Odapalika - The Fourth Estate - चौथो अंग
नाम्खा गाउँपालिकाले अब सम्भोटा लिपि र भोट भाषामा पनि पढाउने

हुम्ला । नाम्खा गाउँपालिकाभित्रका कक्षा ८ सम्मका विद्यार्थीले कक्षा कोठामा लिमी सम्भोटा र हुम्ली भोट लामा भाषामा पनि पढ्न पाउने भएका छन् । 

गाउँपालिकाले यी २ भाषालाई स्थानीय भाषाका रुपमा सूचीकृत गर्दै पठ्यक्रम बनाउने तयारी थालेको छ । 

पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न सामक्याप तामाङको संयोजकत्वमा ९ सदस्यीय पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरेको जनाएको छ । 

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार पालिकाको शिक्षा समितिले स्थानीय भाषा र तिब्बतीयन भाषा अध्ययन अध्यापनका लागि लागि समिति गठन गरेको हो । 

समितिले गाउँपालिकाको आर्थिक सहयोगमा लिमी सम्भोटा र हुम्ली भोट लामा भाषामा पाठ्यक्रम लेखन तथा निर्माणको काम अगाडि बढाइसकेको जनाएको छ । 

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार कार्यदलले सम्वोटा लिपि र खाम भाषामा समेत पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्नेछन् । 

पालिकाभित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने उनको भनाइ छ । पालिकाभित्र एउटा १२ कक्षासम्म पढाइ हुने माध्यमिक विद्यालय, ४ वटा निम्न माध्यमिक विद्यालय र अन्य आधारभूत विद्यालय छन् । 

संस्थागत, धार्मिकसहित यी सवै विद्यालयमा ऐच्छिक विषयका रुपमा स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी गाउँपालिकाको रहेको उनको भनाइ छ । 

स्थानीय भाषामा पाठ्यक्रम बनाएर कार्यान्वयन गर्ने तयारी गरिरहेको पालिकाले विज्ञान, गणित र अंग्रेजीका विषयगत शिक्षकहरुको भने चरम अभाव रहेको जनाएको छ । 

कक्षा १ देखि ८ सम्मको स्थानीय भाषाको पाठ्यक्रम तयार गरिने समितिमा  पाल्जोर तामाङ र कन्जोक लामा मनराज बुढा सदस्य छन् । स्थानीय भाषा ऐच्छिक विषयका रुपमा रहने छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update