Odapalika - The Fourth Estate - चौथो अंग
बिराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ४९ करोड 

काठमाडौँ । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । 

सोमबार उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा पेश गरेको बजेटअनुसार ५९ करोड प्रशासनिक खर्च, ऋणको सावाँ र ब्याज भुक्तानीमा ५ करोड, खर्चतर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख बिनियोजन गरिएको छ । वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार रुपैयाँ बजेट छ ।

संघीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको अनुदानको भर परेको बजेटमा संघीय समानीकरण अनुदान ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार, राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार १२६ रुपैयाँ, अन्तःशुल्कबाट ५ करोड ८५ लाख ४१ हजार २ सय ७९ रुपैयाँ, वन रोयल्टीबाट ५ लाख ८२ हजार ५ सय ९५ रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारीसाधन करबाट ३ करोड ८७ लाख १ हजार र मनोरञ्जन तथा विज्ञापन करबाट १ करोड, आन्तरिक आय १ अर्ब १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात २५ करोड रुपैयाँ छ । 

बजेटमा ससर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख, समपूरक अनुदान १ करोड १० लाख, प्रदेश सरकार ससर्त अनुदानतर्फ ३ करोड ९० लाख ४३ हजार र प्रदेश सरकार समपूरक अनुदान २ करोड गरी कुल ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ अनुमान गरिएको छ । 

उपप्रमुख कार्कीले पेस गरेको बजेटमा बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मत सम्भारतर्फका लागि १० करोड तथा भारी सवारीसाधन खरिदका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ २० करोड ५७ लाख ९३ हजार, महिलालक्षित कार्यक्रमतर्फ ९९ लाख ५७ हजार, संघसंस्थातर्फ २ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update