Odapalika - The Fourth Estate - चौथो अंग
म्याग्दीका ४ पालिकाको बजेटः  गाँजा खेतीदेखि लोकल रक्सीको ब्राण्डिङसम्मले पाए पैसा 

काठमाडौँ । म्याग्दीका ४ वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित गरी बजेट ल्याएका छन् । 

सदरमुकाममा रहेको बेनी नगरपालिकाले ७२ करोड ७८ लाख १३ हजार रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख ज्योति लामिछानेले सार्वजनिक गरेको बजेटमा ६९ प्रतिशत प्रशासनिक र विकासतर्फ ३१ प्रतिशत बजेट खर्च गर्ने भनिएको छ भने पूर्वाधार विकासमा कुल वजेटको २१ प्रतिशत खर्च गर्ने भनिएको छ । 

कार्यालय व्यवस्थापन, कर्मचारी, जनप्रतिनिधिको सुविधामा १२ करोड ३१ लाख ७५ हजार रुपैयाँ छुट्याइएको बजेटमा  एक वडा एक उत्पादनका लागि समेत बजेट छुट्याइएको छ ।  

धवलागिरी गाउँपालिकाले ४३ करोड २७ लाख ६८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

संघीय सरकारबाट प्राप्त हुने ३८ करोड ५५ लाख, प्रदेश सरकारबाट आउने २ करोड ८२ लाख ६८ हजार, आन्तरिक आयबाट ४० लाख र चालु आर्थिक वर्षमा खर्च हुन बाँकी १ करोड ५० लाख रुपैयाँलाई श्रोत मानेर पालिकाले बजेट ल्याएको हो । 

तीनबटै सरकारको साँझेदारीमा बन्न लागेको लुलाङ–गुर्जा सडकलाई १ करोड रुपैयाँ बजेट छुट्याएको पालिकाले पूर्वाधारमा ८ करोड ७२ लाख ७० हजार खर्चिने भएको छ । 

आर्थिक विकासतर्फ ७४ लाख ६० हजार, सामाजिक विकासतर्फ ३ करोड ३९ लाख ३४ हजार, बन वातावरण तथा विपत व्यवस्थापनमा ६९ लाख ३६ हजार, संस्थागत विकास र सुसाशनमा ८९ लाख १८ हजार रुपैयाँ रकम पालिकाले छुट्याएको छ । 

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारीलाई प्राथमिकता दिइएको पालिकोको नीति तथा कार्यक्रममा गाँजा खेतीलाई प्रोत्साहन गर्ने, कृषि र जडिबुटी खेती, पशुपालन हुँदै पर्यटन विकास समेतका लागि बजेट छुट्याइएको छ । 

जिल्लाको मालिका गाउँपालिकाले ४७ करोड ७४ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको छ । पालिका अध्यक्ष बेग प्रसाद गर्वुजाले पेश गरेको नीति तथा कार्यक्रम पारित गरेलगत्तै उपाध्यक्ष लक्ष्मीदेबी घर्तीमगरले गाउँसभामा बजेट पेश गरेकी हुन् । 

उनले चालुतर्फ ३१ करोड ५ लाख ५५ हजार र पुँजीगततर्फ १६ करोड ६८ लाख ८५ हजार रुपैयाँ बजेट छुट्याएकी छन् । पालिकाले लोकल रक्सीलाई ब्राण्डिङ गर्न १४ लाख रुपैयाँ बजेट छुट्याएको छ । 

जिल्लाकै सबैभन्दा सानो भुगोल भएको मंगला गाउँपालिकाले ४९ करोड, ९ लाख ३१ हजार ८०० रुपैयाँको बजेट ल्याएको छ । 

१ करोड ८० हजार रुपैयाँ आन्तरिक आयको लक्ष्य राखेको पालिकाले खानेपानीका लागि सबैभन्दा धेरै बजेट खर्च गर्ने भएको छ भने त्यसपछि शिक्षामा खर्च गर्दैछ । 

उसले खानेपानीका लागि २२ करोड र शिक्षामा १७ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट सार्वजनिक गरेको हो । 

बिदेश होइन बिजनेश भन्ने नाराका साथ नीति तथा कार्यक्रममा शिक्षामा लगानी गर्ने घोषणा गरिए अनुरुप शिक्षामा बजेट बिनियोजन गरेको उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले बताइन् । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update