Odapalika - The Fourth Estate - चौथो अंग
गठबन्धन, ढुंगा–गिटीदेखि भान्जा–भतिजीसम्मको विवादले सिद्धलेकको बजेट अनिश्चित

काठमाडौँ । आन्तरिक विवादमा फसेको धादिङको सिद्धलेक गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट अन्योलमा परेको छ । 

१० असारभित्र स्थानीय तहले वजेट ल्याउनुपर्ने व्यवस्था भए पनि आन्तरिक विवादका कारण सिद्धलेक गाउँपालिकामा गाउँसभा अघि बस्नुपर्ने कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन । 

गत बर्ष गाउँसभामा पेश नगरिएका योजनाहरु अध्यक्षले आफ्नो खुसी रातो कितावमा प्रकाशित गरेको, गाउँसभाको लागि भएको हस्ताक्षर दुरुपयोग गरेर विभिन्न ऐन तथा नियमावली बनाएको, कार्यपालिका बैठकको माइन्युट अध्यक्षको नियन्त्रणमा राखी छलफलमै नआएका निर्णयहरु थपेर विवादित कार्य गरेको लगायतकाआरोप लगाई उपाध्यक्षसहित बहुमत सदस्यले कार्यपालिका बैठक निरन्तर बहिष्कार गर्दै आइरहेका छन् ।

गत बर्ष नीति तथा कार्यक्रममा अध्यक्ष परशुराम खतिवडाले एकलौटी गरेको भन्दै गाउँसभाका बहुमत सदस्यले अध्यक्षले प्रस्तुत गरिरहेको नीति तथा कार्यक्रम रोक्न माग गर्दा उल्टै अध्यक्ष माथि दुव्र्यवहार गरेको आरोप लगाएर जर्वजस्ती गरेको गाउँसभा सदस्य रंग थपलिया बताउँछन् । 

अध्यक्षको एकलौटी गरेर जाने स्वभावका कारण यो पटक उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरु विरोधमा भएका कारण बजेट आउन नसकेको उनको भनाइ छ । 

गाउँसभामा अध्यक्षको रवैया प्रति प्रश्न उठाउँदा थपलियालाई अध्यक्ष खतिवडाले न्यायिक समितिको सदस्यबाट हटाएका थिए ।प्रत्येक वडामा सिलिङ वजेटको व्यवस्था गर्नुपर्ने, उपाध्यक्ष र वडाअध्यक्षको हक अधिकारमा हस्तक्षेप गर्न नहुने, कर्मचारी नियुक्ति, वर्खास्त गर्दा कार्यपालिकामा छलफल गरिनुपर्ने, नीति तथा कार्यक्रम वनाउँदा कार्यपालिकामा छलफल गरी ल्याउनु पर्ने कार्यपालिकाका बहुमत सदस्यहरुको माग छ । 

गाउँ कार्यपालिकाको जेठ ३१ गते बसेको बैठकले गाउँसभा गर्न अनुमति दिएको अध्यक्षको दाबी गरेपनि कार्यपालिकाका सदस्यहरु सो बैठकमा गणपुरक संख्या नपुगेको दाबी गर्छन् । 

गाउँपालिकाले वागमती प्रदेशबाट जारी भएको गाउँँ÷नगर÷जिल्ला सभा संचालन कार्यविधि ( ऐन) परिच्छेद २ दफा ३ बमोजिम गाउँपालिकाको पन्ध्रौं सभा, गाउँ कार्यपालिकाको मिति २०८१ जेठ ३१ गते आह्वान भएकोमा सोही ऐनको दफा ५ वमोजिम गणपुरक संख्या नपुगेकोले दफा ५(२) बमोजिम असार १० गतेलाई गाउँसभा बोलाईएको सूचना गाउँपालिकाले प्रकाशित गरेको थियो । 

उपाध्यक्ष सहित बहुमत कार्यपालिका सदस्य बैठकमा गणपूरक संख्या नै नपुगेको कारण जेठ ३१ गतेको निर्णय नै विवादास्पद भएकोले सोही दिनको बैठकलाई आधार मानेर वोलाइएको गाउँसभामा उपस्थित नहुने अडानमा छन् । 

गत स्थानीय निर्वाचनमा अध्यक्ष खतिवडा नेपाली काँग्रेसबाट र उपाध्यक्ष सविता अर्याल नेकपा एकीकृत समाजवादीबाट गठवन्धनको साझा उम्मेदवारका रुपमा निर्वाचित भएका थिए । 

७ वटा वडा रहेको सिद्धलेकमा तत्कालीन गठवन्धनबाट अध्यक्ष, उपाध्यक्षसहित वडा नम्बर २ र ७ मा नेपाली काँग्रेस, ५ मा नेकपा मओवादी केन्द्रले वडाअध्यक्ष जितेको थियो । वडा नम्बर ३, ४ र ६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । 

गठवन्धनबाट विजयी भएका अध्यक्ष र उपाध्यक्षबीच निर्वाचन परिणाम आएको दुई सातापछि आन्तरिक कलह शुरु भएको थियो । कार्यपालिकाको निर्वाचनमा उपाध्यक्ष अर्यालले गठवन्धनलाई छाडेर नेकपा एमालेसँग मिलेर कार्यपालिकामा बहुमत पु¥याएपछि अध्यक्ष र उपाध्यक्षबीच दुरी बढ्दै गएको हो । 

गाउँपालिका भित्र अनियमितता बढेको भन्दै सिद्धलेकमा कृयाशिल ३ वटा राजनीतिक दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २०८१ जेठ २२ गते संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएपछि अध्यक्ष खतिवडा आक्रोशित छन् । 

दलहरुले उजुरी दिएकै दिन कार्यपालिकाका उपाध्यक्षसहित १२ जना सदस्यले हस्ताक्षर गरी पािलकामा भइरहेको अनियमिमता छानविन गर्न जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । उजुरीका विषयमा समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले आन्तरिक छानविन अघि बढाइसकेको बताएका छन् । 

पालिकामा भएको विवादको मुल बिषयमा गाउँपालिकाले सम्वन्धित पक्षलाई पत्र पठाएर हरहिसाव सार्वजनिक गर्न आव्हान गरिसकेको छ । असार ९ गते चलानी नं २७३७ को पत्रबाट पिपलटार आदमटार सडक स्तरोन्नति समिति सिद्धलेक वडा नम्बर ७ का अध्यक्षलाई पत्राचार गर्दै सडक खन्दा समितिले बालुवा निकासी गरेर पालिकालाई बुभाउनु पर्ने १६५१ टिपको प्रति टिप १०५० रुपैयाँका दरले १७ लाख ३३ हजार ५ सय ५० रुपैयाँ तत्काल गाउँपालिकामा दाखिला गर्न भनेको छ । 

यसैगरी असार ९ गते चलानी नं २७२६ को पत्रबाट सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का सविन मगरको नाममा पत्र काटेर वालुवा ढुंगा गिटी निकासी कर संकलन गरी पालिकामा बुझाउनु पर्ने २ लाख ७४ हजार ८५ रुपैयाँ दाखिला नभई वेरुजु देखिएकाले सो हिसाव किताव मिलान गर्न पत्रमार्फत निर्देशन दिएको छ । 

असार ९ गते चलानी नम्बर २७३६ नम्बरको पत्रमार्फत सियोन कन्ट्रक्शन सिन्धुपाल्चोकको नाममा पत्र काटेर आ.व.२०८०÷२०८१ को ढुंगा गिटी वालुवाको शुल्क उठाउन प्रयोग भएको गाउँपालिकाबाट प्रमाणित भएको रसिद प्याड लिएर ७ दिन भित्रमा कार्यालयमा उपस्थित हुन भनिएको छ । 

पालिकामा विवाद बढ्दै जानुमा कर्मचारी नियुक्ति पनि मुख्य रुपमा रहेको कार्यपालिका सदस्यहरु बताउँछन् । चालु आर्थिक वर्षको शुरुमा विभिन्न सेवामा कार्यरत ४८ जना कर्मचारीलाई जर्वजस्त हटाएर ती पदमा अध्यक्षले आफु निकटका व्यक्तिलाई नियुक्ति दिंदै आएको उपाध्यक्ष पक्षधर जनप्रतिनिधिको आरोप छ ।

प्राविधिक शाखाको प्रमुख इन्जिनियरमा खतिवडाले आफ्नै भान्जा र सव इन्जिनियरमा भतिजीलाई करारमा नियुक्ति दिएको उनीहरुको दाबी छ । 

१ महिना अघि पालिकाले १२ जना कार्यालय सहयोगी नियुक्ति गर्दासमेत मापदण्ड नबनाइ अध्यष निकटका व्यक्तिलाई नियुक्ति गरेकोलगायतका आरोप असन्तुष्ट समूहको छ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update