Odapalika - The Fourth Estate - चौथो अंग
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा 

काठमाडौँ । १० असारमा देशभरका अधिकांश स्थानीय तहले तामझामका साथ आर्थिक वर्ष २०८१/०८२ का लागि सभामा बजेट पेश गरे । तर ४७ वटा स्थानीय तह भने आन्तरिक विवादका कारण बजेट ल्याउन असमर्थ रहे । 

हो त्यही ४७ भित्र पर्छ धरान उपमहानगरपालिका । स्वतन्त्र उम्मेदवारी दिएर अधिक मतका साथ धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्कराज राई (हर्क साम्पाङ) बजेट ल्यानुपर्ने कानुनी सीमा सकिएको ३ दिनसम्म पनि बजेटबारे चुपचाप छन् । 

यतिसम्मकी सामाजिक सञ्जालमा सक्रिय हुने उनी विरुवा रोप्ने, श्रम गर्ने, एयरपोर्ट बनाउने विषयलाई फेसबुकमा उचालिरहन्छन् । 

तर बजेट ल्याउने विषयमा न उनको एउटा धारणा आएको छ न उपमहानगरपालिकाको वेबसाइटमा बजेट कहिले आउँछ, नगरसभा कहिले बस्छ? लगायतका कुनै जानकारी नै छ । 

विकास निर्माणका सवालमा खरो उत्रने मेयर साम्पाङले नेतृत्व गरेको नगर बजेट ल्याउन किन असमर्थ भइरहेको छ ? यस विषयमा कुरा गर्न मेयरसँग पटक पटक टेलिफोन सम्पर्क गर्दा पनि उनले कुनै रेस्पोन्स गरेनन् । 

बजेट बाचन गर्नुपर्ने अख्तियारी पाएका उपमेयर अइन्द्रविक्रम वेघाले भने लगातार २ दिनको प्रयासपछि फोन उठाए । र भने, ‘बजेट ल्याउनुपर्ने जिम्मेवार व्यक्ति गैरजिम्मेवार बनेपछि बजेट ल्याउनै सकिएन हजुर ?’

‘बजेट बचन गर्ने दायित्व नै तपाईको छ अब अरु को जिम्मेवार छन् उपमेयरसाव ?’ वडापालिकाको यो प्रश्नमा उनले बजेट ल्याउन नसक्नुको सम्पूर्ण दोष मेयर साम्पाङमाथि खन्याए । 

उनका अनुसार बजेट ल्याउनु अघि बजेटको सीमा निर्धारण समितिले बजेटको सिलिङ तय गर्नुपर्छ । र यो समितिमा मेयरको संयोजकत्वमा उपमेयर र ४ जना वडा अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत हुन्छन् । 

उपमेयर बेघाका अनुसार मेयरले एकपटक यो बैठक बोलाए पनि । वेघाका अनुसार उनले प्रमुख प्रशासकीय अधिकृतलाई निलम्बन गरेर बैठक डाके । यो बैठकमा उपप्रमुख र समितिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत निलम्बनको विषयमा जिज्ञसा राखेपछि बैठक निष्कर्षमा पुग्न सकेन । 

बैठक बस्न नसकेपछि मेयरले बजेट तर्जुमा समितिको बैठक डाकेर नीति तथा कार्यक्रम ल्याउने र बजेट ल्याउने सुरसार गरेपछि उपमेयरसहितका जनप्रतिनिधिले यसमा अत्तो थापिदिए । त्यसपछि मेयर बजेट ल्याउने विषयमा चुपचाप छन् भने उपमेयर लगायतका जनप्रतिनिधि भने बजेटका विषयमा निरन्तर छलफलमा जुटिरहेको दाबी गर्छन् । 

श्रम गर्न, फलफुलका विरुवा रोप्न हिडिरहेका मेयरसँग मिलेर बाँकी जनप्रतिनिधिले कहिले बजेट ल्याउलान त ? भन्ने वडापालिकाको प्रश्नमा उपमेयर बेघाले यत्तिमात्र भने, ‘सबै मेयरको हातमा छ उनै जानून ।’
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update