Odapalika - The Fourth Estate - चौथो अंग
खाँडादेवीका किसानलाई मिनी टिलर र डिक्स मिल 

काठमाडौँ । खाँडादेवी गाउँपालिका वडा नम्बर ४ र ५ का किसानले अनुदानमा मिनी टिलर, डिक्स मिल तथा ग्रास कटर मेसिन पाएका छन् ।

हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र गाउँ विकास केन्द्रको सहजीकरणमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम परियोजनाले ५० प्रतिशत अनुदानमा ती सामाग्री वितरण गरेको हो । गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले किसानलाई सामाग्री हस्तान्तरण गरे । 

ती वडाका ४७ जना किसानले ४७ वटा खेत बारी जोत्ने मिनी टिलर पाएका छन् भने ५१ जनाले पिसानी डिक्स मिल लिएका छन् । त्यस्तै तीन जनाले ग्रास कटर लिएका छन् । किसानको मागका आधारमा ती सामाग्री उपलब्ध गराइएको परियोजना प्रमुख माधव ढकालले जानकारी दिए । 

लम्पी स्किन रोगका कारण गोरु मरेर खेती लगाउन समस्या भएका किसानलाई सहयोग पुगोस् भनेर मिनी टिलर वितरण गरिएको खाँडादेवी गाउँपालिका–५ पकरबासका वडाध्यक्ष मनोज पौडेलले जानकारी दिए । त्यस्तै किसानलाई पशु दाना तथा अन्न पिस्न सहजताको लागि मिल वितरण गरिएको उनले बताए । कृषि यन्त्र वितरणले ती वडामा कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update