Odapalika - The Fourth Estate - चौथो अंग
आयुर्वेदका हाकिम किर्ते गरी प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुगेपछि...

काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका एकजना कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्ने रहर जागेपछि नगरपालिकाको बजेट प्रभावित भएको छ ।

सिम्रैनगढ नगरपालिकामा हाल जयनारायण राय यादव निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । उनले गत ५ असारमा नीति तथा कार्यक्रम ल्याउने प्रयोजनका लागि कार्यपालिकाको बैठकसमेत डाके । 

तर सोही नगरपालिकाको आयुर्वेद शाखामा कार्यरत जयनारायण भन्दा सिनियर कर्मचारी हरिओम प्रसाद जयसवाललाई कार्यकारी अधिकृत बन्ने रहर जागेपछि मेयर किशोरी शाह कलवारको हस्ताक्षर दुरुपयोग गरेर सोही पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर पुगेका छन् । 

प्रशासकीय अधिकृत हुँदाहुँदै अर्का कर्मचारीले हाकिम भएको पत्र बोकेर पुगेपछि पालिकामा आन्तरिक विवाद मात्र भएको छैन बजेट समेत अन्योलमा परेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पत्र लिएर पालिकामा हाजिर भएपछि मेयर कलवारले आफुलाई थाहै नदिइ कसरी जिम्मेवारी दिइयो भनेर मन्त्रालयमा सोधखोज गरे । 

मेयर कलवारका अनुसार संघीय मामिलाको जवाफपछि भनेउनी झसंग भएछन् । मन्त्रालयले मेयरको हस्ताक्षरसहितको सहमति पत्र ल्याएका कारण जिम्मेवारी दिएर पठाएको जवाफ दियो । 

त्यसपछि मेयर जयसवालले कसरी पत्र पाए भनेर खोजीमा लागे । 

मेयरका अनुसार भएको के रहेछ भने जयसवालले आफुभन्दा जुनियरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएकोमा असनतुष्टि जनाइरहेका थिए । उनले मेयरसँग पालिकाबाट सरुवा हुन चाहेको बताए । 

मेयरले गत २४ बैशाखमा चलानी नम्बर १२०० राखेर जयसवाललाई सरुवाको सहमति दिएको पत्र तयार पारे । मेयरका अनुसार सो पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा दिइएको  थियो । 

तर जयसवालले सो पत्रलाई प्रविधिमार्फत सच्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा मेयरले अधिकृत तोक्न सिफारिस गरेको पत्र तयार पारे । मन्त्रालयले ९ असारमा चलानी नम्बर २४४७ राखेर जयसवाललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको पत्र तयार पारिदियो । 

‘र उनी सोही नक्कली पत्र  बोकेर संघीय मामिला मन्त्रालय पुगेर जिम्मेवारी पाएको पत्र बोकेर आएछन्,’ मेयरले वडापालिकासँग भने, ‘यसरी सरासर किर्ते गरेपछि उनलाई हाजिर गराउने कुरो भएन, अहिले पालिकामा लफडा गरेर बसेका छन्, बजेटपनि प्रभावित भयो ।’

मेयरले नक्कली पत्र तयार पारेर हस्ताक्षर दुरुपयोग गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन सरुवाको पत्र प्रयोग गरिएको भन्दै सो पत्र नै बदर पनि गरेका छन् । सरुवाका लागि २४ बैशाखमा दिएको पत्र बदर गरेको निर्णय गर्दै  सोको जानकारी दिन सार्वजनिक गरिएको पत्र भने हालका निमित्त प्रमुख प्रशासकीय अधिकृत जय नारायण यादवको हस्ताक्षरमा सार्वजनिक भएको छ । 

हेर्नुहोस् मेयरले बदर गरेको सरुवा सहमति पत्र

IMG-20240526-WA0000-1719483653.jpgपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै सोही पालिकामा कार्यरत अर्का कर्मचारीले हाकिम बनेको पत्र बोकेर पालिका छिरेपछि मेयर यादवले किर्ते अभियोगमा कारवाही चलाउन विभिन्न निकायमा पत्राचार समेत गरिसकेका छन् । 

मेयर कलवार भन्छन्, ‘मेरो हस्ताक्षर दुरुपयोग गरेर नक्कली पत्रमार्फत जिममेवारी लिएर आएका जयसवाललाई किर्तेमा कारवाही गर्न, संघीय मामिला, अख्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रहरी कार्यालयलगायत सरोकारवाला सबै ठाउँमा पत्र पठाइसकेको छु हेरौं कस्तो कारवाही हुन्छ ?’

संघीय मामिलाका कर्मचारीहरु भने सम्वन्धित पालिकाको सहमति पत्रका आधारमा जिम्मेवारी तोकेर पठाइएको बताएका छन् । मेयरले नै सहमति नदिएको र किर्ते गरेको बताइसकेको अवस्थामा अब छानविन गरेर कारवाहीको प्रक्रिया अघि वढाउने उनीहरु बताउँछन् । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update