Odapalika - The Fourth Estate - चौथो अंग
मनसुन सुरु भएलगत्तै देशभर बाढी र पहिरोको जोखिम, ६ जनाले गुमाए ज्यान 

काठमाडाैँ । देशका ७ वटै प्रदेशमा मनसुन भित्रिएसँगै वाढी  र पहिलोमा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको कहर सुरु भएको छ । 

चिसंखुगढीमा गयो एक जनाको ज्यान 

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको छ ।

स्थानीय जनप्रतिनिधिका अनुसार पहिरोमा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते छन् । 

प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । पहिरोले एकतले घर र गोठ पुरिएको छ ।  

क्व्होंलासोथर गाउँपालिकामा ४ बेपत्ता १ जनाको शव भेटियो 

लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका ४ मध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । 

वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीयीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले ३ घर पुरिँदा ४ जना बेपत्ता भएका थिए भने एकजना घाइते  छन् । घटनास्थलमा प्रहरी पुगेपछि अहिले बेपत्ताको खोजी र उद्धारकार्य जारी रहेको घलेले जानकारी दिए ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । 

दोदी गाउँपालिकामा १ जनाको मृत्यु 

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ९ मा गत रातिको अविरल वर्षपछि खसेको पहिरोले घर भत्काउँदा १ जनाको ज्यान गएको छ । 

र्मत्यु हुनेमा स्थानीय १६ वर्षीय विकल सुनार भएको प्रहरीले जनाएको छ ।  पहिरोमा परी १८ वर्षीय मिलन सुनार घाइते भएका छन् । विकल र मिलन दाजुभाइ हुन् । 

पहिरोका कारण लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध छ । बेँसीसहर नगरपालिका–६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।

कास्कीमा २ जनाको मृत्यु 

पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

पहिरोमा पुरिएकी ७० वर्षीया लालमाया बन्जाराको भने उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।

राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी छन् । पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ । 

सुन्दरहरैँचामा वाढीले ४ जना बगायो, १ जनाको मृत्यु 

मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । 

बुधवार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ । २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए ।

विराटनगरवासीका घरमा बाढी पस्यो 

निरन्तरको वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया खोलाको बाढी तटीय बस्तीमा पस्न थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए ।

खोलाको बाढी विराटनगर महानगरपालिका वडा नम्बर ६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५०० घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । 

वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । वडा अध्यक्ष हिरालाल कामतका अनुसार खोला किनारका ६० बढी घर डुबानमा परेका छन् ।

पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update