Odapalika - The Fourth Estate - चौथो अंग
लो-घेकर दामोदरकुण्डका सबै घरमा विद्युतीय चुल्हो 

काठमाडौँ । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले पालिकाभित्रका सबै घरपरिवारलाई विद्युतीय चुल्हो वितरण गरेको छ । 

दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले चुल्हो वितरण गरेका हुन् । 

लो-घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले पाँचवटै वडाका ४५४ घरपरिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुल्हो वितरण गरिएको बताए । 

'उजाड मरुभूमि भएको उपल्लो मुस्ताङको भूगोलमा खाना पकाउन र न्यानोका लागि दाउरा बाल्दा रुख बिरुवा मासिएर वातावरणमा असर पुगेको छ ।दाउराको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाएर वातावरणका लागि प्रयास गरेका हाैँ,' उनले भने  ।

विद्युतीय चुल्होको प्रयोगबाट कार्बन उत्र्सजन न्यूनीकरण र खाना पकाउने ग्यासको आयात तथा खपत घटाउन सकिने अध्यक्ष विष्टले बताए ।

विद्युतीय चुल्हो खरिदका लागि चालु आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ९ लाख र गाउँपालिकाले ८ लाख विनियोजन गरेका थिए । 

जनप्रतिनिधि र एक्यापका प्रतिनिधिले सबै वडामा पुगेर चुल्हो वितरण गरेका हुन् । पालिकाले चुल्हो दिएपछि गुइँठा, दाउरा खोज्नुपर्ने र महँगो रकम खर्चेर ग्यासको सिलिण्डर किन्नुपर्ने समस्या हटेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update