Odapalika - The Fourth Estate - चौथो अंग
बजेटको मुखमा बैजनाथ गाउँपालिकामा ताला, तारकेश्वरमा आन्दोलन 

काठमाडौँ । स्थानीय तहको बजेट ल्याउनुपर्ने दिन नजकिदै जाँदा बाँकेको बैजनाथ गाउँपालिका र नुवाकोटको तारकेश्वर गाउँपालिकामा आन्दोलन सुरु भएको छ । 

दुबै पालिकामा कांग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष छन् । तारकेश्वरमा एमाले र माओवादीले १७ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । 

उता बैजनाथमा भने कांग्रेस निकट तरुण दलले नै अध्यक्षले भ्रष्टाचार गरेको भन्दै अध्यक्षको कार्यकक्षमा ताला लगाइदिएको छ । 

तरुण दलले विभिन्न ४ वटा सरोकार देखाएर गाउँपालिकामा ताला लगाइदिएको भन्दै विज्ञप्ति जारी गरेको छ । तर अध्यक्ष प्रकाश बहादुर शाहीले भने कार्यकक्षमा कसैले ताला नलगाएको भन्दै एउटा समूहले ज्ञापनपत्र बुझाएर फर्किएको बताएका छन् । 

तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष शिव अधिकारीले मनोमानी ढंगले पालिका चलाएको  र आर्थिक अनियमितता गरेकोे भन्दै एमाले र माओवादी केन्द्रले ध्यानाकर्षण गराएको जनाएको छ ।

मंगलबार गाउँपालिका कार्यालय दानसिंह पुगेका एमाले र माओवादीका नेताहरुले अध्यक्षलाई १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update