Odapalika - The Fourth Estate - चौथो अंग
वीरगञ्ज महानगरको बजेट घट्यो, शिक्षादेखि सरसरफाइसम्म प्राथमिकतामा 

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

महानगर उपप्रमुख इम्तियाज आलमले शनिवार नगरसभाको १५औँ अधिवेशसनमा चालु आर्थिक वर्षको भन्दा ६२ करोड कम आकारको बजेट सार्वजनिक गरिन् ।

आगामी आवको बजेटमा चालु खर्चतर्फ २ अर्ब चार करोड ६६ लाख ९ हजार अर्थात् ७०.७, पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८हजार अर्थात् २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ । साथै वित्तीय व्यवस्थातर्फ ३ करोड ६४ लाख अर्थात् १.२ प्रतिशत विनियोजन गरिएको छ । 

महानगरले आगामी आवमा आन्तरिक राजस्वबाट रु ७९ करोड ७५ लाख २७ हजार खर्च ब्यहोर्ने छ भने सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख ९ हजार, सङ्घीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख र प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख ८ हजार रुपैयाँ श्रोत अनुमान गरेको छ । 

त्यसैगरी, प्रदेश राजस्व बाँडफाँटबाट २ करोड २८ लाख, अन्य स्रोतबाट २ करोड ४० लाख र नगद मौज्दातबाट  १० करोड ब्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ । 

    आगामी आवको बजेटको प्राथमिकतामा शिक्षा एवं स्वास्थ्य, सरसफाइ व्यवस्थापन एवं वातारण संरक्षणलाई राखिएको छ । साथै बजेटमा पर्यटन एवं कृषिदेखि गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई उच्च प्रथामिकतामा राखिएको छ । 

महानगरले बजेटमा स्थानीय प्रशासन तथा प्रहरीसँगको समन्वयमा नगरका विभिन्न स्थामा सिसिटिभी क्यामरा जडान गर्ने योजना राखेको छ । साथै ऐतिहासिक लालबङ्गला क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण कार्यको प्रक्रिया अघि बढाइने पनि बजेट वक्तव्यमा उल्लेख छ । महानगरले नक्सापास गर्दा अनिवार्य दुईवटा बिरुवा रोप्ने नीति लागू गर्ने भएको छ । 

आगामी आवको बजेटमा लक्ष्मणवा पार्कलाई ज्येष्ठ नागरिकमैत्री पार्कका रुपमा विकास गर्ने घोषणा गरिएको छ भने कृषि उत्पादन प्रवद्र्धनका लागि स्वरोजगारी कार्यक्रममार्फत बाँझो रहेको सार्वजनिक जमिन एवं बगरमा कृषक समूह गठन गरी खेती गर्न प्रोत्साहन गर्ने भएको छ । 

रासायनिक मलप्रतिको आकर्षण एवं निर्भरता पनि कम गर्दै लैजाने र सार्वजनिक पोखरी र सिर्सिया नदीको प्रदूषण न्यूनीकरणलाई पनि बजेटमा समावेश गरेको छ । नगरभित्रका सार्वजनिक जग्गा संरक्षणलाई पनि निरन्तरता दिएको छ । 

महानगरभित्र स्थापित उद्योगहरुले आफ्नो श्रमशक्तिको कम्तीमा २५ प्रतिशत रोजगारी महानगरवासीलाई दिएमा त्यस्ता उद्योगको व्यवसाय कर र सम्पत्र् िकरमा समेत छुट दिने नीति अङ्गीकार गरिएको छ । सङ्घीय सरकारको सहयोगमा महागरमा औद्योगिक ग्राम स्थापना गर्ने कार्यलाई अघि बढानेछ बजेटमा उल्लेख छ । 

महानगरभित्रका मठमन्दिर, विहार र मस्जिदलगायतको संरक्षण र प्रवद्र्धन गर्ने योजना पनि बजेटमा समावेश छ । महानगरले आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रीकृत रुपबाट उपलब्ध गराउने कार्यलाई पनि निरन्तरता दिएको छ । लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्ने, औषधि छर्किेने अभियानलाई पनि बजेटमा समावेश गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update