Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिष्ठानका नाममा दलहरुले एक वर्षमै लगे काठमाडौँ महानगरपालिकाबाट १२ करोड 

काठमाडौँ । राजनीतिक दलका नेताहरुले चलाइरहेका विभिन्न प्रतिष्ठानले काठमाडौं महानगरपालिकाबाट समेत मोटो रकम लाने गरेको भेटिएको छ । 

संघीय सरकारबाट हरेक वर्ष प्रतिष्ठानका नाममा ठूलो धनराशी खर्च भइरहेका बेला प्रतिष्ठित व्यक्तिका नामा प्रतिष्ठान दर्ता गरेर संघदेखि स्थानीय सरकारसम्म पुगेर अनुदान असुल गर्ने क्रम फष्टाउँदै गएको देखिएको छ । 

फजुल खर्चलाई नियन्त्रण गर्ने र राजनीतिक दल र नेताप्रति कडा व्यवहार गर्दै आएका मेयर बालेन्द्र शाह (बालेन)समेतलाई प्रभावमा पारेर आर्थिक वर्ष २०८९/०८० मा १ सय भन्दा वढी प्रतिष्ठानले महानगरबाट पैसा लगेका छन् । 

यसरी पैसा लानेमा कांग्रेस, एमाले, माओवादी, मधेशबादी दलदेखि लिएर महानगरकै जग्गा भाडामा लिएर बस्दै आएका संस्थासमेत छन् । 

काठमाडौँ महानगरपालिकाले सम्मानित पदमा पुगेर मृत्यु भइसकेका नेताका नाममा खुलेको प्रतिष्ठानलाई एकै वर्षमा १ करोड २० लाख रुपैयाँसम्म अनुदान दिएको भेटिएको छ । 

प्रतिष्ठानले महानगरबाट लगेको यस्तो रकममा महालेखा परीक्षकको कार्यालयले भने प्रश्न उठाएको छ । महालेखाका अनुसार अनुदान लाने १०० मध्ये दल निकट र मेयर बालेन र उपमेयर सुनिता डंगोलसँग पहुँच राख्न सक्ने १४ वटा प्रतिष्ठानले मात्र १२ करोड १५ लाख रुपैयाँ लगको छन् । 

महानगरबाट भवन बनाउनेदेखि लिएर विभिन्न कार्यक्रम गर्ने भन्दै अनुदान लाने यी संस्थाले रकम लगेको उद्धेश्य अनुसारको काम गरेको विवरण भने महानगरमा पेश गर्न सकेका छैनन् । विवरण पेश नगर्ने यस्ता प्रतिष्ठानमाथि हरहिसाव देखाउन महानगरले समेत कुनै बास्ता नगरेको महालेखाले तयार पारेको काठमाडौँ महानगरपालिकाको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । 

महानगरबाट अनुदान लानेमा विपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, मदन भण्डारी, शुसील कोइराला, महेन्द्रनारायण निधि, गजेन्द्रनारायण सिंह, राम राजाप्रसाद सिंहजस्ता प्रख्यात नेताका नाममा खुलेका प्रतिष्ठान छन् । 

यी प्रतिष्ठानमा सम्वन्धित दलका शीष नेतादेखि केन्दीय कमिटीमा रहेका नेतासम्मले नेतृत्व गर्ने गरेका छन् । 

यी हुन् सबैभन्दा वढी रकम लाने १४ प्रतिष्ठान, कसले कति लगे ?

विपी कोइराला प्रतिष्ठानः १ करोड २० लाख रुपैयाँ

पुष्पलाल स्मृति प्रतिष्ठानः १ करोड २० लाख रुपैयाँ

गणेशमान सिंह प्रतिष्ठानः १ करोड २० लाख रुपैयाँ

जिपि कोइराला प्रतिष्ठानः १ करोड २० लाख रुपैयाँ

शुसील कोइराला प्रतिष्ठानः १ करोड २० लाख रुपैयाँ

रामराजाप्रसाद सिंह प्रतिष्ठानः ७५ लाख रुपैयाँ

गजेन्द्र नारायण सिंह प्रतिष्ठानः ७५ लाख रुपैयाँ

पोष्टबहादुर बोगटी फाउण्डेशनः ७५ लाख रुपैयाँ

शहिद प्रतिष्ठान नेपालः ७५ लाख रुपैयाँ

शहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसन नेपालः ७५ लाख रुपैयाँ

इन्द्रेणी सांस्कृतिक विकास केन्द्रः ७५ लाख रुपैयाँ

प्रज्ञा स्मृति प्रतिष्ठानः ७५ लाख रुपैयाँ

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानः ६० लाख रुपैयाँ 

मदन भण्डारी स्पोटर्स एकेडेमीः ३० लाख रुपैयाँ 

जम्मा १२ करोड १५ लाख रुपैयाँ
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update