Odapalika - The Fourth Estate - चौथो अंग
वीरेन्द्रनगरको बजेट साढे ३ अर्ब, वडा गौरवका आयोजनाका लागि ८ करोड 

काठमाडौँ । सुर्खेत सदरमुकामस्थित वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ५० करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँको बजेट ल्याएको छ । 

उपप्रमुख नीलकण्ठ खनालले नगरसभामा पेश गरेको बजेटअनुसार चालुतर्फ १ अर्ब ७५ करोड ७३ लाख ६८ हजार ९९९(४८ दशमलव ९३ प्रतिशत) र पुँजीगततर्फ एक अर्ब ८३ करोड ४५ लाख (५१ दशमलव ०७ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।  

नगरपालिकाले कृषि विकासमा ५६ लाख ५० हजार, पशुपन्छी विकासमा ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हितमा  ६१ लाख ५० हजार र जनस्वास्थ्य प्रवद्र्धन तथा नगर अस्पतालका लागि ४ करोड ५ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गलगायत अन्य लक्षित वर्गमा १ करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदमा ७ करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापनमा २ करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासनमा  २ करोड १७ लाख ४५ हजार र नगरस्तरीय विविध पूर्वाधार विकासमा २५ करोड ८५ लाख ५० हजार रुपैयाँ  विनियोजन गरिएको छ । 

त्यस्तै तलबभत्ता तथा कार्यालय सञ्चालनका लागि ३१ करोड ५० लाख, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवद्र्धन कार्यक्रम म्याचिङ फण्ड (समपूरक कोष) (भेरी पम्पिङ आयोजना) सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि १० करोड, वडास्तरीय योजना तथा कार्यक्रमका लागि  १७ करोड २० लाख, मेयरसँग महिला किसान कार्यक्रमकाअन्तर्गत १ करोड ६० लाख र वडास्तरीय नगर गौरव आयोजनाका लागि ८ करोड बजेट विनियोजन गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ,  खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाको मर्मतसम्भार र विस्तार तथा खानेपानी प्रणाली सुधारका लागि वडास्तरीय कार्यक्रममार्फत यथोचित बजेट विनियोजन गरिएको छ ।

प्रदेशको राजधानीको अस्तित्वसँग केन्द्रित भएर सहरी सौन्दर्यताका पूर्वाधारलाई विशेष जोड दिँदै घण्टाघर पार्कलगायत सुर्खेत उपत्यका नगरविकास समिति तथा नगरपालिकाबाट खाली गराइएका सार्वजनिक जग्गामा पार्क तथा पार्किङस्थल निर्माण गर्न ७ करोड ५० लाख र मङ्गलगढीमा आकाशे पुलका निर्माणका लागि १ करोडसहित नगरको विविध भौतिक पूर्वाधार विकासमा २५ करोड ८५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर–स्वच्छ, स्वस्थ र समुन्नत वीरेन्द्रनगर’ भन्ने सोचका साथ वीरेन्द्रनगरलाई आर्थिकरुपले सम्पन्न, भौतिकरुपले योजनाबद्ध सहरी सुविधायुक्त, लैङ्गिकरुपमा महिलामैत्री, सामाजिकरुपले समावेशी र सहभागितात्मक, वातावरणीयरुपले स्वच्छ, सफा तथा व्यवस्थापकीयरुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरकारुपमा निर्माण गर्दै कर्णाली प्रदेशको व्यवस्थित राजधानीकारुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update