगरबाट आवश्यकतानुसार मर्मत तथा खरिद गरी उपलव्ध गराइनेछ।अति असक्त, पूर्ण असक्त, वहु अपाङ्गता, वौद्धिक अपाङ्गता, अटिजम, सेरेवल पाल्सी, स्पाइनल कर्ड इन्जुरी आदि अपाङ्गता भएका र आर्थिक स्थिति कमजोर रहेका व्यक्तिहरुका लागि बजेटको सीमा भित्र रही दोहोरो नपर्ने गरी सरसफाइका सामाग्रीको व्यवस्था गरिनेछ।
२१५. अपाङ्गता भएका अति असक्त पूर्ण असक्त र वहु अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकलाई हेरचाह सम्वन्धी तालिम सञ्चालन गरिनेछ।
२१६. लैगिक समानता तथा सामाजिक समावेशीकरणको सवालमा अपाङ्गतालाई समावेश गराउन सहजीकरण गरिनेछ।
२१७. अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा घुलमिल गराउन र शारीरिक तन्दुरुस्तीका लागि सरोकारवाला निकायको समन्वय र सहकार्यमा विभिन्न खेलकुद प्रतियोगिता तथा खेलकुदको महत्वको वारेमा सचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिनेछ।
२१८. “ख” वर्गका अपाङ्गता भएका स्थानीय व्यक्तिहरुको स्वास्थ्य बिमा वापतको रकम महानगरपालिकाले दोहोरो नपर्ने गरी व्यहोर्ने व्यवस्था मिलाइनेछ।
२१९. सरोकारवाला निकायको समन्वय र सहकार्यमा आपाङ्गता भएका व्यक्तिहरुलाई स्वाबलम्बन जीवन यापन गर्न कार्यक्रम सञ्चालन गरिनेछ। अपाङ्गता भएका व्यक्तिहरुको जीवन यापनमा सहज बनाउन अति आवश्यक भएका अपाङ्गता भएका व्यक्तिहरुको लागि कार्यविधि तर्जुमा गरी सहयोगीको व्यवस्था गरिनेछ।
त. पर्यटन प्रवर्द्धन, संस्कृति तथा अमूर्त सम्पदा संरक्षणः
२२०. सांस्कृतिक, धार्मिक तथा पर्यापर्यटनलाई समन्वयात्मक रुपमा सञ्चालनको व्यवस्था मिलाइनेछ । पर्यटनसँग स्थानीय कला, संस्कृति/सम्पदा तथा हस्तकलालाई आवद्ध गरी एकीकृत रुपमा परिचालनका लागि छुट्टै रणनीति तर्जुमा गरिनेछ ।
२२१. पर्यटकको बसाई अवधि लम्ब्याउन सांस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरिनेछ। पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई Hospitality तथा पथ प्रदर्शक (टुर गाइड) सम्बन्धी आवश्यकता अनुसार तालिम सञ्चालन गरिनेछ। होमस्टे र Bed & Breakfast सञ्चालनलाई व्यवस्थित र प्रवर्द्धन गर्न मापदण्ड तर्जुमा गरिनेछ।
२२२. संविधानको साझा सूचीमा रहेको (अनुसूची- ९) प्रावधान बमोजिम "पाटन संग्रहालय" लाई महानगरपालिका मातहत ल्याउन पहल गरिनेछ।
२२३. सांस्कृतिक महत्वका विभिन्न जात्रा पर्वहरुको लागि मापदण्डका आधारमा दरबन्दी निर्धारण पुनरावलोकन गरिनेछ।
२२४. विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरवार क्षेत्रका पर्यटकहरुको आगमन व्यवस्थित गर्न पर्यटक रुटको व्यवस्थापन गरिनेछ र E-Shuttle Bus सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। साइकल र पदयात्रा मात्र गर्ने गरी अन्य सवारी साधनको प्रवेशमा रोक लगाउन आवश्यक प्रयास गरिनेछ।
२२५. सांस्कृतिक धरोहरको रुपमा रहेका मूर्त/अमूर्त सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा समावेश गर्न थप पहल गरिनेछ।सरोकारवालाहरु समेतको सहकार्य र समन्वयमा मूर्त/अमूर्त सम्पदा/जात्रा/पर्वहरुको संरक्षण व्यवस्थापन र प्रचार प्रसार गरिनेछ। पर्यटन सम्बन्धी सूचना तथा गतिविधिहरुको व्यापक प्रचार प्रसारका लागि विद्युतीय माध्यमलाई अधिकतम प्रयोग गरिनेछ।
२२६. विभिन्न जातजाति र समुदायको भाषा, लिपि, धर्म र संस्कृति, साहित्य, कला, चलचित्र र जात्रा पर्वको संरक्षण र सम्वर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। महानगर क्षेत्रभित्रको जीवन्त सम्पदाको रूपमा स्थापित कला, साहित्य र सङ्गितको सम्वर्द्धन सम्बन्धी आवश्यक कार्य गरिनेछ।
२२७. ऐतिहासिक तथा सांस्कृतिक शहरहरुको शहरी पुनस्थान (Urban Regeneration) कार्यक्रम शुरु गरिनेछ ।
२२८. पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रका संघ संस्था तथा व्यवसायीहरूलाई प्रोत्साहन गर्न नीतिगत व्यवस्था गरी पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
२२९. नेपाली परमपरा र भेषभुषालाई प्रवर्द्धन गर्न सम्पदा क्षेत्र भित्र प्रवेश गर्दा परम्परागत भेषभुषा लगाउन प्रोत्साहित गरिनेछ। महानगर भित्र रहेको मूर्त, अमूर्त संस्कृतिलाई पर्यटनसँग आवद्ध गरी कार्यक्रम सञ्चालन गरिनेछ।
२३०. पुरातात्विक सम्पदा सम्बन्धी विज्ञहरूको सूची तयार गरी उनीहरूलाई संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनमा परिचालन र प्रोत्साहन गर्ने व्यवस्था गरिनेछ ।
२३१. यस महानगरमा आउने पर्यटकको सुविधालाई व्यवस्थित गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको रुपमा यस महानगरलाई विकास गरिनेछ ।आन्तरिक पर्यटन प्रवर्द्धनको लागि विशेष र प्रभावकारी कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक कार्य गरिनेछ ।
२३२. पर्यटन प्रवर्द्धन तथा संस्कृति संरक्षण सम्बन्धी सङ्घीय र प्रदेश सरकारबाट सञ्चालन हुने कार्यक्रमहरुमा आवश्यक समन्वय गरिनेछ। पर्यटन प्रवर्द्धनका लागि छिमेकी स्थानीय तहसँग समन्वय र सहकार्य गरिनेछ।
२३३. पर्यटकलाई एकद्धार प्रणाली मार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ ।एकद्वार पर्यटन सम्बन्धी कार्यविधि परिमार्जन गरिनेछ।
२३४. इतिहास, संस्कृति, भाषा, र सभ्यतालाई संरक्षण र सम्बर्द्धन गर्ने विविध कार्यक्रम सञ्चालन गरिनेछ।भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गित, नाट्य लगायतका अमूर्त सांस्कृतिक क्षेत्रहरुको विकास र प्रवर्द्धन गरिनेछ । प्रतिलिपि अधिकारको संरक्षणको लागि आवश्यक पहल गरिनेछ। धर्म र संस्कृति सम्बन्धी अन्तर्राष्ट्रियस्तरका सभा र सम्मेलन यस महानगरभित्र आयोजना गर्न प्रोत्साहन गरिनेछ। मुर्त तथा अमूर्त सम्पदा अन्तर्गत परम्परादेखि चलिआएको मूल्य र मान्यतालाई संरक्षण र सम्वर्द्धन गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गरिनेछ ।
२३५. राष्ट्रिय विभूति अरनिको जन्मस्थान संरक्षण तथा अरनिको सम्बधी थप अध्ययन गरिनेछ ।
थ. उपभोक्ताको अधिकार तथा वजार नियमनः
२३६. उपभोक्ता हित संरक्षण सम्बन्धी कानुन तर्जुमा गरी कार्यन्वयनमा ल्याइनेछ । उपभोक्ता हित संरक्षण सम्बन्धी जनचेतना र प्रचार-प्रसार गरिनेछ
२३७. स्थानीय स्तरका उत्पादन विक्री गर्ने कोसेली घर/सौगात गृहलाई प्रोत्साहन र सहुलियत प्रदान गरी स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने नीति अनुशरण गरिनेछ ।
२३८. वजार अनुगमन व्यवस्थित र नियमित रुपमा गर्ने व्यवस्था मिलाईनेछ। बजार अनुगमन गर्दा कालोबजारी, नाफाखोरी तथा अनावश्यक मूल्यवृद्धि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यवस्था कडाईका साथ लागु गरिनेछ ।
२३९. उपभोक्ता हित संरक्षण सम्बन्धी चेतना, पैरवी लगायतका क्रियाकलापहरूमा सरोकारवाला निकायहरुसँग समन्वय गरिनेछ ।
२४०. उपभोक्ताको अधिकार सुरक्षित गर्न तरकारी तथा फलफूलको विषादि परिक्षण गर्न पहल गरिनेछ। स्थानीय उत्पादन प्रवर्द्धनका लागि वडास्तरबाट नै साप्ताहिक तथा अर्धसाप्ताहिक हाट बजार सञ्चालन गर्न उपयुक्त स्थानहरुको छनौंट गर्ने प्रक्रिया थालिनेछ ।
द. अन्तर्राष्ट्रिय सम्वन्ध तथा अतिथी सत्कारः
२४१. ललितपुर महानगरपालिका आन्तरिक तथा वाह्य पर्यटन मेला/गोष्ठीमा सहभागी भई ललितपुरको प्रचार प्रसार गरी पर्यटक भित्र्याउने रणनीति लिइनेछ ।
२४२. पर्यटन प्रवर्द्धन गर्न नेपाल स्थित विभिन्न राजदुतावास तथा कुटनितिक नियोगहरुसँग समन्वय गरिनेछ। स्वदेशी तथा विदेशी नगरहरु विच पर्यटन प्रवर्द्धनका लागि आवश्यक सहयोग र समझदारी कायम गर्न आवश्यक कार्य गरिनेछ।
२४३. महानगरमा पाल्नुहुने स्वदेशी तथा विदेशी पाहुनाहरुलाई सत्कार गर्दा महानगरपालिकाको तर्फबाट प्रदान गरिने मायाको चिनो एकै प्रकारको दिने व्यवस्था मिलाइनेछ।
ध. हस्तकला प्रवर्द्धनः
२४४. ललितपुर महानगरपालिका World Crafts Council को सदस्य समेत रहेको तथ्यलाई मनन गर्दै स्थानीय हस्तकलाको विकास, प्रवर्द्धन र बजारीकरणमा जोड दिइनेछ ।लोप हुन लागेका हस्तकला व्यवसाय र हस्तकलाकर्मीको पुनर्स्थापना एवम् संरक्षण र प्रोत्साहनका लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ।
२४५. ललितपुर महानगरलाई हस्तकलाको राजधानीको रुपमा घोषणा गर्न आवश्यक पहल र प्रयासहरु गरिनेछ। स्थानीय हस्तकला प्रवर्द्धनका लागि प्रमुख पर्यटकीय स्थल एवम् विश्व सम्पदा क्षेत्र वरिपरी हस्तकला सामाग्री प्रदर्शनी कक्ष र कोसेली घरको स्थापना गर्दै लगिनेछ।
२४६. हस्तकला सम्बन्धी औपचारिक तथा अनौपचारिक अध्ययन अध्यापनका लागि सरोकारवालाको समेत सहभागितामा विस्तृत अध्ययन गरिनेछ।
न. सहकारी नियमन तथा प्रवर्द्धनः
२४७. सघन प्रतिवेदनका आधारमा सुधार गर्न सकिने सहकारी संस्थाका हकमा सुधारात्मक कार्यक्रम तथा समस्याग्रस्त सहकारीका हकमा प्रचलित ऐन कानुन बमोजिम सहकारीहरुको नियमन र व्यवस्थापन गरिनेछ।
२४८. संस्थाका पदाधिकारी र सदस्यहरुको क्षमता विकास तथा संस्थागत सुदृढिकरण कार्यक्रमहरु सञ्चालन गरिनेछ। त्यस्ता सहकारी संस्थाहरुको लागत साझेदारीमा महानगरपालिकाले तर्जुमा गरेको कार्यविधि र पाठ्यक्रमका आधारमा आयमूलक/सिपमूलक कार्यक्रमहरु सञ्चालनमा जोड दिईनेछ ।
२४९. सहकारी संस्थाहरुको अभिलेख व्यवस्थापनलाई विद्युतीय प्रणालीमा राखिनेछ।सहकारी संस्थाहरुबीच एकीकरणलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
२५०. समस्या देखिएका सहकारी संस्थाले वर्तमान समस्याहरुको निराकरण नभईन्जेल नयाँ ऋण प्रदान नगर्ने र भाखा नाघेका ऋणहरुलाई असुल गरी वचतकर्ताहरुको वचत फिर्ता गर्ने कार्यलाई जोड दिने नीति लिईनेछ।
२५१. सहकारी संस्थाको रकम अपचलन गर्ने, प्रचलित ऐन कानुन विपरित संस्था सञ्चालन गर्ने संस्थाका पदाधिकारी/कर्मचारी एवं संस्थाबाट ऋण लिई समयभित्र ऋण तथा व्याज नतिर्ने ऋणीहरुको सम्पति रोक्का राख्न तथा यस महानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा रोक्का राख्न सहकारी ऐनमा संशोधन तथा आवश्यकता अनुसार नियमावली/निर्देशिकाहरु जारी गरिनेछ। यसका लागि कर्जा सूचना केन्द्र सञ्चालनको व्यवस्था मिलाइनेछ।
प. लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धनः
२५२. औद्योगिक व्यवसाय नियमावली तथा अन्य आवश्यक निर्देशिका एवं कार्यविधिहरु तर्जुमा गरी जारी गरी लघु, घरेलु तथा साना उद्योगहरुको नियमन र व्यवस्थापन गरिनेछ ।
२५३. व्यवसाय गर्ने प्रतिवद्धता सहित सिपमूलक तालिम माग गर्ने नगरबासीहरुलाई महानगरपालिकाबाट जारी तालिम सम्बन्धी कार्यविधि तथा स्वीकृत पाठ्यक्रम अनुसार आयमूलक/व्यवसायमूलक तालिम प्रदान गरिनेछ। तालिम प्रदान गर्दा विगत आ.व.हरुमा प्रदान गरिएका सिपमूलक/आयमूलक तालिम कार्यक्रमहरुको स्तरोन्नती गर्ने कार्यक्रमलाई प्राथमिकता दिई सञ्चालन गरिनेछ। एकै व्यक्ति अनेक विषयका तालिमका सहभागी हुने प्रवृतिलाई निरुत्साहित गरिनेछ ।
२५४. व्यवसायको स्तरोन्नती, विस्तार र उत्पादकत्व वृद्धि गर्न सहयोग पुर्याउन माग र आवश्यकताका आधारमा उपयुक्त प्रविधि हस्तान्तरण गरिनेछ ।
२५५. निजी क्षेत्रसँगको सहकार्यमा Made In Lalitpur Nepal तथा Make In Lalitpur Nepal को अवधारणालाई मूर्त रुप दिन विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।यसको लागि आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।
फ. लगानी व्यवस्थापनः
२५६. महानगर भित्र सञ्चालन हुने उद्यम व्यवसायमा कर्जा लगानीको सहज वातावरणका लागि महानगरपालिका भित्र रहेका बैक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरिनेछ। उद्यम व्यवसायमा आवश्यक पर्ने विउँपुजीका लागि महानगर भित्र रहेका बैक तथा वित्तीय संस्थाहरुसँग सम्झौता गरी पुँजी व्यवस्थापन गरिनेछ ।
२५७. प्रचलित कानुन बमोजिम सहुलियत कर्जा प्रदान गर्नपर्ने दायित्व रहेका बैक तथा वित्तीय संस्थालाई उद्यम व्यवसायका लागि सहुलियत कर्जा दिन प्रोत्साहित र आवश्यक सहजीकरण गरिनेछ ।
ब. कृषि विकास र सिंचाई:
२५८. महानगरपालिका क्षेत्रमा सम्भाव्यताको आधारमा कृषि व्यवसायलाई प्रवर्द्धन गरी कृषि जन्य बस्तुहरुको उत्पादकत्व अभिवृद्धि गरिनेछ। बाँझो जमिनलाई खाली नराख्ने नीति अनुरुप स्थान विशेष अनुसार सम्भाव्य बालीहरुको पहिचान गरी तरकारी, फलफूल खाद्यान्न, च्याउखेती, पुष्प व्यवसाय, मौरी पालन र जडीबुटी खेतीलाई प्रोत्साहन तथा व्यावसायिकरण गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ।
२५९. मानव स्वस्थ्य र वातावरणलाई सर्वोपरी ध्यानमा राखी बिषादी रहित अर्गानिक खेतीको विकास, विस्तार र प्रवर्द्धन गरी तरकारीमा आत्मनिर्भर गराउदै लगिनेछ ।
२६०. व्यावसायिक तरकारी खेती तथा अन्य कृषि व्यवसाय गर्ने कृषकलाई उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न कृषि यन्त्र र उपकरण लगायतका सामाग्री खरिदमा दिइदैं आएको मुल्य अनुदानको व्यवस्थालाई निरन्तरता दिइनेछ। नर्सरीहरुको स्थापना र सञ्चालनमा आवश्यक सहयोग गरिनेछ।
२६१. कृषिजन्य वस्तुहरु विशेष गरी तरकारी बालीको पोष्टहार्वेष्ट सुदृढिकरण तथा बालीहरुलाई संरक्षणका लागि आवश्यक देखिएका क्षेत्रहरुमा प्रोटेवल कोल्ड चेम्वरको कुलबुट तथा शित भण्डारको व्यवस्था गरिनेछ।
२६२. किसान सूचीकरण कार्यक्रमलाई पूर्णता दिई कृषकहरुको विवरणलाई विद्युतीय अभिलेखिकरण गरी कृषक परिचय पत्रको व्यवस्था गरिनेछ । कृषि बिमा कार्यक्रमलाई प्रोत्साहित गरिनेछ।
२६३. कृषकहरुले उत्पादन गरेको ताजा तरकारी तथा फलफूल विक्रीका लागि उपयुक्त स्थानहरुमा हाट बजारको व्यवस्था गरिनेछ । लगनखेल र वडा नं १६ मा रहेको तरकारी तथा फलफूल बजारको स्तरोन्नति र वडाहरुसँग समन्वय गरी तरकारी तथा फलफूल बजारहरुको खोज तथा विस्तार गर्दै लगिनेछ ।
२६४. चक्रपथ भित्रका वडाहरुमा कौसीखेती सहयोग कार्यक्रमलाई निरन्तरता दिदै चक्रपथ बाहिरका वडाहरुलाई व्यावसायिक तरकारी खेतीको पकेट क्षेत्रको रुपमा विस्तार गरिनेछ । निजी खाली जग्गामा जग्गाधनीसँग सम्झौता गरी नर्सरी तरकारी फलफूल खेती गर्ने कृषकलाई महानगरपालिकाबाट लिइने बहाल करमा छुट दिइने छ ।
२६५. कृषि अटोमेशन अन्तरगत Seed ATM लाई उपयुक्त स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गरी पुन सञ्चालनमा ल्याइनेछ ।
२६६. महानगरपालिका क्षेत्र भित्र रहेको कृषि योग्य भूमिमा आवश्यक समयमा सिंचाइको व्यवस्था मिलाइनेछ। पानीको स्रोतको रुपमा रहेका राजकुलो, इनार, ट्युवेललाई समेत आवश्यकता र औचित्यताका आधारमा सिंचाईको लागि प्रयोग गरिनेछ। साथै प्राङ्गारिक खेतीको विकास, विस्तार तथा प्रर्वद्बनको लागि प्राङ्गारिक तथा जैविक मल र जैविक बिषादी प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ।
२६७. कृषिको आधुनिकिकरणका लागि बायो टेक्निकल ल्याव (माटोको जाँच, विषादीको अवशेण परीक्षण, रोग किराको परीक्षण) स्थापनाका लागि अध्ययन गरिनेछ ।
भ. पशु सेवाः
२६८. नमुना र व्यवस्थित पशु बधस्थलको निर्माणमा सहयोग गरी स्वस्थ्यकर मासु विक्री गर्ने ब्यवस्था मिलाइनेछ।
२६९. पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी व्यवसाय प्रवर्द्धनका लागि आवाश्यक सहयोग र सहजीकरण गरिनेछ। पशु विमा कार्यक्रमलाई प्रोत्साहित गरिनेछ।
२७०. महानगर क्षेत्रभित्र पशु सेवासँग सम्बन्धित तथ्याङ्क सङ्कलन तथा विवरण अध्यावधिक गरिनेछ।घरपालुवा कुकुरहरुको सूचीकृत गर्ने व्यवस्था मिलाइनेछ।
२७१. पशुहरुको नश्ल सुधारका लागि गरिदैं आएको कृत्रिम गर्भाधान सेवा निरन्तरता दिदैं थप प्रभावकारी सञ्चालनको प्रवन्ध गरिनेछ।
२७२. महामारी रोग विरुद्ध पशुपन्छीलाई दिइने निःशुल्क खोप सेवा, नमुना सङ्कलन र परीक्षण तथा उपचार सेवाका लागि आवश्यक औषधि तथा जनशक्तिको व्यवस्थापन गरिनेछ ।
२७३. भेट एम्बुलेन्स सेवा सञ्चालनलाई निरन्तरता दिइनेछ ।छाडा पशु नियन्त्रणको लागि कान्जी हाउसको ब्यवस्था गरिनेछ । सामुदायिक कुकुरहरुको बन्ध्याकरण अभियानको रुपमा सञ्चालन गरिनेछ। संघ संस्थाहरुको सहयोग तथा सहकार्यमा सचेतना सम्बन्धी कार्यक्रम संचालन गरिनेछ।
२७४. पशु सेवा सम्बन्धी सामुहिक व्यवसाय गर्ने युवालाइ मागका आधारमा आवाश्यक सहयोग गरिनेछ। साना लगानीमा सञ्चालन गर्न सकिने पशुपन्छी व्यवसायलाइ प्रवर्द्धन गर्दै लगिनेछ ।
२७५. बङ्गुर, कुखुरा पालन लगायतका व्यवसाय सञ्चालन गर्दा वातावरण संस्कृति र समुदायमा समेत असर नपर्ने गरी सञ्चालन गर्नु पर्ने नीतिलाई निरन्तरता दिदैं महानगरपालिकाबाट त्यस्ता व्यवसायको नियमन गरिनेछ । पशुपालन व्यवसायवाट उत्पादित प्राङ्गारिक मललाई प्रशोधन तथा प्रवर्द्धनको व्यवस्था मिलाइनेछ।
२७६. माछा मासु र दुधमा मिसावट तथा गुणस्तर पत्ता लगाउन नमुना सङ्कलन गरी प्रारम्भिक परीक्षणको व्यवस्था मिलाइनेछ। थप परीक्षण आवश्यक परेमा सम्वन्धित निकायमा परीक्षणका लागि पठाइनेछ ।
म. रोजगार तथा गरिबी निवारण
२७७. असहाय, जोखिममा परेका, सामाजिक र पारिवारिक बहिष्करणमा परेका तथा विपन्न व्यक्तिलाई सामाजिक संरक्षण कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारमा समावेश गरिनेछ ।वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न आप्रवासी स्रोत केन्द्र स्थापना र सञ्चालन गरी आवश्यक सहजीकरण तथा परामर्श गरिनेछ। वैदेशिक रोजगारीमा जान चाहने श्रमिकको श्रम स्वीकृति र पूनः श्रम स्वीकृतिमा सहजीकरण गरिनेछ ।
२७८. रोजगारी प्राप्तिको लागि आवश्यक पर्ने व्यवसायिक शिक्षा तथा तालिमलाई प्रवर्द्धन गरी "व्यवसायका बारेमा बुझौं" (Know About Business - KAB) कार्यक्रम सञ्चालन गरिनेछ। रोजगारदाताहरु र रोजगारी आकांक्षीहरु बीच अन्तक्रिया कार्यक्रम सञ्चालन गरी कार्यस्थल प्रशिक्षण Internship, Traineeship, Apprenticeship, On the Job Training सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
२७९. “डिजिटल पहुँच, रोजगारीको खोज" भन्ने नारा सहित डिजिटल प्लेटफार्मको माध्यमबाट रोजगारीका अवसरको जानकारी उपलब्ध गराइ रोजगारदाता र रोजगारी आकांक्षी बिच समन्वय स्थापित गरिनेछ। अनलाइन सिप विकास तालिम प्लेटफार्म निर्माण गरी विभिन्न शैक्षिक संस्थाहरू र तालिम प्रदायकहरूसँग सहकार्य गरी आन्तरिक रोजगारी प्रवर्द्धन गरिनेछ।
य. राजस्व प्रशासन तथा प्रवर्द्धनः
२८०. “जनताको कर, जनतालाई खबर” भन्ने अवधारणालाई व्यापक र विस्तृत बनाउन कर शिक्षा र सचेतना मार्फत् यस महानगरपालिकाका करदाताहरुमा कर साक्षरता, कर दायित्व र अधिकार सम्बन्धी जानकारी प्रवर्द्धन गरी पारदर्शी, जवाफदेही कर संस्कृतिको सबलीकरण गरिनेछ ।
२८१. महानगरपालिकाको पुँजीनिर्माण, विकास निर्माण र नागरिकका सेवा, सुविधा सम्बन्धी कार्यक्रमहरुको निरन्तरताका लागि राजश्वका नयाँ श्रोतको पहिचान गर्न अध्ययन अनुसन्धान गरिनेछ।
२८२. कर असुली प्रकृयालाई थप सहज र पहुँचयोग्य बनाउन विद्युतीय राजस्व संकलन प्रणालीलाई स्तरोन्नति गरी स्वच्छ, पारदर्शी र प्रविधिमैत्री राजस्व प्रशासनको रुपमा विकास गरिनेछ । राजस्व प्रणालीलाई राष्ट्रिय प्रणालीसँग आवद्ध गर्नको लागि महालेखा नियन्त्रकको कार्यालयबाट विकास गरिएको स्थानीय तह राजश्व पोर्टल (SuTRA Revenue Module ) क्रमश: प्रयोगमा ल्याइनेछ ।
२८३. समृद्व महानगर निर्माणको लागि पर्याप्त आन्तरिक आय वृद्धि गर्न कर क्षेत्रको विस्तार र करका नयाँ श्रोत र क्षेत्रहरुलाई कर प्रणालीमा समाहित गर्ने कार्यलाई राजश्व वृद्धिको रणनीतिक औजारको रुपमा अंगिकार गर्दै करको दर भन्दा दायरा वृद्धि गरिने नीति अबलम्वन गरिनेछ ।
२८४. करको दायरामा नआउने, कर नतिर्ने तथा झुठो विवरण पेश गरी कर छल्ने प्रवृत्तिको अन्त्यको लागि नतिजामूलक अनुगमन प्रणाली अवलम्वन गरिनेछ।
२८५. महानगरपालिकाले सेवा प्रदान गर्दा सेवाग्राहीले बुझाउनुपर्ने शुल्क,कर दस्तुर,दण्ड/जरिवानालाई सेवासँग क्रमशः आवद्ध गरिनेछ ।
२८६. महानगरपालिका भित्र सञ्चालनमा रहेका तर करको दायरामा नआएका निजी विद्यालय, स्वास्थ्य संस्था, सहकारी संस्था तथा अन्य औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुको विवरण सङ्कलन गरी करको दायरामा ल्याउन पहल गरिनेछ। करको दायरामा नआएमा आर्थिक ऐन अनुसार कारवाही गरिनेछ।
२८७. राजस्व प्रशासन सम्बन्धी प्रवर्द्धनात्मक तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ।
२८८. करदाताहरुलाई कर सम्बन्धी सूचना प्रवाह गर्न छुट्टै Apps को व्यवस्था गरी अन्य Apps तथा Software सँग Link गरिनेछ। साथै SMS बाट पनि कर सम्बन्धी जानकारी गराउन आवश्यक व्यवस्था गरिनेछ।
२८९. बैंक तथा वित्तीय संस्थाहरुमा व्यावसायिक कारोवार गर्ने, धारा, विजुली जडान गर्ने, मालपोत कार्यालयमा घर जग्गा पास गर्ने आदि कार्यहरु गर्दा महानगरपालिकामा बुझाउनु पर्ने सम्बन्धित करहरु (सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, विज्ञापन कर आदि) चुक्ता गरेको प्रमाण पेश गराउने व्यवस्थाका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरिनेछ।
र. प्रशासन, सेवा प्रवाह र सुशासनः
२९०. प्रमुख र प्रमुख प्रशासकीय अधिकृत एवम् प्रमुख प्रशासकीय अधिकृत र महाशाखा/शाखा प्रमुखहरु विच गरिदैं आएको कार्यसम्पादन करार सम्झौतालाई निरन्तरता दिदैं अझ व्यवस्थित गर्न सूचकाङ्कको आधारमा कार्यसम्पादन करार सम्झौता गरी नियमित मूल्याङ्कनको व्यवस्था समेत मिलाईनेछ।
२९१. वडाबाट हुने विकास निर्माण र सेवा प्रवाहलाई जनमुखी, परिणाममुखी र सेवाग्राही मैत्री बनाउन वडाको संस्थागत क्षमता वृद्धि गरी आधारभूत सेवाहरु सम्वन्धित वडाबाटै प्रदान गर्ने गरी सेवा विस्तार गरिनेछ।
२९२. महानगरपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त, दुरुस्त, प्रविधियुक्त नागरिकमैत्री पारदर्शी, जनउत्तरदायी र जवाफदेही बनाईनेछ।मुस्कान सहितको सेवालाई व्यवहारिक रुपमा लागु गरी नगरवासीसँग प्रत्यक्ष सम्बन्ध रहेका सेवा प्रवाहमा Time Card System लागु गरिनेछ।
२९३. भष्ट्राचारमा शून्य सहनशिलता अनुशरण गरिनेछ। गुनासो व्यवस्थापन गर्न गुनासो व्यवस्थापन कक्ष स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
२९४. स्थानीय सेवा व्यवस्थापन ऐन जारी गरी महानगरपालिकामा कार्यरत कर्मचारीहरुलाई अझ वढी उत्प्रेरित गरी कार्यसम्पादनमा प्रभावकारिता ल्याउनका लागि क्षमता विकास, वृत्ति विकास, पदोन्नति, पुरस्कार र दण्ड सजायको व्यवस्था कार्यान्वयन गरिनेछ।साथै उत्कृष्ट कर्मचारी छनौटको लागि मापदण्ड तर्जुमा गरी सोको आधारमा महानगरपालिकाको स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गर्ने व्यवस्था मिलाईनेछ।
२९५. महानगरपालिकामा कार्यरत सबै कर्मचारीहरुको जीवन वीमा कार्यक्रम र करारका कर्मचारीहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष व्यवस्थालाई निरन्तरता दिइनेछ।
२९६. महानगरपालिकाको "संगठन तथा व्यवस्थापन सर्वेक्षण" प्रतिवेदन स्वीकृत गरी सेवा प्रवाहलाई प्रभावकारी वनाइनेछ। सोही सर्वेक्षण प्रतिवेदन बमोजिम कार्यरत सवै कर्मचारीहरुको कार्यविवरण तयार गरी सो अनुसार कार्यसम्पादन गर्ने व्यवस्था मिलाईनेछ।
२९७. विगतदेखि महानगरपालिकामा कार्यरत सामाजिक परिचालक, अ.हे.व., सि.एम.ए. र नर्स लगायतका सेवालाई निरन्तरताका साथै आन्तरिक सरुवा मापदण्ड बमोजिम सरुवा गरिनेछ।
२९८. महानगरपालिकाबाट प्रदान गरिने सेवालाई क्रमशः अनलाईन प्रविधिमा आवद्ध गरी Faceless, Cashless र Paperless बनाइनेछ ।
२९९. देश भित्र र अन्तर्राष्ट्रियस्तरका स्थानीय तहहरुसँग भगिनी सम्बन्ध कायम गर्दै पारस्परिक रुपमा सहयोग आदान प्रदान गर्दै लगिनेछ। अन्तर्राष्ट्रिय संघ संस्था र विकास साझेदारहरुसँगको सम्वन्ध एवम् सहकार्यलाई अगाडि वढाउदै लगिनेछ।
३००. कर्मचारीको आन्तरिक सरुवालाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य वनाउन आन्तरिक सरुवा सम्बन्धी मापदण्ड जारी गरिनेछ।
३०१. महानगरपालिकामा आवश्यक जनशक्ति समयमा नै पदपूर्तिका लागि आवश्यक कार्य गरिनेछ। प्रचलित कानून बमोजिम करार सेवामा गरिने पदहरुमा प्रतिस्पर्धाको आधारमा मात्र कार्यविधि बमोजिम पदपूर्ति गर्ने व्यवस्था मिलाइनेछ।
३०२. विभिन्न महाशाखा/शाखाहरुबाट हुने सेवा प्रवाहलाई One Door System बाट नै सहज रुपमा सेवा प्रवाह गर्नका लागि आवश्यक व्यवस्था गरिनेछ।
३०३. महानगरपालिकामा रहेका सवै प्रकारका अभिलेखलाई व्यवस्थित गर्न Digitalization गरिनेछ। कर्मचारी अभिलेख व्यवस्थापनलाई व्यवस्थित गरिनेछ।
३०४. महानगरपालिकाबाट प्रदान गरिने सिफारिस तथा सेवा प्रवाहमा एकरुपताका लागि सिफारिस सम्बन्धी छुट्टै Software निर्माण गरी महानगरपालिकाका अन्य सम्वद्ध Software सँग Link गरिनेछ।
३०५. महानगरपालिकाले प्रदान गर्ने सबै सेवाहरुलाई एकीकृत गरी व्यवस्थापन सूचना प्रणाली (Management Information System) को विकास गरिनेछ ।
ल. जिन्सी व्यवस्थापनः
३०६. आगामी आ.व. २०८१/८२ देखि लागु हुने गरी PAMS (सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली) लागु गरिनेछ।
३०७. खरिद प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन विद्युतीय बोलपत्रमात्र प्रयोग गरिनेछ।
३०८. बोलपत्र/दरभाउपत्र मार्फत हुने निर्माण, वस्तु वा सेवा खरिदको बोलपत्र/दरभाउपत्र कारवाही तेस्रो त्रैमासिक भित्र सम्पन्न गरिनेछ।
३०९. महानगरपालिकाबाट स्थानीय सार्वजनिक खरिद नियमावली तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
३१०. सार्वजनिक खरिद कार्यमा संलग्न हुने कर्मचारीहरुलाई सार्वजनिक खरिद सम्बन्धी तालिम प्रदान गरी खरिद कार्यलाई चुस्त र दुरुस्त राख्नुको साथै Inventory Management System लाई समेत व्यवस्थित र पारदर्शी बनाईनेछ।
व. आन्तरिक लेखा परीक्षणः
३११. आन्तरिक तथा बाह्य श्रोत साधनको परिचालन उद्देश्यमूलक, पारदर्शी र जवाफदेही तथा उत्तरदायी बनाउन आवश्यक कार्यहरु गरिनेछ।आर्थिक तथा वित्तीय व्यवस्थापन प्रणालीलाई अनुशासित तथा व्यवस्थित बनाइदै लगिनेछ।
३१२. आन्तरिक लेखा परीक्षणलाई सरल र व्यवस्थित बनाउदै नतिजामूलक र प्रभावकारी बनाउनेछ।
३१३. बेरुजु फर्छ्यौट कार्यविधी तयार गरी बेरुजु फर्छ्यौट कार्यलाइ प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
३१४. राजश्व सङ्कलन तथा विभिन्न योजना कार्यान्वयनको अवस्था र खरिद प्रक्रियाका विषयमा अनुगमन गरी पारदर्शी बनाउदै लगिनेछ ।
३१५. महानगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली र आन्तरिक लेखा परीक्षण कार्यविधि तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
श. कानून, न्याय तथा मानवाधिकारः
३१६. स्थानीय स्तरमा नै विवाद समाधानका लागि वडा तहमा मेलमिलाप केन्द्रको संयन्त्र तयार गरी वडातहमा कानूनी सचेतनाका कार्यक्रम सञ्चालनलाई निरन्तरता दिईनेछ।
३१७. जनप्रतिनिधिहरुलाई कानूनी विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाईनेछ।
३१८. मेलमिलापकर्ताको क्षमता विकासमा विशेष जोड दिइ मेलमिलापकर्ता वडा तहमा नै सूचीकृत गर्ने व्यवस्थालाई व्यवस्थित गरिनेछ।
३१९. स्थानीय तहमा कानून तर्जुमा र कार्यान्वयन गर्दा मानव अधिकार संरक्षण, सम्वर्द्धन र विकासलाई प्राथमिकता दिइनेछ।
३२०. सम्मानित सर्वोच्च अदालत लगायतका न्यायिक निकायहरुबाट भएका फैसला तथा निर्देशनात्मक आदेशहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
३२१. मेलमिलापको माध्ययमबाट विवाद समाधान गर्दै महानगरमा विवाद न्यूनिकरण गर्ने प्रयत्न गरिनेछ।
३२२. महानगरपालिकाबाट जारी गरिएका कानूनहरुको आवश्यकता अनुसार संशोधन तथा परिमार्जन गरिनेछ ।
३२३. संविधान, सङ्घीय तथा प्रदेश कानुन र महानगरको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधि तथा निर्देशिका तर्जुमा गरिनेछ ।
३२४. न्यायिक समितिका रेकर्डहरुलाई Software System (विद्युतीय प्रणाली) मा राखी व्यवस्थित गरिनेछ।
ष. आर्थिक प्रशासनः
३२५. महानगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व नियमावली तर्जुमा गरी कार्यान्वयन गरिनेछ। पेश्की फर्छ्यौट कार्यलाई निरन्तरता दिइनेछ।
३२६. बेरुजु फर्छ्यौट कार्ययोजना सहित अभियानका रुपमा सञ्चालन गरिनेछ र महानगरपालिकाबाट सम्पादन हुने आर्थिक प्रशासन सम्बन्धी काम कारवाहीलाई पारदर्शी व्यवस्थित र समयानुकुल बनाइनेछ।
३२७. आगामी आ.व. २०८१/८२ देखि Electronic Funds Transfer (EFT) प्रणालीलाई अनिवार्य गरिनेछ।वडालाई भुक्तानी केन्द्रको रुपमा सञ्चालनका लागि आवश्यक कार्य गरिनेछ।
ह. सूचना प्रविधिः
३२८. यस महानगरपालिकामा रहेको श्रेस्ताहरूलाई क्रमशः विद्युतीय माध्यमबाट अभिलेखन गरिनेछ।
३२९. महानगरपालिकामा हाल प्रयोगमा रहेका सबै प्रकारका Software हरुलाई एकीकृत गरी एउटै व्यवस्थित Software निर्माण गरिनेछ।एकीकृत हुन प्राविधिक रुपमा नमिल्ने Software लाई एक अर्कासँग Link गरिनेछ। महानगरपालिकाले Software खरिद/निर्माण गर्दा सूचना प्रविधि शाखाबाट सिफारिस गर्नु पर्ने व्यवस्था अनिवार्य गरिनेछ।
३३०. यस महानगरपालिकाको विद्युतीय अभिलेखलाई सुरक्षित र गोपनीयता कायम गर्नका लागि महानगरपालिकाको आफ्नै स्वामित्वमा रहने गरी डाटा सर्भर राख्न र नेपाल सरकारको स्वामित्व रहेको डाटा सेन्टरमा ब्याकअप प्रयोजन र डिजास्टर रिकभरीका लागि समन्वय तथा व्यवस्थापन गरिनेछ।
३३१. सम्भाव्यताको आधारमा उपयुक्त स्थानहरुको छनौट गरी सम्बन्धित निकायको समन्वयमा Free Wi-Fi Zone को व्यवस्था गरिनेछ।
३३२. विकास निर्माण एवम् सेवा प्रवाहसँग सम्वन्धित गतिविधि तथा क्रियाकलापहरुलाई नागरिक समक्ष तत्काल सम्प्रेषण गर्न सूचना व्यवस्थापन समुह (Information Management Team) को व्यवस्था गरिनेछ। ललितपुर महानगरपालिकाको नियमित प्रकाशन "हाम्रो ललितपुर" र "बगैचा तथा पोखरी" लाई निरन्तरता दिइनेछ। साथै अन्य ज्ञानवर्द्बक प्रकाशनहरु प्रकाशित गरिनेछ।
क्ष. नगर प्रहरी
३३३. सङ्घीय र प्रादेशिक प्रहरीसँग नगर प्रहरीको समन्वयात्मक सह-सम्बन्ध स्थापना गरी नगरवासीको सुरक्षा र गुनासा व्यवस्थापन गरिनेछ।
३३४. विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य र नवीनतम र सिर्जनशील क्रियाकलाप एवम् कर सङ्कलन लगायतका कार्यमा आवश्यकता अनुसार नगर प्रहरीको प्रभावकारी परिचालन गरिनेछ।साइकल लेनमा पार्किङ्ग निषेध गर्ने व्यवस्था मिलाइनेछ।
३३५. नगर प्रहरी बलमा संलग्न जनशक्तिको उत्प्रेरणा एवम् मनोवल अभिवृद्धिका लागि आवश्यक व्यवस्था गरिनेछ। नगर प्रहरीको सेवालाई केन्द्रबाट प्रभावकारी रुपमा परिचालन गर्ने व्यवस्था मिलाइनेछ।
३३६. विपद सुरक्षा तथा व्यवसायजन्य स्वास्थ्य सुरक्षा (Health and Safety) सम्वन्धी सचेतना विकासका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई अनुकरण गर्ने गरी क्षमता विकास गरिनेछ।
अन्त्यमा,
यस नीति तथा कार्यक्रमले सम्पदा संस्कृतिको संरक्षण, विपद व्यवस्थापन, पूर्वाधार निर्माण, हरियाली सहितको वातावरण संरक्षण, लक्षित वर्गको आयआर्जन तथा रोजगारी सिर्जना मार्फत जीवनस्तर सुधार, सेवा प्रवाहमा जवाफदेहिता र सुशासन कायम गर्न सहयोग पु-याउनेछ भन्ने विश्वास लिएको छु। यो नीति तथा कार्यक्रम र यस नीति बमोजिम प्रस्तुत हुने वजेट तथा कार्यक्रमको कार्यान्वयनमा विगतमा झै सबै जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षाकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ-संस्था तथा सरोकारवाला निकायहरु र सम्पूर्ण नगरवासीहरुको सहयोग, सहकार्य एबम् अपनत्व रहनेछ भन्ने विश्वास लिएको छु ।