Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाका बजेटः बसाइँ आउनेलाई दुहुनो गाई, तेस्रो सन्तान जन्माउनेलाई बैँक खातामा पैसा !

काठमाडाैँ । देशभरका स्थानीय तहहरुले नीति तथा कार्यक्रमसँगै बजेट ल्याएका छन् । अधिकांश पालिकाले बजेट ल्याएर पारित समेत गरिसकेका छन् भने केहीले विवादका कारण बजेट ल्याउन सकेका छैनन् । 

बजेट ल्याउने पालिकाहरुले कृषि, शिक्षा, पर्यटन र पूर्वाधारलार्ई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । कतिपय पालिकाले सामाजिक विकाश र दीर्घकालीन लक्ष्य अनुसारका नया नयाँ कार्यक्रमसमेत अघि सारेका छन् । 

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने एउटा गज्जवको कार्यक्रम अघि सारेको छ । पालिकाबाट बसाई सर्नेको लर्को थामिनसक्नु भएपछि उसले नीति बनायो– बसाइँ सरी जानेलाई बाइबाइ, आउनेलाई दुहुनो गाई । 

यो नाराका साथ पालिकाबाट बसाइँसराइ रोक्ने पहल थालेको पालिकाले बसाइँ आउनेलाई दुहुनो गाई कार्यक्रम संचालन गर्दै यसका लागि बजेटसमेत बिनियोजन गरेको छ । 

अब छथर जोरपाटीमा बसाइँ सरेर आउनेले पालिकाले तोकेको निश्चित सर्तका आधारमा दुहुनो गाई उपहार पाउनेछन् । 

उता, दोलखाको भीमेश्वर नगरपालिकाले जनसंख्या कम हुँदै गएपछि नीतिमार्फत जनसंख्या बृद्धिको लक्ष्य लियो ।  र, बजेटमा तेस्रो सन्तान जन्माउनेका लागि विभिन्न आर्थिक प्याकेज नै घोषणा गरिदिएको छ । 

पालिकाले बजेटमा तेस्रो सन्तान जन्माउने दम्पत्तिको नाबालकको बैँक खाता खोलेर खातामा १० हजार रुपैयाँ प्रोत्साहन रकम जम्मा गर्ने घोषणा गरेको छ । यसका लागि पालिकाले निश्चित रकम नै छुट्याएको जनाएको छ । 

यसअघि पाल्पाको रिब्दीकोट गाउँपालिकाले पनि तेस्रो सन्तान जन्माउने दम्पत्तिलाई प्रोत्साहन गर्ने, जन्मिएका बच्चाको बैँक खाता खोलेर रकम जम्मा गरिदिने लगायतका कार्यक्रम गर्दै आएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update