Odapalika - The Fourth Estate - चौथो अंग
मेचीनगरको १५ वटै वडामा छैनन् नागरिक बडापत्र

काठमाडौँ । मेचीनगर नगरपालिकाका सबै वडा कार्यालयले अझैसम्म वडावासीलाई प्रदान गरिने सेवा, सुविधा, लाग्ने शुल्क र समयसीमा किटान गरिएको ‘नागरिक बडापत्र’ राखेका छैनन् ।  

कार्यालयमा बडापत्र नराख्दा सेवाग्राही मर्कामा परेका छन् । बडापत्र कार्यालयमा नहुँदा सेवाग्राही काम कहाँ गराउने, सम्पर्क कसलाई गर्ने, शुल्क र समय कति तिर्ने भन्ने विषयमा अन्योलमा पर्ने गरेका जनाइएको छ । 

मेचीनगर नगरपालिकामा १५ वटै  वडामा नागरिक बडापत्र राखिएका छैनन् । हरेक सरकारी कार्यालय परिसरमा सेवाग्राहीले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नुपर्ने कानुनी व्यवस्था छ । मेचीनगरका वडा कार्यालयले यो नियम पालना गरेका छैनन् । 

मेचीनगर–१० का सम्रता न्यौपानेले कार्यालयमा बडापत्र नराख्दा सेवा लिन जाँदा झन्झट बेहोर्नुपरेको  गुनासो गरिन । ‘कुन सेवा कहाँ गएर लिने, कसलाई भेट्ने ? समस्या भयो’, उनले भनिन, ‘यता सोध्यो, उता जानु भन्छन् । उता सोध्यो, फलानो कागज खोइ भन्छन् । यो त झन्झटिलो भयो नि । नागरिक बडापत्र राखिदिएको भए पढ्नेले सजिलै काम गर्न सक्थे ।’

उनले आफूले कर्मचारीसँग सोधेरै काम गराउनुपरेको र सरकारी दस्तुर कति लाग्ने भन्नेबारे पनि कर्मचारीबाटै जानकारी लिनुपरेको बताईन । सेवाग्राहीलाई झन्झटबाट मुक्त गराउन पनि कार्यालयमा नागरिक बडापत्र अनिवार्य रहेको उनको भनाइ छ । 

नागरिक बडापत्र हालसम्म कार्यालयमा नभएको वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले तत्काल बनाउन कर्मचारीलाई निर्देशन दिएको बताए । ‘विगतमा हाम्रो कमजोरी भयो । चाँडै कार्यालयमा नागरिक बडापत्र राखेर सेवाग्राहीलाई सेवा लिन सहज बताउँछाँै’, उनले भने ।

मेचीनगर –७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले नागरिकको सूचनाको हक सुनिश्चित गर्नका लागि नागरिक बडापत्र आवश्यक रहने बताए । उनले नगरपालिका कार्यालयबाटै बडापत्र बनाएर पठाउने भनेकाले अहिलेसम्म पर्खिएर बसेको जनाउँदै अब अन्यको बाटो नहेर्ने र आफैँ नागरिक वडापत्र राख्न लागेको बताए ।

‘जनतालाई सूचनाको हकबाट वञ्चित गर्न मिल्दैन । जति ढिलो भयो भयो, अब साउन १ गतेदेखि कार्यालयमा जनताले देख्ने स्थानमा नागरिक बडापत्र राख्छौँ’, उनले भने । बडापत्रले सेवाप्रदायक सरकारी निकायलाई सेवाग्राहीका आवश्यकताप्रति उत्तरदायी, जवाफदेही र जिम्मेवार बनाउने हुँदा सबै कार्यालयमा यसलाई राख्न आवश्यक छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update