Odapalika - The Fourth Estate - चौथो अंग
बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निर्णय गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताएका छन् ।  

सोमबार नगर बजेट सार्वजनिक कार्यक्रममा एमालेका नगर सभा सदस्य पराजुलीले भने ‘हेर्दा तपाइँ स्वतन्त्र र एक्लै भएपनि हामी सबै साथीहरुले राम्रा काममा तपाइँलाई साथ दिन्छौं । अब नराम्रो गर्न थाल्नुभयो भने मेयरसाब यो चाँही कमजोरी भयो यसलाई सुधार गरौं भन्छौं । भन्दा पनि मान्नुभएन भने रामराम भन्छौं काँध थाप्दैनौं ।’

उनले अघिल्ला दिनहरुमा प्रमुख शाहलाई साथ सहयोग गरेको र आगामी दिनमा पनि राम्रा काममा निरन्तर गर्ने उल्लेख गर्दै सामाजिक सञ्जालबाट जनतामा भ्रम छर्ने कार्य गर्न नहुनेमा जोड दिए । सकेसम्म नगरका निणर्य प्रकृयामा सर्वसम्मतिमा जानुपर्ने उनको धारणा छ । 

केही दिन बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न तोकिएको समयलाई लिएर नगरप्रमुख बालेन शाहले सामाजिक सञ्जालबाट गरेको टिप्पणी गरेका थिए ।  

सोमबार महानगरको आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजिक कार्यक्रममा सभा सदस्य पराजुलीले आज बजेट सार्वजनिक गर्न महानगरले तोकेको समय नगरप्रमुख शाहले एकलौटी निणर्यमा भएको बताए । 

बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने समय निर्धारण गर्न बसेको बैठकमा नीति कार्यक्रम सार्वजनिक गर्ने समय एक घण्टा पछाडि सारौं भनेर तीन दलका प्रतिनिधिले प्रस्ताव गर्दा उक्त विषयलाई नगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत ‘‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो’’ भनि टिप्पणी गरेका थिए । एक साता अघि गरेको उक्त टिप्पणीलाई लिएर पराजुलीले सोमबार दुःख व्यक्त गरेका गरे । 

बजेट सार्वजनिक गर्ने समय निर्धारण गर्न पराजुलीसँगै कांग्रेसबाट नविन मानन्धर, नेकपा समाजवादीबाट ईश्वरमान डंगोल, बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकिय अधिकृत सहित छ जना बैठकमा सहभागी रहेको स्मरण गर्दै उनले भने, ‘अलिकति छलफलको लागि समय अपुग भयो त्यो बेला एक घण्टा जति समय सारौंन मेयर साब भनेर हामी तीनै जनाले प्रस्ताव गरेका हौं ।  केही दिन अगाडी नीति कार्यक्रम माथिको छलफलका लागि हामी ६ जनाले बैठक बसेर छलफल गर्यौं । मेयर साबले १० गते ११ बजे बजेट सार्वजनिक गरौं भनेर ठ्याक्कै प्रस्ताव राख्नुभयो । हामीले त्यसको विरोध गरेनौं । कहीं कतै केही पनि बोलेनौ ।’

उनले थप भने, ‘तर मेयर साबले केही समयपछि तीन जना नेताले १६० जना नेतालाई नियन्त्रणमा राख्न मिल्छ , उनिहरुको नैसर्गिक अधिकारलाई हनन् गर्न मिल्छ? भनेर जुन लेख्नुभएको छ मेयर साब यसका लागि दुःख व्यक्त गर्छु।’ 

उनले महानगरको विषयमा ६ जना नै बसेर बेला बखत छलफल गर्ने गरेको उल्लेख गर्दै शाहले भने जस्तो आफूहरुले एक घण्टा समय थप गर्न गरेको प्रस्ताव तानाशाही हो भन्दै प्रश्न गरे । 

‘महानगरपालिकामा अप्ठेरो पर्दा हामी सहजीकरण गर्नको लागि छलफलमा बस्ने गर्थ्यौं नि । के त्यो हामीले तानाशाही व्यवहार गरेको हो र? हो भने हामीले दुई वर्षसम्म गरेको यसलाई तानाशाही भन्दिनु पर्यो, होइन भने अस्ति हामीले त्यति अनुरोध गर्दा कसरी हामी तानाशाह भयौं ?’  पराजुलीले बालेनलाई प्रश्न गरे । उनले पञ्चायत र निरंकुश राजतन्त्रको विरुद्धमा लडेर आएको उल्लेख गर्दै आफूहरु तानाशाही नभएको स्पष्ट पारे । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update