Odapalika - The Fourth Estate - चौथो अंग
कालिका नगरपालिकाको नीति र बजेटः चेपाङलाई हेर्ने, स्थानीयलाई पाल्ने

काठमाडौँ । चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ८७ करोड ७८ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

उपमेयर बिमला तामाङले सो बजेट पेश गर्नुअघि मेयर बिनोद रेग्मीले नगरको नीति तथा कार्यक्रम पेश गरेका थिए ।  नीति तथा कार्यक्रममा चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन ‘मेयरसँग केयर’देखि रोजगारीसम्मका कार्यक्रम छन्  । 

अति विपन्न चेपाङ बालबालिकालाई विद्यालयमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न ‘मेयरसँग केयर’ कार्यक्रम ल्याइएको रेग्मीले बताए ।

नगरले चेपाङ तथा अति विपन्न बालबालिकालाई विद्यालय ल्याउन, टिकाउन, सिकाउन र विकाउन यो कार्यक्रम सञ्चालन गर्ने योजनासहित नीति तथा कार्यक्रममा समावेश गरेको बताएको छ । 

नगरप्रमुख रेग्मीले ‘मेयरसँग केयर’ कार्यक्रमअन्तर्गत छात्रवृत्ति, शैक्षिक सामग्री, पोसाकसहित दिवा खाजालाई प्रभावकारी बनाइने र आवासीय विद्यालय सञ्चालन गरिने जानकारी दिए ।

एक वडा एक खेलकुद मैदान, विपन्न समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, कार्यालयदेखि खेतसम्म प्रविधिको प्रयोगलगायत विषय समावेश गरिएको छ । 

उपप्मुखले पेश गरेको बजेटमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि राजस्व तथा अनुदान प्राप्तिको अनुमानका आधारमा ८७ करोड ७८ लाख ८१ हजार रुपैयाँको बजेट पेश गरिएको बताइएको छ । 

नगरसभाको पहिलो बैठकबाट मेयर रेग्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ भने उप मेयर तामाङले प्रस्तुत गरेको प्रस्तावित बजेट छलफलपछि पारित हुने प्रमुख प्रशासकीय अधिकृत चुडामणि गौतमले जानकारी दिए ।

बजेटमा आन्तरिक आयतर्फ ६ करोड, राजस्व बाँडफाँटबाट १८ करोड २४ लाख ३१ हजार, जनसहभागिताबाट १ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकारतर्फबाट  ४५ करोड १५ लाख, अन्तरसरकारी वित्तीय हस्तान्तरण बागमती प्रदेश सरकारकातर्फबाट ७ करोड ३९ लाख ५० हजार, सडक बोर्डबाट रु ५० लाख, जिल्ला समन्वय समितिबाट ५० लाख, मालपोत रजिष्ट्रेसन र नदीजन्य पदार्थबाट ६ करोड र गत वर्षको जिम्मेवारी सर्नेगरी ३ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।

कृषि र पशुपालनको विकास गरी उत्पादन बढाउन अधिकतम अनुदान, कार्यालयदेखि खेतसम्म प्रविधिको प्रयोग, रैथाने बालीको संरक्षण, कालिकाको सान विषादीमुक्त खानपान, नगर किसान सम्मान, खाद्य सुरक्षाका लागि मीठोमसिनो खाउँ, खाना नफालौँ भन्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

आगामी आर्थिक वर्षमा २५० जनालाई रोजगारी, कोसेली घर निर्माण, पर्यटन विकासमार्फत स्थानीयको आयआर्जन र चेपाङबस्तीमा फलफूलखेतीलाई जोड दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update