Odapalika - The Fourth Estate - चौथो अंग
काठेखोला गाउँपालिकाको नीतिः गोरुलाई पोस्ने, सिन्की बनाएर बेच्ने 

काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।गाउँपालिका अध्यक्ष राजु थापाले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिइएको छ । 

पालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नारासहितको कार्यक्रम कार्यक्रम अघि सारेको छ ।  नीति तथा कार्यक्रममा स्थानीय स्रोत साधनको उच्चतम परिचालन र न्यायोचित वितरणद्वारा नागरिकले आर्थिक, सामाजिकस्तरमा वृद्धि गर्दै समृद्ध, समातामूलक र सुशासनयुक्त काठेखोला गाउँपालिका निर्माण गर्ने लक्ष्य राखिएको छ । आर्थिक विकासका लागि कृषि पकेट पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

तरकारी मिनिकिट अनुदान, कृषि तथा पशु उद्यमशीलता विकास परियोजनालगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ । काठेखोला गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । आफ्नो नीति तथा कार्यक्रममा गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन कार्यक्रम लिएको गाउँपालिका अध्यक्ष थापाले बताए । 

कार्यक्रमअन्तर्गत स्थानीय गोरु संरक्षणका लागि अनुदान दिइनेछ भने हरेक वडामा वडास्तरीय भेटेरिनरी माइनर ल्याब स्थापना गरिने छ । नीति तथा कार्यक्रममा काठेखोला कोसेलीघर सञ्चालनमा ल्याउने उल्लेख छ । 

पालिकाभित्र उत्पादन हुने सिन्की, भाँगो, हँसिया, कोदाली, हस्तकलाका सामग्रीका साथै नाङ्लो, डाली, मकैको भुत्लाबाट निर्माण हुने फूलजन्य सामग्री संकलन गरी बजारीकरण गर्ने उद्देश्यले काठेखोला कोसेलीघर सञ्चालन गरिने उल्लेख छ ।

त्यस्तै पालिकाभित्रका खानी उत्खननका लागि अनुसन्धान गर्न संघ तथा प्रदेश सरकारसँग समन्वय गरी स्रोत जुटाउन आवश्यक पहल गरिने, वडा नं १ मा हाटबजार स्थापना गरिने, पालिकामा उत्पादन हुने दुग्ध पदार्थ, मासुजन्य उत्पादन, सुन्तला र आलुको परिकारलाई थप व्यवस्थित गरी गाउँपालिकाकै पहिचानको रुपमा स्थापित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

गाउँपालिकाले नगर प्रहरी राख्ने समेत तयारी गरेको छ । त्यसका लागि काठेखोला गाउँपालिका नगर प्रहरी सञ्चालन तथा व्यवस्था गर्न बनेको विधेयक गाउँसभामा पेस गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update