Odapalika - The Fourth Estate - चौथो अंग
एउटै सिलिङको बजेट ल्याउने तराई र पहाडका २ पालिकाः के उस्तै के फरक ? 

काठमाडाैँ । स्थानीय तहहरुले धमाधम आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पािरत गरेर बजेट सार्वजनिक गरिरहेका छन् । कतिपय पालिकाले गतवर्षको भन्दा बजेटको आकार घटाएका छन् भने कतिपयले बढाएका छन् । 

मोरङको कटहरी गाउँपालिकाले गत वर्षको भन्दा ५ करोड रुपैयाँ कमको बजेट ल्याउदा पहाडी क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिकाले पनि कटहरीकै हाराहारीमा बजेट ल्याएको छ । 

कटहरीले ५० करोड ८२ लाख रुपैयाँ हाराहारीको बजेट ल्याउँदा जलजलाका उपाध्यक्ष दीपक आचार्यले ५० करोड ४ लाख १३ हजार रुपैयाँको बजेट सार्वजनिक गरे । 

उसले शिक्षा, स्वास्थ्य, सडक, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ भने कटहरीले कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ ।

जलजलाको बजेट 

जलजला गाउँपालिकाले बजेटमा संघ र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, विशेष अनुदान, शसर्त अनुदान, राजश्व बाँडफाँड र पालिकाको आन्तरिक आयलाई समावेश गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिए ।

बजेटमा संघीय सरकारको ४३ करोड १९ लाख ३ हजार, प्रदेश सरकारको २ करोड ८२ लाख ७२ हजार, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने ४ करोड २ लाख ३८ हजार रुपैयाँलाई बजेटको स्रोत मानिएको छ । 

प्रस्तावित व्ययमा अनुदान तर्फ २८ करोड १५ लाख ३ हजार, गाउँपालिका स्तरीय एवम् वडा पूर्वाधार विकास तर्फको पुँजीगत तर्फ २६ करोड १ लाख र कार्यालय सञ्चालन, कर्मचारी पारिश्रमिक तथा पदाधिकारी सेवा सुविधा समेत ९ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

कटहरीको बजेट 

मोरङको कटहरी गाउँपालिकाले ५० करोड ८२ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष सीतादेवी राजवंशीले चालु आवको तुलनामा ५ करोड ४८ लाख ९९ हजार १०० रुपैयाँ कमको बजेट सार्वजनिक गरिन् ।

बजेटमा चालु खर्चतर्फ ११ करोड ६८ लाख ८४ हजार र पुँजीगततर्फ  ३८ करोड ३१ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा कटहरी गाउँपालिकाले चालु खर्चमा १० करोड ४७ लाख ६८ हजार विनियोजन गरेको थियो भने पुँजीगत खर्च ४४ करोड ७५ लाख १३ हजार १०० सय रुपैयाँ विनियोजन गरेको थियो । 

पालिकाले चालु आवमा विकास खर्च र सञ्चालन खर्च दुबै घटाएको छ । राजश्व बाँडफाँड र समानीकरण अनुदानको रकम घटेर आएकोले बजेटको आकार घटाइएको उसले बताएको छ । 

कटहरी गाउँपालिका कृषिमा आधारित पालिका भएकाले नीति तथा कार्यक्रमा कृषिक्षेत्रलाई महत्व दिएको छ  आगामी आर्थिक वर्षमा दुई हजार हेक्टर जग्गामा थप सिँचाइ सुविधा र्पुयाउने लक्ष्यसहित विभिन्न वडाहरूमा डिप ट्युबवेल तथा मोटरपम्प जडान गरिने योजना छन् । 

कृषिलाई कटहरीको आकर्षण, कृषिमा आधारित पर्यटन भन्ने सोचलाई सार्थक बनाउन कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरण गरी उत्पादन बढाउन बजेट छुट्याइएको छ । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update