Odapalika - The Fourth Estate - चौथो अंग
उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न 

 काठमाडौँ । युवालाई उद्यमशीलताका लागि अभिप्रेरित गर्ने उद्देश्यसहित आयोजना भएको उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न भएको छ। 

 राष्ट्रि निर्माण नेपाल मञ्च र उद्यमशील युवा सृजनशील युवा अभियानले आयोजना गरेको कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो। 

देशभरबाट ३ सयभन्दा बढी युवाहरूको सहभागिता रहेको कन्क्लेभमा नीति निर्माता, उद्यमी व्यवसायी, युवा नेताहरूले विभिन्न विषयमा धारणा राखेका थिए। युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्नका लागि नीतिगत व्यवस्था, व्यवाहरिक समस्या र भविष्यका बारेमा जानकारी दिइएको थियो। 

 तीनवटा भिन्न भिन्न सेसनमा वक्ताहरूले युवाहरूलाई प्रेरित गरेका थिए। 

पहिलो सेसनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, अर्थशास्त्री डा. अच्युत वाग्ले र नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष ज्योत्सना श्रेष्ठले धारणा राखेका थिए। 

अर्थमन्त्री डा. महतले युवाहरू पछिल्लो समय देखासिकीमा विदेश जाने लहडमा लागेको र यसलाई रोक्नका लागि उद्यमशीलता विकासका लागि सरकारले उत्प्रेरणात्मक कार्यक्रम ल्याएको बताए । नेपालमै पर्याप्त अवसर भएको र यसलाई खोजी गर्ने जिज्ञासु युवाहरूलाई स्रोत साधनको अभाव नहुने र सरकारको पनि साथ र समर्थन रहने उनको भनाइ थियो। 

पूर्वअर्थमन्त्री  युवराज खतिवडाले उद्यमशीलता व्यक्तिको विशेष क्षमता भित्र पर्ने बताए। उद्यमशीलताको वातावरण शिक्षाबाट सुरू हुने भन्दै उनले शिक्षा क्षेत्रमा कमजोरी देखिएको बताए। उच्च शिक्षा लिन नसक्ने जनशक्तिलाई केन्द्रित गरेर सीप विकास र वित्तीय स्रोत व्यवस्थापन केन्द्रित कार्यक्रम ल्याउनु पर्ने  उनले बताए।

उद्यमशील युवा सृजनशील युवा अभियानका संयोजक भुपेन्द्रजंग शाहीले युवाहरूलाई आर्थिक क्रियाकलापमा जोड्नु पर्ने बताए। उनले बहुसंख्यक जनसंख्या युवा रहेकै सन्दर्भमा उनीहरूको उपयोग आर्थिक उन्नयनमा गर्नुपर्ने बताए। 

‘आर्थिक विकासको लागि युवाहरूलाई उद्यमशीलतामा जोड्न आवश्यक छ । यसको लागि पुँजी, सीप, कानुनी सहायतामा राज्यको उपस्थिति आवश्यक पर्छ,’ उनले भने ।

राजनीतिक अभियानबाटमात्र देशको आर्थिक विकास सम्भव नहुने भन्दै शाहीले उद्यमशीलता विस्तार र रोजगारी सिर्जनामा सबै एक भएर लाग्नुपर्ने बताए। यसका लागि आफूले देशभर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्। 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले युवालाई केन्द्रित गरेर बैंकले नयाँ नयाँ कार्यक्रम सञ्चालन गरेको बताए। उनले १० प्रकारका युवा उद्यमशीलता सम्वन्धी कार्यक्रममा बैंकले कर्जा प्रदान गरेको जानकारी गराए।

कार्यक्रमको दोस्रो सेसनमा उद्यमशीलताको विकास क्रमका लागि बाधक, सम्भावना र भविष्यका बारेमा छलफल भएको थियो। सो क्रममा युवा उद्यमी रन्जित आचर्यले उद्यमशीलता विकासका लागि सरकारको मुख ताकेरभन्दा पनि सिर्जनशील सोचबाट उद्यमशीलता आफै जन्मिने धारणा राखे ।

अहिलेकै राजनीतिक तथा प्रशासनिक सोच र शैलीमा सुधारको सम्भावना नदेखिएको र यसैको निरन्तरताबाट उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जना नहुने उनीहरूको भनाइ छ। 

युवा अर्थशास्त्री समीर खतिवडाले कुनै पनि देशमा युवा बेरोजगारी र मूल्यवृद्धि एक साथ हुँदा व्यवस्थामै संकट आउने बताए। नेपालमा अहिले यो एकसथा भइरहेको उनको भनाइ छ।

‘तर ती सबै युवा नेपाल छाडेर विदेश गइरहेका छन् त्यसैले गर्दा यहाँ विद्रोह देखिएको छैन’ उनले भने। 

नेपाल सरकारले अहिलेसम्म बेरोजगारी र मूल्यवृद्धिलाई गम्भीर रुपमा नलिएको र त्यसका लागि नीतिग पहल नलिएको उनको भनाइ छ। ‘ नीति आएपनि त्यसको कार्यान्वयन टिठ लाग्दो छ त्यसैले गर्दा यसमा कोही पनि गम्भिर छैनन् भन्ने देखाउँछ’ उनले भने। 

कार्यक्रममा बोल्दै नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले अहिले तत्काल राजनीतिक प्रणाली र कर्मचारीतन्त्रमा सुधारको सम्भावना भएको  र यो नहुँदासम्म सरकार प्रभावकारी बन्ने सम्भावना नभएको बताए ।

उद्यम व्यवसायका लागि वित्तीय स्रोतको धेरै समस्या नभएको उनको भनाइ छ। साँच्चिकै सम्भाव्य कुनै पनि व्यवसायको योजनासहित बैंकमा ऋणको माग भएमा दिन कुनै पनि कठिन नभएको उनको भनाइ छ। युवा उद्यमीहरूका लागि पछिल्लो समय विभिन्न स्किम पनि भएकाले यसबाट लाभ लिनसक्ने उनको भनाइ छ। 

युवा स्वरोजगार कोष का उपाध्यक्ष देबराज कल्याण रोकाले युवाहरुलाइ रोजगारमा जोड्न तयार भएको बताए । त्यस्तै अन्तिम सेसनमा युवा नेताहरुले आफ्नो छलफल गरेका थिए। विभिन्न भूमिका रहेका युवा नेताहरूले वर्तमान अवस्था, राज्यको नीति र युवाहरूको भविष्यका बारेमा उनीहरूले छलफल गरेका थिए। 

उक्त सेसनमा नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्ण, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र वस्नेत र नेपाल उद्योग वाणिज्य महासंघका युवा कार्यकारीणी समिति सदस्य मनोज पौडेल , युवा उद्यमी निरज काफ्लेले धारणा राखेका थिए। 

युवा उद्यमी र नेताहरूले नेपालको भविष्य उज्जल भएपनि अहिलेको समयमा देखिएको युवा पलायनको अवस्था डरलाग्दो भएको बताएका थिए। नेपालमा चौतर्फी सम्भावना भएको र राजनीतिक रुपमा युवाहरू जागरुक भएपनि उत्पादन, उद्यमशीलता र रोजगारीमा जोडिन नसक्दा निरासा जस्तो देखिएको रञ्जित कर्णले बताए।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update