Odapalika - The Fourth Estate - चौथो अंग
बागमती गाउँपालिकामा रमिताः अध्यक्ष नीति पढ्ने, उपाध्यक्ष काटोपट्टी बाँधेर जुलुस लगाउने 

काठमाडौँ । जनप्रतिनिधिबीच विवाद भएपछि बजेट सार्वजनिक गर्न बसेको मकवानपुरको बागमती गाउँपालिका सभाको बैठक अन्योलमा परेको छ । 

गाउँपालिकाको नीति तथा कार्यक्रममा अध्यक्ष सर्केश घलानले एकलौटी गरेको भन्दै कांग्रेस र एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि बजेट अनिश्चत बनेको हो । 

उपाध्यक्षसहितका जनप्रतिनिधिको बहिष्कारका बीच अध्यक्ष घलानले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ भने बजेट भने अनिश्चित बनेको छ । 

प्रवक्तासमेत रहेका वडा नम्बर ३ का अध्यक्ष कमानसिंह पाख्रिनले उपाध्यक्षले योजना तर्जुमाको बैठकसमेत नबोलाएर दलीय आधारमा गुटवन्दी गरेको आरोप लगाएपनि बहिष्कार गर्ने जनप्रतिनिधिले भने अध्यक्षले मनोमानी गरेको आरोप लगाएका छन् । 

नीति तथा कार्यक्रम बाचन भइरहदा उपाध्यक्षको नेतृत्वमा जनप्रतिनिधिहरुले सभास्थल बाहिर नाराबाजी गरेका छन् । 

उपाध्यक्षसमेत फणिन्द्र तिमल्सिना, वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर डिमडुङ, वडा नम्बर ७ का अध्यक्ष उत्तरबहादुर भोलन, वडा नम्बर ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना, वडा नम्बर ९ का अध्यक्ष पूर्णराम घलान र कार्यपालिका सदस्य डम्बरबहादुर विकलगायतले गाउँसभा बहिष्कार गरेका छन् ।

टाउकोमा कालोपट्टी बाँधेर गाउँपालिका कार्यालय अगाडि नाराबाजी गर्दै गाउँसभा बहिष्कार गरेपछि बैठक अनिश्चित बनेको हो ।

अध्यक्ष नेकपा माओवादी निकट हुन् । उनले नीति तथा कार्यक्रम बनाउँदा एकलौटी गरेको अन्य दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले लगाएका छन् । 

उनीहरुले प्रत्येक वडामा सिलिङ बजेटको व्यवस्थापन गर्नुपर्ने, उपाध्यक्ष र वडाध्यक्षको हक अधिकारमा हस्तक्षेप गर्न नहुने, गाउँपालिकाले करार कर्मचारी नियुक्ति गर्दा प्रदेश र संघको बजेट प्रयोग गर्न नपाउने, यदि करार कर्मचारी नियुक्ति गरेमा आन्तरिक स्रोतबाट तलबभत्ता दिनेगरी नियुक्त गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरेका हुन् । 

तर अध्यक्ष घलानले भने गाउँसभामा बहुमत जुटेकाले जारी रहेको बताएका छन् । यो पालिकामा यसअघि पनि पटक पटक बजेटमा लफडा हुँदै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update