Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वछापामारको क्रान्ति ः १० वर्ष बन्दुक, ७ वर्षदेखि कृषि 

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-४ उपल्लो बुकेनीका दलवीर पुनलाई बेमौसमी बन्दा उत्पादनमा यतिबेला भ्याइ नभ्याइ छ । 
समुन्द्री सतहदेखि २ हजार २०० मिटर उचाइको उपल्लो बुकेनीमाउनको एनएमडी कृषि तथा पशुपक्षी फार्म छ । जहाँ ढकमक्क बन्दा छन् बारीभरी । 

३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेका छन् । ‘बेमौसममा खेती गर्न सकिने जातको बन्दा परीक्षणका लागि लगाएको हुँ,’ उनी भन्छन्, ‘वैशाखमा लगाएको बिरुवा हुर्किएर बन्दाको आकार लिएको छ । साउन पहिलो हप्तादेखि बजार पठाउने तयारीमा छु ।’

पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रिन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देल जिल्लामा पहिलो पटक बर्खायाममा बन्दा उत्पादन भएकोमा खुसी छन् । 

भन्छन्, ‘बन्दा हिउँदे तरकारी बाली हो, अहिले बर्खामा पनि खेती गर्न सकिने जातको विकास भएको छ र कृषकले उत्पादन गरेर आम्दानी नै लिने अवस्था आएकोमा खुसी छु ।’

३ वर्षदेखि टमाटरखेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दाखेती गरे । उनको फार्ममा ५ वटा सेमी हाइटेक टनेलमा टमाटर खेती गरिएको छ । 

खुला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको उनी बताउँछन् । २०५७ देखि २०६८ सम्म तत्कालीन माओवादीले सञ्चालन गरेको शसस्त्र बिद्रोहमा जनमुक्ति सेनाका रुपमा सहभागी थिए पुन । 

नेकपा माओवादी केन्द्रको वडा कमिटी अध्यक्ष पुन दहवन शिविरबाट स्वेच्छिक अवकाश लिएपछि करिब ५ वर्ष रोल्पामै व्यापार, व्यवसाय गरेर बसे । ७ वर्षअघि घर फर्किएर २१ रोपनी जग्गा किनेर कृषि फार्म स्थापना गरेपछि उनले उनले कहिल्यै पछि फर्केर हेर्नु परेन । 

बाख्रापालनबाट फार्म सुरु गरेका पुन ३ वर्षयता टमाटर र बेमौसमी तरकारी खेतीमा केन्द्रित छन् । फार्ममा हालसम्म  ५० लाख रुपैयाँ लगानी भइसकेको पुनको दाबी छ । 

‘कृृषिमार्फत नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचेर विदेश आफ्नै ठाउँमा खेती गरेर बसेको छु,’ उनी कृषि पेशाप्रति गर्व गर्दै भन्छन्, ‘आम्दानीबाट सन्तुष्ट छु । फार्मको पूर्वाधारमा पनि लगानी विस्तार गरेका कारण छोराछोरीलाई सदरमुकामको निजी विद्यालयमा पढाउन सक्ने भएको छु ।’

झिसमिसेदेखि साँझसम्म फार्ममा काम गर्ने पुनले आवश्यकताअनुसार स्थानीय मजदुरलाई ज्यालामा काम लगाउँछन् । मसलेदार फल टिम्मुरको खेती पनि छ उनको ।  अब जडिवुटी खेती गर्ने सोचमा रहेको उनी बताउँछन् । 

सिँचाइ सुविधा र चिसो हावापानी भएकाले तरकारी खेती प्रभावकारी भएको छ । सडक पुगे पनि यातायातको असुविधाका कारण ढुवानीमा धेरै खर्च हुने, बजारमा व्यापारीले भनेको मूल्यमा सामान बेच्नुपर्दा भने समस्या भएको उनी बताउँछन् । 

उनको फार्ममा उत्पादन भएका तरकारी बेनी, बागलुङका अतिरिक्त पोखरासम्म जान्छ । यतिसम्मकी उनी सामाजिक सञ्जाल फेसबुकमार्फतसमेत तरकारीको बजारीकरण गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update