Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वी क्षेत्रमा बाढीको चेतावनी, आज कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौँ । जल तथा माैसम विज्ञान विभागले बिहीबार कतिपय जिल्लामा बाढीको गम्भीर खतरा छ भन्दै सतर्क रहन चेतावनी दिएको छ । 

ताप्लेजुंगलगायता जिल्लामा एकसाता यता बाढी पहिराेले आजित पारेका बेला पहाडमा पहिरो र तराईका क्षेत्रमा बाढी आउने भन्दै विभागले सतर्क रहन भनेको छ । 

विभागका अनुसार सिराहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

थप वर्षा हुनसक्ने भएकोले सो क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ । रौतहटको गरुडा र सर्लाहीको मनुसमारा वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । 

आज दिउँसो देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने विभागको भनाइ छ । 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । 

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update