Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं महानगरको सहरी योजना आयोग उपाध्यक्षमा डा. राजभण्डारी नियुक्त 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमन नर्सिङ् राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

आज बालाजु बाइसधारामा बसेको नगर कार्यपालिकाको २१औँ बैठकले उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले व्यक्तिगत कारण जनाउँदै पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त थियो । काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम रिक्त उपाध्यक्ष पदमा राजभण्डारीलाई नियुक्त गरिएको हो । 

डा. राजभण्डारीले इटालीको वासिलीकाटा मटेरा विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । 

नेपाल इन्जिनियरिङ् कलेजमा सहायक प्राध्यापकका रूपमा काम गरेका राजभण्डारीसँग बिमानस्थल, ठूला भवन, पुललगायत ठूला परियोजनाहरुको गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन निर्माण, स्ट्रक्चरल डिजाइन, सामाजिक तथा जलविज्ञान अध्ययन, डिटेल इन्जिनियरिङ सर्भे, आर्किटक्टलगायतका प्राविधिक क्षेत्रमा काम गरेको अनुभव छ ।  

उनले गौतम बुद्ध विमानस्थल निर्माणमा परियोजना प्रबन्धक भएर डिजाइन, विश्लेषण, पुनरावलोकन र अनुगमन निरीक्षकको काम गरेका छन् । 

आयोगमा आर्थिक मामिला, सामाजिक, सांस्कृतिक, पर्यटन, सम्पदा तथा पुरातत्व, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा प्रविधि, सार्वजनिक प्रशासन, सुशासन तथा व्यवस्थापन, मानव संशाधन जस्ता क्षेत्रको प्रतिनिधित्व हुने गरी उपाध्यक्ष र सदस्यहरु नियुक्त गर्न सकिने व्यवस्था छ । 

सहरी बिकास तथा सहरी योजना, कानून, स्वास्थ्य तथा वातावरण, शिक्षा तथा सहकारी, अन्तरराष्ट्रिय मामिलाजस्ता क्षेत्रलाई आधार मानेर त्यस क्षेत्रमा योगदान दिन सक्ने विज्ञलाई नियुक्त गर्न सकिन्छ । 

सन्तुलित बिकासबाट दिगो सहरी समृद्धि प्राप्त गर्न नीति तथा योजना निर्माण र सहजीकरणका लागि सहरी योजना आयोगले काम गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update