Odapalika - The Fourth Estate - चौथो अंग
जनकपुर उपमहानगरको बजेट ल्याउने दिनः मेयर हाकिम खोज्दै सिंहदरबारमा, उपमेयर टिकाटालोमा 

काठमाडौँ । स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुपर्ने अन्तिम दिन असार १० गते जनकपुर उपमहानगरपालिका भने सुनसान छ ।

उपमहानगरपालिकामा आज मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत छैनन् । प्रमुख प्रशासकीय अधिकृत ‘वेपत्ता’ भएको भन्दै खोज्न निस्किएका मेयर मनोजकुमार साह अहिले काठमाडौँ पुगेका छन् । 

‘हाम्रो नगरपालिकामा बजेट ल्याउने विषयमा खासै विवाद छैन । बजेट ल्याउने, बजेट खर्च गर्ने लगायतका धेरै काम गर्नुपर्ने बेला यही हो । यो बेला हाकिम साव (प्रमुख प्रशासकीय अधिकृत) वेपत्ता हुनुभयो । तपाईंहरुको सम्पर्कमा हुनुहुन्छ भने लौन भेट गराइदिनु पर्यो,’ मेयर साह आइतबार अपरान्ह सामान्य प्रशासन मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव र उपसचिवसँग यस्तै भनेर हारगुहार गरिरहेका थिए ।

मेयर साहले प्रमुख प्रशासकीय अधिकृत हराएकोले खोज्नको लागि सामान्य प्रशासन मन्त्रालय आएको जानकारी दिए ।

‘प्रमुख प्रशासकीय अधिकृत बिरामी परे भनेर हिड्नु भएको, हाम्रो सम्पर्कमा हुनुहुन्न । खोज्नको लागि अहिले म सामान्य प्रशासन मन्त्रालयमा छु । प्रमुख प्रशासकीय अधिकृत खोज्नु पर्यो नि, उहाँ नै नभइ बजेट ल्याउन सकिदैन,’ मेयर साहले वडापालिकासँग भने ।

उपमेयर किशोरी साह भने बजेट ल्याउनु पर्ने दिन निजी कामको लागि चपुर पुगेका छन् । उनी आफ्ना भतिजको छोराको टिकाटालोका लागि उनी चपुर गएका हुन् ।

‘हाकिम साव (प्रमुख प्रशासकीय अधिकृत) विरामी परेर २ दिनअघि काठमाडौँ जानुभएको रे । हाकिम सावलाई खोज्न मेयरसाव पनि कामठाडौँ जानुभएको छ । त्यही भएर नगरसभा भएन । म त निजी कामको लागि अहिले चपुरबाट घर फर्कदैछु,’ उपमेयर साहले वडापालिकासँग भने ।

किन वेपत्ता भए हाकिम साब ?

जनकपुर उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत वेपत्ता हुने चालु आर्थिक वर्षको सबैभन्दा प्रमुख समस्या बनेको छ । चालु आर्थिक वर्षमा मात्रै ४ जना प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिसकेको उपमहानगरले बजेट ल्याउने समयमा भने प्रमुख प्रशासकीय अधिकृत नभेट्ने अनौठौ समस्यामा परेको छ ।

उपमहानगरले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको सुरुमा रत्नेश शशि प्रमुख प्रशासकीय अधिकृत थिए । त्यसपछि सुमन कार्की प्रमुख प्रशासकीय अधिकृत भएर आए । कार्की करिब ६ महिना बसे । त्यसपछि टेकराज पन्थी प्रमुख प्रशासकीय अधिकृत भएर आए । उनी करिब २० दिन मात्रै प्रमुख प्रशासकीय अधिकृत भएर बसेका थिए । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत भएर आएका सत्यनारायण साह बजेट ल्याउने समयमा ‘वेपत्ता’ छन् । उनी आएको पनि करिब १ साता मात्रै भएको छ ।

उपमहानगरपालिका स्रोतले दिएको जानकारी अनुसार भुक्तानी चाप बढी देखेपछि प्रमुख प्रशासकीय अधिकृत साह तर्किन चाहेका छन् । पहिला भएको कामको लागि भनेर आएका भुक्तानीका विलको तत्काल भुक्तानी गर्नुपर्ने तर, आफूलाई सो विषयमा कम जानकारी भएपछि प्रमुख प्रशासकीय अधिकृत साह कार्यवाहक समेत नतोकी काठमाडौँ फर्किएका हुन् ।

के भन्छन् प्रमुख प्रशासकीय अधिकृत ?

प्रमुख प्रशासकीय अधिकृत साह नगरसभा स्थगित भएपछि आफू उपचारको लागि काठमाडौँ आएको बताउँछन् । 

‘शुक्रबारको लागि नगरसभा थियो । त्यसमा संख्या नपुगेपछि अर्काे सुचना जारी नभएसम्मको लागि भनेर सभा स्थगित गरिएको थियो । सभा स्थगित भएपछि मेरो खासै काम थिएन । मेयर सावलाई पनि भनेर म काठमाडौँ आएको हूँ,’ प्रमुख प्रशासकीय अधिकृत साहले वडापालिकासँग भने ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update