काठमाडौँ । बजेट पेश गर्न बसेको नगरसभाको बैठकमा जनप्रतिनिधिबीच कुर्सी हानाहान भएपछि जीतपुर सिमरा उपमहानगरपालिकाको बजेट स्थगित भएको छ ।
नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको हो । बजेट पेस गर्ने दिन बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोधमा उत्रिएका थिए ।
विवाद बढ्दै गएपछि जनप्रतिनिधिबीच कुर्सी हानाहान भएको छ भने बैठककक्ष तनाबग्रस्त बनेको छ । भीड नियन्त्रण गर्न नगर प्रहरी नै परिचालन गर्नुपरेको छ ।
नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ जनप्रतिनिधिले उठेर बिरोध सुरु गरेका थिए ।
वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायत विरोधमा उत्रिएपछि स्थिति तनाबग्रस्त बनेको हो । तनाव वढ्दै गएपछि मेयरले बैठक स्थगित गरेका छन् ।