Odapalika - The Fourth Estate - चौथो अंग
कृषि, पर्यटन र उद्योगमा केन्द्रीत बुटवल उपमहानगरको नीति, यस्ता छन् कार्यक्रम

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ /८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

उपमहानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । उपमहानगरपालिकाले कृषि, पर्यटन, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीति  बनाएको छ । 

नगरसभाको १५औँ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य सहर बनाउने ध्येय रहेको बताए ।

उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत सहरको रुपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहरलाई जीवन्त बनाउने, सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने र मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

‘छोरी पढाऔँ समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ । 

विद्यालय खाजा कार्यक्रममा १० रुपैयाँ थप गरी २५ बनाउने नीति लिएको छ । निजी विद्यालयले सबै कक्षामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्तमा विवरण अनिवार्य सार्वजनिक गर्ने नीति ल्याएको छ । 

स्वास्थ्यतर्फ बुटवलले दुई वटा अस्पताल सञ्चालन गर्ने, हरेक ४ महिनामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने, महिलाको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे तथा अन्य स्वास्थ्य परीक्षणका शिविर सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पाण्डेयले सार्वजनिक निजी साझेदारीमा बुटवल–११ मा १ सय बेडको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने बताए ।

मुख्य राजमार्ग क्षेत्र र चोकमा स–साना पार्क, विश्राम चौतारी, सार्वजनिक शौचालय, पिउने पानीको व्यवस्था थप गरी आवश्यकताअनुसार पार्किङ क्षेत्र तोक्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

बुटवल औद्योगिक क्षेत्र, अटो भिलेज र अन्य क्षेत्रमा सञ्चालनमा रहेका उद्योग व्यवसायलाई नगरमा अनिवार्य रुपमा दर्ता गरी करको दायरामा ल्याउने र राजस्व वृद्धिका लागि ‘स्पेसल टास्क फोर्स’ सञ्चालन गर्ने नीति बुटवलले अगाडि सारेको छ । 

आधुनिक पशु बधशालाको मासु उपभोग तथा बिक्री गर्ने मासु पसल, होटल, रेष्टुराँ र अन्य व्यवसायलाई प्रोत्साहनको नीति लिने र पशु बधशालाभन्दा बाहिर खसीबोका बध गर्ने कार्यलाई कानुनबमोजिम रोक लगाउने नीति तथा कार्यक्रममा उल्लेख छ । 

गृहिणी महिलाहरुलाई स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत उत्पादित वस्तुको बिक्री गर्न कोसेली घर स्थापना गर्ने र नगरको चिनोका रुपमा स्थापित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । 

बुटवल भ्रमण वर्ष घोषणा गरी ‘घुमौँ बुटवल’ अभियान सञ्चालन गरी पर्यटक आगमन वृद्धि गर्ने नीति अगाडि सारिएको छ । “बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न कालिकापथ, ट्राफिक चोक, अमरपथ र अन्य आवश्यक स्थानमा रात्रिकालीन बजार सञ्चालन गरिन नीतिमा उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update